हिजोका कुरा : १४ वर्षको उमेरमै हेडमास्टर

हिजोका कुरा : १४ वर्षको उमेरमै हेडमास्टर
तस्बिरहरू : कृष्पा श्रेष्ठ।

तत्कालीन राजा महेन्द्र शाह पश्चिमाञ्चल भ्रमणमा जान काठमाडौंको जितपुर हुँदै जाने भएपछि स्वागत गीत गाउने टोलीका सदस्यको खोजी सुरु भयो। राजाको स्वागतमा गीत गाउने टोलीमा पर्न तँछाडमछाड हुने नै भयो।

जितपुर त्यति बेला पश्चिम जाने मुल बाटो थियो, अहिलेको राजमार्गहरू जस्तै। मदनकृष्ण श्रेष्ठ गाउँ, टोलमा गीत गाउँदै, भजन गाउँदै हिँड्थे। ८ वर्षका मात्र थिए उनी राजा महेन्द्रको भ्रमणताका। 

पहिलो त स्वर मिठै थियो। त्यसमा पनि प्रधानपञ्चको छोरो। त्यसमा मदनकृष्ण श्रेष्ठ कसरी छुट्थे र। उनी समूहमा अटाए। लावालस्करसहित आएका महेन्द्रलाई गीत गाएर स्वागत गर्न उनी आधा बाटो गाडी र आधा बाटो घोडा चढेर गएका थिए।

‘त्यति बेला राजा–रानीको अगाडि गीत गाउनु ठूलै कुरा हुन्थ्यो। समूहमा पर्नेको लागि ज्यानै फ्याल्थे,’ उनले भने, ‘तर, उनले सजिलै मौका पाएँ।’

०००

बालाजुबाट १ घण्टा हिँड्नुपर्ने काठमाडौंको नेवार बस्ती जीतपुर। बस्तीमा नेवारमा पनि श्रेष्ठ र मानन्धरको संख्या धेरै थियो।

नेवारै भए पनि श्रेष्ठहरू हिन्दू धर्मालम्बी अनि मानन्धर बौद्ध धर्म मान्ने। मदनकृष्ण हिन्दू धर्म मान्ने परिवारका सदस्य। तर, दुवै धर्मका जात्रा, पर्वमा उनी खुलेर सहभागी हुुन्थे। गीत गाउँथे। भजनमा रमाउँथे। यसले उनलाई विस्तारै कलाकार हुने मोडमा हिँडाइरहेको थियो।

त्यो बेला जीतपुरमा विद्यालय थिए। मदनकृष्णका बुबा त्यति बेलाका प्रधानपञ्च। उनका बुुबालाई विद्यालय खोल्ने जोश चल्यो। उनले खोले पनि ‘कालिका राष्ट्रिय प्राइमरी स्कुल’।

विद्यालय त खुल्यो तर पढाउने कसले ? गाउँमा पढेकाहरू त्यति थिएनन्। विद्यालयको सबै जिम्मा मदनकृष्णको टाउकोमा आइपुग्यो। प्रधानाध्यापकको भूमिकादेखि सबै विषय पढाउने, परीक्षा लिने सबै जिम्मेवारी उनकै। त्यसवापत उनले महिनाको ७५ रूपैयाँ तलब लिन्थे।  

त्यो बेला त्यति कमाउने गाउँमा कमै हुन्थे। त्यसमा पनि उनी भर्खरै १४ वर्षको केटो। उनका हजुरबुबा गाउँभरी आफ्नो नातिले वर्षमा ९ सय रूपैयाँ कमाउँछन् भनेर कुरा गर्दै हिँड्थे रे। 

उनले प्रधानाध्यापकको रूपमा काम गर्दा आफू भने कक्षा ९ र १० पढ्थे। उनको रुटिन साह्रै व्यस्त हुन्थ्यो। बिहान ४ बजे खाना खाएर २ घण्टा हिँड्दै जेपी स्कुलमा पढ्न जान्थे। ९ बजे कक्षा सकाएर फेरि २ घण्टा हिँड्दै कालिका स्कुलमा पुग्थे। स्कुल सकाएर घर फर्कनासाथ खाटमै पल्टिन्थे। राति उठाएर खाना खाएको समेत उनलाई याद हुँदैनथ्यो।

