सुर्खेतको सिस्नेरी बस्तीमा आगलागी, नौ घर जले

सुर्खेतको सिस्नेरी बस्तीमा आगलागी, नौ घर जले

सुर्खेत : सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागी हुँदा नौ घर नष्ट भएका छन्।

बराहताल गाउँपालिका–९ स्थित सिस्नेरी बस्तीमा भएको आगलागीबाट नौ घर पूर्णरूपमा जलेको वडाअध्यक्ष युवराज कार्कीले जानकारी दिए।

‘आगो नियन्त्रण गर्न प्रहरी र स्थानीय तत्काल खटिएका थिए। तर, घरहरू नजिकै भएकाले तत्काल आगलागी नियन्त्रण गर्न सकिएन,’ उनले भने। 

दिउँसो ४ बजे सुरु भएको आगलागी करिब एक–डेढ घण्टापछि नियन्त्रणमा आएको वडाअध्यक्ष कार्कीले बताए। हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको वडाअध्यक्ष कार्कीको भनाइ छ। 

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीले आगलागीबाट भएको क्षतिको विवरण आउन समय लाग्ने बताए। उनका अनुसार आगलागी नियन्त्रणमा रानीघाट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा प्रहरी खटिएका थिए। 

सिस्नेरी गाउँमा १८ घरधुरी छन्।
 

२६ चैत, २०७७, १९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।