पत्रकार महासङ्घमा युनियन प्यानल अगाडि, चौतारी पछ्याउँदै

पत्रकार महासङ्घमा युनियन प्यानल अगाडि, चौतारी पछ्याउँदै

काठमाडौँ : नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा नेपाल प्रेस युनियनले नेतृत्व गरेको समूह अगाडि देखिएको छ।

काँग्रेस निकट युनियन, माओवादी केन्द्र निकट प्रेस सङ्गठन र नेकपा एमाले खनाल–नेपाल समूहको प्रेस चौतारीले गठबन्धन गर्दै युनियनका विपुल पोखरेलको नेतृत्वमा प्यानल बनाएर निर्वाचनमा सहभागी भएको थियो।

अर्कोतर्फ नेकपा एमाले ओली निकट प्रेस चौतारीले मोहन वैद्य समूह, विप्लव समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी समूहसँग मिलेर निर्मला शर्माको नेतृत्वमा चुनावमा होमिएको थियो।

बिहीबार दिउँसाेसम्म भएको मतगणनामा विपुल समूहका सबै पदाधिकारी करिब २ हजार मतले अगाडि रहेको महासङ्घका पूर्व एसोसिएट सचिव प्रकाश थापाले जानकारी दिए।

‘अधिकांश जिल्लामा मतगणना जारी छ,’ उनले भने‘अहिलेसम्मको अवस्थामा युनियनको प्यानल, चौतारी प्यानलभन्दा २ हजार मतले अगाडि छ।’

अध्यक्षका स्वतन्त्र उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले दुवै आधिकारिक उम्मेदवारको नतिजामा प्रभाव पार्ने गरी मत पाउन सकेको देखिएन।

मतगणनामा देखिएको ट्रेन्डमा उम्मेदवारभन्दा प्यानलको सूची अनुसारै भोट खसेको देखिएकाले अप्रत्याशित नतिजा आउने सम्भावना कम देखिएको छ। अधिकांश जिल्लामा युनियन प्यानल र चौतारी प्यानलकै आधारमा मत खसेको देखिएको मत गणनामा संलग्न एक निर्वाचन अधिकृतले बताए।

आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी कायम राखेका महासचिव सुबोध गौतम, कोषाध्यक्ष माधव दुलाल र लेखा समिति संयोजक लक्ष्मण कार्कीको समेत मत आउने क्रम जारी छ। तर उनीहरूको उपस्थिति कमजोर देखिएको छ।

उम्मेदवारी घोषणा गरेर पछि फिर्ता लिएकाहरूले समेत केही मत पाइरहेका छन्।

आठ जिल्लामा चौतारी

निर्वाचनमा केन्द्रमा बनेको प्यानलै जिल्ला तहसम्म कार्यान्वयन गर्ने प्रयास भए पनि केही जिल्लामा भने सो भत्किएको थियो। केन्द्रीय प्यानल भत्कँदा केही जिल्लामा प्रेस चौतारीको नेतृत्व निर्वाचित भएको छ। 

दार्चुलासहित आठ जिल्लामा प्रेस चौतारीले जितेको छ। सिन्धुपाल्चोकमा प्रेस चौतारी र प्रेस सङ्गठन मिलेर निर्वाचनमा जाँदा प्रेस युनियनको प्यानलै हार्यो।

एसोसिएट र प्रतिष्ठानमा युनियन

१० प्रदेशमध्ये एसोसिएट प्रदेश र प्रतिष्ठान प्रदेशमा प्रेस युनियनका अध्यक्षका उम्मेदवार निर्वाचित भए। प्रतिष्ठानमा वैकुण्ठ पराजुली अध्यक्षमा निर्वाचित भए। प्रतिष्ठानको केन्द्रीय सदस्यमा युनियनका आधिकारिक उम्मेदवार विकास कार्की विजयी भए। अर्का आधिकारिक उम्मेदवार ओमबन्धु कार्की र विद्रोही उम्मेदवार कृति भट्टराईबिच भोट क्रस हुँदा कार्की झिनो मतान्तरले पराजित भए।

प्रतिष्ठान प्रदेशमा युनियन नेतृत्वको प्यानलै विजयी भयो। युनियनले बालकृष्ण अधिकारीको नेतृत्वमा प्यानललाई उठाएको थियो। प्रतिष्ठानतर्फको केन्द्रीय सदस्यमा भने युनियन प्यानलका उम्मेदवारहरूको अवस्था कमजोर छ।

२६ चैत, २०७७, १८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।