परीक्षा हुने बेला राति उठेर प्रश्न पत्र बनाउने, मार्कसिट लेख्ने गर्थे। स्कुलमा ३५ जना विद्यार्थी थिए। त्यसको पूरै जिम्मा मदनकृष्णकै। दुई वर्ष काम गरेपछि उनले स्कुल छाडे। एसएलसी दिँदादिँदै २०२३ सालमा सञ्चय कोषमा जागिर सुरु भयो।

०००

गायक द्वारीकालाल जोशी उनको मिल्ने साथी। उनीहरू सँगै गीत गाउँथे। टोलमा कार्यक्रम हुँदा उनीहरू छुटाउँदैनथे। ऊ बेला संचार माध्यम रेडियो नेपाल त हो। रेडियोमा गीत गाउनु भनेको चानचुने कुरा थिएन। टोलमा गीत गाउँदै हिँड्दा एकदिन रेडियोमा गीत गाउन पाए त भन्ने मनमा लाग्ने नै भयो।

द्वारीकालाल जोशीका दाजु भैरवलाल रेडियोका जागिरे। उनी ‘जीवन दबु’ भन्ने नेपाल भाषाको कार्यक्रम चलाउँथे। एकदिन मदनकृष्णले उनलाई गीत गाएर सुनाए।

उनको स्वर सुनेर भैरवलालले ‘ओहो ! तिम्रो स्वर राम्रो छ, गीत गाउन आऊ’ भनेर निम्ता पो दिए रेडियोमा। उनको सपनै थियो रेडियोमा आफ्नै स्वर सुन्ने। उनी भोलिपल्टै हर्रिँदै रेडियो नेपाल पुगे।

लाइभ गीत गाउनुपर्ने। त्यो पनि वान टेक। उनी आत्तिएनन्। नेवारी गीत बोकेर गएका थिए। साहस बटुलेर गाए र रेकर्ड पनि भयो। रेडियोमा आफ्नै स्वर सुन्ने उनको रहर पूरा भयो।

तर, त्यो रहरमा मात्र बाँधिएन। उनमा गायकै हुने ‘भुत सवार’ भइसकेको थियो। २०२३ मा रेडियो नेपालमा स्वर परीक्षा दिए र पास पनि भए।

‘रेडियोमा स्वर परीक्षा पास गरेपछि त ठूलै गायक भइहाल्यो,’ उनले सम्झिए, ‘गायकसँग मेरो संगत पनि बढ्दै गयो । मैले गाएको नेपाल भाषाको ‘मरु गणें देंया : गजु मरु’, ‘जि छम्ह सिया : आः तः क कला : मरु–मरु गणेश मन्दिरमा गजुर छैन’, ‘म एकजनाको अहिलेसम्म श्रीमती छैन’, गीतबाट धेरैले मलाई याद गरिरहन्छन्।’

प्रकाश पुस्तकालयले २०२६ सालमा आयोजना गरेको गायन प्रतियोगितामा मदनकृष्णले प्रेमध्वज प्रधानको संगीत, दुर्गालाल श्रेष्ठको रचनामा नेवारी भाषाको गीत गाए। उनी प्रथम भए।

त्यसपछि भने उनको गायन यात्रा रोकियो। कारण थियो– पिनास। पिनासका कारण उनको स्वर नाके भयो। उनले गीत गाउन बन्द गरे। गायनबाट टाढा बस्नुपर्दा उनको चित्त कुँडिने नै भयो। 

०००

उनी त्यत्तिकै चुप लागेर कहाँ बस्न सक्थे र। २०२८ सालमा उनी मुना :सः भन्ने संस्थामा आवद्ध भए। त्यसको लक्ष्य थियो– हास्यव्यंग्य कार्यक्रम गर्ने। 

