पत्रकार महासंघ निर्वाचन : नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

पत्रकार महासंघ निर्वाचन : नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

काठमाडौं : नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी छ। 

केन्द्र, प्रदेश, जिल्ला, एसोसियट र प्रतिष्ठान शाखाको नयाँ कार्यसमिति चयनका लागि देशभरका विभिन्न स्थानमा एकै पटक मतदान भइरहेको हाे। बिहान ९ बजे सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्ने छ। 

यो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत महासंघको नयाँ नेतृत्व चयन हुँदैछ, जसमा केन्द्रीय अध्यक्ष पदका लागि विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्रबहादुर बुढाथोकी प्रतिस्पर्धामा छन्। 

तीमध्ये पोखरेल र शर्मा प्यानलसहित प्रतिष्पर्धा गरिरहेका छन्। बुढाथोकी भने स्वतन्त्ररूपमा प्रतिष्पर्धामा छन्। 

पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम र महिला उपाध्यक्षमा बाला अधिकारी र महासचिवमा रोशन पुरी उम्मेदवार छन्। यस्तै, सचिवमा गोविन्द चौलागाई (खुला), पवन आचार्य (एसोसिएट), सिर्जना अर्याल (महिला), नारायण किलम्बु (आदिवासी जनजाती), दिपेन्द्र चौहान (मधेसी), हेमकर्ण विक (दलित) उम्मेदवार बनेका छन्। यसैगरी उक्त प्यानलबाट कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा संयोजकमा लेखनाथ न्यौपाने प्रतिष्पर्धामा छन्। 

शर्मा नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, समावेशी उपाध्यक्षमा अवधेश झा र महिला उपाध्यक्ष दाना केसी सुवेदी र महासचिवमा बालकृष्ण बस्नेत उम्मेदवार छन्। यो प्यानलबाट, सचिवमा रामकृष्ण ज्ञवाली (खुल्ला), निमा काफ्ले (महिला), शाहीमान राई (आदिवासी जनजाति), स्वेता सिन्हा (मधेसी), मधु शाही (दलित) र रामेश्वर कार्की (एसोसिएट) उम्मेदवार बनेका छन्। यस्तै, कोषाध्यक्षमा कृष्ण गिरी र द्वारिकाप्रसाद काफ्ले लेखा समितिको संयोजक पदमा प्रतिस्पर्धामा छन्।

यी उम्मेदवारलाई भोट हाल्न १३ हजारभन्दा बढी मतदाता छन्। 

काठमाडौं उपत्यकामा जिल्ला, प्रतिष्ठान र एसोसियटका लागि छुट्टाछुट्टै मतदानस्थल छ। काठमाडौं जिल्ला शाखाको कमलादीस्थित प्रज्ञा भवनमा मतदान भइरहेको छ।

२५ चैत, २०७७, १२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।