स्वास्थ्य मन्त्रालयको आग्रह– रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्ट राति ९ बजेपछि बन्द गर्नू

स्वास्थ्य मन्त्रालयको आग्रह– रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्ट राति ९ बजेपछि बन्द गर्नू

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्ट राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ। 

मन्त्रालयले आज (बुधबार) सूचना जारी गरी कोरोना रोकथामका लागि अपनाइएको जनस्वास्थ्य मापदण्डको बढ्दो उल्लंघन र कोरोना भाइरस (कोभिड–१९) को बेलायत भेरियन्टसमेतको संक्रमणको दर बढिरहेको भन्दै रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको हो। 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको सूचनामा काठमाडौं, पोखरालगायत ठूला सहरमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेकाले सूम्पूर्ण शैक्षिक संस्थामा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

यस्तै, जोखिम बढेका ठूला सहरहरूमा सार्वजनिक यातायातमा यात्रा गर्ने वा भिडभाड कम गर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अनिवार्य पालना गर्न/गराउन सरोकारवालामा अनुरोध गरिएको छ।

यसैगरी, बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्विमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

यस्तै, कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टिजेन्ट तथा आवश्यकता अनुसार पिसिआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहलाई आग्रह गरेको छ।

यसैगरी, ठूला सहरहरूमा ५ सयभन्दा बढी र साना सहरहरूमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

साथै, विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरुको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न मन्त्रालयको आग्रह छ।

मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला सहरहरूमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरूमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

२५ चैत, २०७७, २०:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।