मन्त्रीबाट राजीनामा दिएपछि सरकारी गाडीमा चढेनन् एमाले नेता

मन्त्रीबाट राजीनामा दिएपछि सरकारी गाडीमा चढेनन् एमाले नेता

सुर्खेत : कर्णाली प्रदेशमा नेकपा एमालेबाट सरकारमा सहभागी तीन मन्त्री राजीनामा पत्र बुझाउन आज (मंगलबार) सरकारी गाडीमै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकमा पुगेका थिए।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा पत्र बुझाए। त्यसपछि उनीहरूकाे गन्तव्य थियाे– एमाले संसदीय दलकाे कार्यालय।

तर, त्यहाँ जान उनीहरू सरकारी गाडी चढेनन्, हिँडेरै गए। 

त्यहाँबाट झण्डै एक किलोमिटर हिँडेरै एमाले कर्णाली प्रदेश संसदीय दलको कार्यालयसम्म पुगे उनीहरू। उनीहरूसँगै पार्टीका अन्य नेता–कार्यकर्ता र प्रहरी पनि थिए।

संसदीय दलको कार्यालयमा पुगेपछि तीनैजना संसदीय दलको बैठकमा सहभागी भए। 

यही चैत ४ गते एमाले कर्णाली प्रदेश संसदीय दलले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीलाई फिर्ता लिने निर्णय गरेको थियो। 

तर, एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहका सांसद्ले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै सरकारलाई दिएको समर्थन कायमै रहेको बताएका थिए। 

त्यसपछि एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउन आन्तरिक छलफल बढाएपछि एमालेको तर्फबाट मन्त्री बनेका तीनैजनाले आज राजीनामा दिएका हुन्। 

मन्त्रीबाट राजीनामा दिएपछि संसदीय दलको बैठकमा जाँदै एमालेका नेता। तस्बिर : जगतदल जनाला विक।

२४ चैत, २०७७, १६:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।