त्यो बेला प्रशासन अति कडा। राजनीति चेतनाका कुरा गर्नु ज्यान धरापमा पार्नु बराबर थियो। जो जान्ने भयो ऊ प्रशासनको आँखी भइहाल्ने। हस्यव्यंग्यमा पनि सामाजिक विषयबाहेक अन्य विषय बन्देज हुने नै भयो। 

तर, मदनकृष्णको मुना : स :ले राजनीतिक व्यंग्य पनि मज्जाले गर्थे। उनीहरू नेपाल भाषामा कार्यक्रम गर्थे। प्रशासनले जाँच गर्न नेपाल भाषा जानेका कर्मचारी पठाउँथे। उनीहरू कार्यक्रममा बसेर मजाले हास्दै जान्थे। तर, प्रशासनलाई कुरा लगाउँदैनथे।

०००

सञ्चय कोषको १२ वर्षको जागिर छाडेर उनी कृषि सूचना शाखा रेडियो कार्यक्रममा काम गर्ने पुगे। त्यति बेला ६० रूपैयाँ तलब थियो उनको। सञ्चय कोषको जागिर छाडेर रेडियोमा जाँदा उनलाई सबैले महामूर्ख भन्न थाले।

तर, यो तलबको कुरा मात्र थिए। मनको इच्छाको कुरा पनि थियो। उनी माइकमा बोल्न चाहन्थे। रेडियोमा आफ्नै आवाज सुन्न चाहन्थे। पिनासले रोकेको रेडियो यात्रा सुरु गर्न चाहन्थे। त्यसका लागि रेडियोमा कार्यक्रम चलाउन पाउनु उनको सपनाकै यात्रा थियो।

रेडियोमा बिबिसीबाट तालिम दिन आयो एक समूह। शिवशंकर मानन्धर, नातीकाजी, सेनानी प्रेमबहादुर थापा, पाण्डव सुनुवार, धन लामासँगै उनको पनि नाम थियो प्रशिक्षण लिनेमा। त्यो तालिम लिएपछि नयाँ कार्यक्रम बनाएर रेडियोमा प्रशारण गर्नुपर्ने सर्त थियो।

उनले तालिमपछि ‘रसरंग’ नामक कार्यक्रम बनाए। त्यो बेला सबैको घरमा रेडियो हुने कुरै भएन। जसको घरमा रेडियो हुन्थ्यो उसले घर अगाडि झुण्ड्याइदिन्थे। सबै भेला भएर सुन्थे। छोटो समयमा उनको कार्यक्रम छोटो समयमै रुचाइयो। उनी खुसी भए।

‘स्ट्याण्ड माइक अनि लामो तार हुन्थ्यो। कार्यक्रममा दर्शकलाई बोलाएर लाइभ प्रोग्राम हुन्थ्यो,’ उनले सम्झिए, ‘थियटरमा नाटक गरेजस्तै हुन्थ्यो। त्यसको अलावा दिनको दुईवटा जति त दैनिकजसो नै टोल–टोलमा कार्यक्रम गर्ने जान्थे।’

कार्यक्रममा अहिलेजस्तो पैसा आउने क्रम सुरु भइसकेको थिएन। कलाप्रतिको मोहले नै तानिरहेको थियो मदनकृष्ण लगायतका कलाकारलाई।
कलाकारलाई रक्सी र खाजा खुवाइन्थ्यो। मदनकृष्ण भने रक्सी नखाने। खाजा मात्र खाएर आउँथे। 

‘म रक्सी नखाने तर साथीहरूसँग बसिदिन्थे। रक्सी खाएर गफ गरेको सुन्न साह्रै रमाइलो लाग्ने,’ उनले सम्झिए, ‘म सितन खाएर साथ दिन्थे। एकदिन दिक्क लागेको बेला म पनि खान्छु भन्दा अरु कलाकारले बल्ल कलाकार भयो भने। तर, मलाई रक्सीको नसाले छोएन।’

