गगनलाई महेशको जवाफ : बोकाको शैलीले दाइँ गरिँदैन, दाइँ गर्न गोरुकै शैली चाहिन्छ

गगनलाई महेशको जवाफ : बोकाको शैलीले दाइँ गरिँदैन, दाइँ गर्न गोरुकै शैली चाहिन्छ

काठमाडौँ : संसद् बैठकमा नेपाली काँग्रेसका सांसद गगन थापाले तीन वर्षमा प्रधानमन्त्री केपी ओलीले के–के काम गरे त्यसबारे बहस गर्न चुनौती दिए।

उनले भने ‘नेपालको इतिहासमा सबैभन्दा अवसर पाउनुभएको अवस्थामा काम कति भयो, कसरी भयो भन्ने कुरामा बहस गर्न तपाईँलाई यो संसद्‌मा एउटा सांसद निम्तो दिन चाहन्छ। चुनौती दिन चाहन्छ। संसद्लाई छलेर भागेर होइन। यहाँभित्र आएर छलफल गरौँ।’

उनले अगाडि भने‘ल आउनुस्, तपाईँको एउटा एउटा मन्त्रालयमा बहस गरौँ। कहाँ तीन वर्षमा चमत्कार भएको छ? पानीमा बहस गरौँ। सडकमा बहस गरौँ। पुलमा बहस गरौँ। राष्ट्रिय आयोजनाको एउटा(एउटा कुरामा बहस गरौँ। तथ्य र तथ्याङ्कमा टेकेर बहस गरौँ।’

थापाको चुनौतीपछि संसद्मा नेकपा एमाले ओली निकटका सांसद महेश बस्नेतले तथ्यगत जवाफको साटो ओठे जवाफ फर्काउँदै भने‘ प्रधानमन्त्रीलाई च्यालेन्ज गरेर बाल हठ देखाउने साथीहरूलाई म भन्न चाहन्छु– यो बोकाको शैलीले दाइँ गरिँदैन, दाइँ गर्न गोरुकै शैली चाहिन्छ।’

उनले संसद्मा निर्वाचनको अङ्क गणित सुनाउँदै ‘२०६४ सालमा एमालेलाई जनताले ३४ सिटमा सीमित गरिदिएको, २०७४ को निर्वाचनमा जनताले काँग्रेसलाई २३ सिटमा सीमित गरिदिएको बताएका थिए। ‘समानुपातिकसमेत हिसाब गर्दा उहाँहरूको ६३ सिट छ’, उनले भने।

उनले संसद्को सङ्ख्याका आधारमा सबैभन्दा ठुलो दल नेकपा एमालेले रहेको बताउँदै उनले प्रधानमन्त्रीले ल्याएका असङ्ख्य योजनाहरूलाई सके सहयोग गर्न नसके वस्तुनिष्ठ ढङ्गले विरोध गर्न आग्रह गरेका थिए।

 

२६ चैत, २०७७, १९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।