कर्णालीमा एमालेका तीन मन्त्रीले दिए सामूहिक राजीनामा 

कर्णालीमा एमालेका तीन मन्त्रीले दिए सामूहिक राजीनामा 
राजीनामाबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै दल रावल, प्रकाश ज्वाला र नन्दसिंह बुढा (दायाँबाट क्रमशः) । तस्बिर : जगतदल जनाला विक

सुर्खेत : कर्णाली प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट सहभागी तीनजना मन्त्रीले सामूहिकरूपमा पदबाट राजीनामा दिएका छन्।

एमालेबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले माओवादी केन्द्रको प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा पत्र बुझाएका हुन्। 

राजीनामा दिने सबै मन्त्री एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहका हुन्। 

यही चैत ५ गते एमाले संसदीय दलको बैठकले माओवादी केन्द्रको प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। 

राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले आफूहरूले पार्टीको निर्णय मानेको प्रतिक्रिया दिए। 

एमालेबाट सहभागी मन्त्रीहरूले राजीनामा दिन लागेपछि मुख्यमन्त्री शाहीले अन्तिम क्याबिनेट बैठकमा बस्न प्रस्ताव गरेपछि बैठकमा उपस्थित भएर राजीनामा दिएकोे मन्त्री ज्वालाले बताए। 

एमालेका तर्फबाट बनेका मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रदेशसभामा १२ सांसद् भएको माओवादी केन्द्रलाई बहुमतका लागि थप ८ सांसद् आवश्यक पर्छ।

४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रले सांसद् धर्मराज रेग्मीलाई कारवाही गरेपछि प्रदेशसभामा कूल सांसद्को संख्या ३९ मात्रै छ। यो अवस्थामा बहुमतका लागि २० सांसद् आवश्यक पर्छ। 

एमालेबाहेकका सबै दल मिलेको अवस्थामा पनि माओवादी केन्द्रका लागि बहुमत सम्भव देखिँदैन। प्रदेशसभामा एमालेबाहेकका १९ सांसद् मात्रै छन्, जसमा  नेपाली कांग्रेसका ६ र राप्रपाका १ सांसद् छन्। 

प्रदेशसभामा एमालेका सभामुखसहित २० सांसद् छन्। 

 

२४ चैत, २०७७, १५:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।