०००

एकदिन ‘रसरंग’ कार्यक्रममा भाग लिन्छु भन्दै आए हरिवंश आचार्य। त्यही कार्यक्रमबाट उनीहरूको दोस्ती जम्दै गयो। उनीहरू दुवैजना मिलेर काम गर्न थाले। 

मुना सःको एउटा कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीे आएका थिए। कार्यक्रम हेरेपछि ‘यो त राष्ट्रियस्तरमै गर्नुपर्ने कार्यक्रम रहेछ’ भनेर २०३२ सालमा जोशीले प्रज्ञा प्रतिष्ठानमा ‘राष्ट्रिय गाईजात्रा महोत्सव’ आयोजना गरिदिए।

कार्यक्रमको प्रमुख अतिथि राजा। उनी नेपाल भाषामा ट्वाक्क मिलाएर राजनीतिक व्यंग्य पनि गर्थे। तर, त्यो कार्यक्रममा उनले नेपाली भाषामा प्रहसन गर्नुपर्ने भयो। उनले नेपालीमै प्रहसन गरे। बीचबीचमा राजनीतिक व्यंग्य पनि घुसाए अप्रत्यक्षरूपमा।

पहिलो कार्यक्रम विवादरहित हुन सकेन। सत्यमोहन सदस्यसचिव। उनलाई दरबार र प्रशासनले कार्यक्रमका शब्दलाई लिएर आच्छुआच्छु पारे। धन्न उनले सबै प्रश्नको चित्त बुझाए। दरबार धेरै आक्रोशित भएन र हरेक वर्ष हुन थाल्यो कार्यक्रम।

कार्यक्रम हेर्न हरेक वर्ष राजा–रानी आउने। ९० मिनेटमा नाटक सकाउनुपर्थ्याे। मदनकृष्णसँगै हरिवंश पनि कार्यक्रम देखाउन उत्सुक। तर, दुवै जनाले कार्यक्रम देखाउँदा ९० मिनेट थोरै समय थियो। गायक रुबी जोशीले दुवैजनालाई एकै कार्यक्रम देखाउन सुझाव दिए। दुवै राजी भए।

उनीहरूले ‘बैंकेश्वर’ नाम राखेर कार्यक्रम बनाए। कार्यक्रम हिट। त्यसपछि अर्को कार्यक्रममा ‘यमलोक’ बनाए। त्यो बेला राजनीतिक दल प्रतिबन्धित थिए। ‘यमलोक’ हेर्न बीपी कोइराला आएका थिए। कार्यक्रम हेरेर बीपीले प्रशंसा गरेर मदनकृष्णले अझै भुलेका छैनन्।

०००

उनको दौडधुप देखेर २०३५ सालमा आयोजकले ५ सय रूपैयाँ पारिश्रमिक दिएको क्षण मदनकृष्णलाई सधैं याद आउँछ। उनको त्यो बोहनी निकै प्रभावकारी भयो। त्यसपछिका कुनै कार्यक्रम उनले खाली हात गर्नु परेन। उनको पारिश्रमिक प्रतिकार्यक्रम एक हजार रूपैयाँसम्म पुग्यो।

‘पाटन जेसिसले प्रहसन कार्यक्रम आयोजना गरेको थियो। आयोजकले तपाईंहरू कति पैसा लिनु हुन्छ भन्दा हजार भन्नै लागेको थिएँ,’ उनी सम्झन्छन्, ‘आयोजकले नै ५ हजार रूपैयाँ हो ? भने । हामीले टाउको मात्र हल्लायौं। बोल्न सकेनौं।’

पाँच हजार रूपैयाँ लिएर कार्यक्रम गरेको बाहिर हल्ला भइहाल्यो। त्यसपछि उनको बजार हल्का खस्कियो। महँगा कलाकार भनेर आयोजकले उनीहरूलाई बोलाउने आँट गर्न सकेनन्।

तर, उनको यात्रा रोकिएन।

अझै जारी छ। 

२६ चैत, २०७७, १७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।