बालाजु सडक विस्तारले सुकुम्बासी बनाएकाहरू–४ : बास भएन, सरकारको नि आश छैन

बालाजु सडक विस्तारले सुकुम्बासी बनाएकाहरू–४ : बास भएन, सरकारको नि आश छैन
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौं : धादिङ, कोइलीखर्कका दीपबहादुर तामाङ कुनै बेला ठेकेदारी काम गर्थे। उनै तामाङको नेतृत्वमा नार्गाजुन जंगलभित्रको बाटो बनेको थियो। माछापोखरीमा रहेको पोखरी उनले कति पटक मर्मत गरे लेखाजोखा नै छैन।

आफ्नो क्षेत्रमा परिचित ठेकेदार भएकै कारण उनी घर बनाउने, पर्खाल लगाउने, बिग्रिएका भौतिक संरचना मर्मत गर्ने कामको अभाव थिएन। 

चञ्चल मन नथाम्दा उनको परिवारको संख्या बढ्दै गयो। श्रीमती तीनजना भए। तीन श्रीमतीबाट चार भाइ छोरा भए।

जेठी श्रीमतीतर्फका जेठा छोरो गाउँमा नै बस्ने गर्छन्। माइलीतर्फका जेठा छोरा र कान्छीतर्फका छोरा काठमाडौंमै छन्। माइलीतर्फका माइला छोरा वैदेशिक रोजगारीका क्रममा मकाउ पुगे।

उनीहरूको बास थियो बालाजु वाइपास चोकै छेउ। त्यो घर सडक विस्तारको क्रममा २०७० सालमा भत्कियो। त्यसपछि तामाङ परिवार तितरवितर भयो।

‘२०६१ मा बा बित्नु भयो। घर भत्किनुपहिले १८ जनाको परिवार हामी त्यही घरमा बस्थ्यौं,’ दीपबहादुरका कान्छीतर्फका छोरा सञ्जय तामाङ भन्छन्, ‘अहिले आमा र मेरो परिवारसँगै छौं।’

दीपबहादुर बितेपछि माइलीतर्फका जेठा छोरा बमबहादुर तामाङको नाममा पानीको विल आउन थाल्यो।

‘सबै सँगै हुँदा घरको भोगचलनको जिम्मा दाइ (बमबहादुर)को नाममा थियो। घर भत्किएपछि दाइ छुट्टिएर बस्नु भयो। मुल घर भत्किएपछि परिवार नै भत्किने रहेछ,’ सञ्जय सुनाउँछन्, ‘२०७० यता ६ ठाउँ कोठा सरिसकेँ। जे जस्तो भए पनि आफ्नो छाप्रो नहुँदा धेरै समस्या हुने रहेछ।’

तीन आना हाराहारी जग्गामा थियो उनको घर। २०२५ सालमा छाप्रो हालेर उनको बा यतै बसेका थिए। सबै सन्तान त्यही जन्मिए। सञ्जय अहिले ४३ वर्षका भए। उनको एक छोरा र एक छोरी छन्।

दीपबहादुर काठमाडौंमा बस्न थालेपछि गाउँ फर्किएनन्। चार भाइ छोरालाई उनले मिलाएर सम्पत्ति बाडँफाडँ गरिदिए।

‘बालेगाउँको सम्पत्ति हाम्रो कुलको जेठो दाइ (जेठीतर्फका छोरा)लाई भोगचलन गर्न दिनुभयो,’ उनी भन्छन्, ‘गाउँमा भएको दाइलाई पनि सजिलो छैन नि। उनको पनि परिवार छ। उनैलाई खान बस्न ठिक हुन्छ त्यो सम्पत्तिले।’

यता सहरमा हुनेको भागमा बाइपासको घर पर्याे।

सञ्जय भन्छन्, ‘हामी गाउँ फर्किएर टिक्न सक्दैनौं। उनीहरूले गरी खान्छन् भने लौ भनेर सबै भाइ सहमत भइयो। अहिले न घर भयो, न जग्गा।’

सञ्जय तनावमा छन् यति बेला। गाउँ फर्किएर जग्गा देउ बस्ने बास भएन भन्न पनि भएन। यता शहरमा न टेक्ने हागो भो, न समात्ने रुख।
उनी १० वर्ष दुबई बसे। खासै आर्थिक परिर्वतन भएन उनको जीवनमा। विदेशबाट फर्किएर यतै कामको मेसो मिलाउन थाले। बासै उठायो राज्यले। बास भएन। बास खोस्ने सरकारको नि आश भएन।

सञ्जय कृषिसम्बन्धी व्यवसाय गर्ने सोचमा थिए। बासको टन्टाले उनले व्यवसाय पनि सुरु गर्न सकेनन्। सानो गाडी लिएर तरकारी ओसारपसार गर्छन् उनी। त्यसले पनि दालभात जोहो गर्न मुस्किलै भएको दुखेसो गर्छन् उनी।

त्यसैले उनी अहिले अन्योलमा छन्। फेरि विदेशी पो हो की ? उनी दोमनमा छन्। 

‘मेरो दाइ (बमबहादुर) र मन्त्री रामवीर मानन्धर बच्चैदेखिका साथी हुन्। दाइ पैसा लिइसक्यो भनेर सुनाउन आउँछन्। तैले सम्पत्ति पाउँदैनस् भन्न आउँछन्। अनेक भन्छन् मलाई मान्छे,’ उनी भन्छन्। 

तर, दाइले भाइहरूलाई घात गर्दैनन् भन्नेमा उनी विश्वस्त देखिन्छन्, ‘हाम्रो बासै उठ्दा दाइ सजिलो हुँदैन नि। अभिभावक पो हो त। दाइले पैसा नलिने भन्नुभएको छ। मन्त्रीको साथी भयो भन्दैमा भाइहरूविरुद्ध दाइ किन जानु हुन्थ्यो र ?’ सञ्जयले भने।

बस त उठ्यो। तैपनि राज्यसँग आश अझै मारेका रहेन छन् उनले। कतै सरकारी मान्छेको मनमा हरि पलाइहाल्छ कि भन्ने आशमा देखिए उनी। कतै मुआब्जा पो आइहाल्छ कि भन्ने झिनो आशमा देखिए। कतै क्षतिपूर्ति अनि सानो टुक्रा जमिन पो पाइन्छ कि भन्ने मनमा आश छ उनको।

तर, ढुंगाको मुटु भएकाहरूको मुटुमा इमानको पीपल पलाउँला र ?

२५ चैत, २०७७, ०८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।