काठमाडौं : गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुईजना मन्त्रीले आज (बुधबार) पदबाट राजीनामा दिएका छन्।
प्रदेश
गण्डकी प्रदेश : माओवादी केन्द्रका दुईजना मन्त्रीले दिए राजीनामा

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष राजीनामा पत्र बुझाएका हुन्।
माओवादी केन्द्रको संसदीय दलका नेता चुमानले प्रदेशसभा बैठकमा आफूहरूले पदबाट राजीनामा दिइसकेकाे बताएको एक मन्त्रीले जानकारी थिए। ‘उहाँ (चुमान)ले आफूहरू सरकारमा नबस्ने भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायमै रहेको भन्नुभएको छ,’ ती मन्त्रीले भने।
आज बिहान बसेको माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो।
चुमान र थापा २०७४ फागुन ४ मा मन्त्री बनेका थिए।
६० सदस्यीय गण्डकी प्रदेशसभामा एमाले २८, कांग्रेस १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादीका २ सदस्य छन्।
२०७७ चैत २५ गते १६:३६ मा प्रकाशित