नयाँ सरकार: काँग्रेसको बिँड तात्यो,ताप्के तातेन, जसपा : न यता न उता 

नयाँ सरकार: काँग्रेसको बिँड तात्यो,ताप्के तातेन, जसपा : न यता न उता 

काठमाडौंः चैत्र २० मा बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्यो। लामो समयसम्म सरकार गठनको परिपक्व स्थिति तयार भई नसकेको भन्दै आइरहेको टिप्पणीका बिच काँग्रेसको निर्णय नयाँ सरकार जन्माउने सन्दर्भमा अर्थपूर्ण थियो। 

यससँगै लामो समयपछि काँग्रेसले कसलाई समर्थन गर्ला भन्ने मौनता पनि  तोडियो। काँग्रेसको निर्णयसँगै एमाले वा कांग्रेस बाहेकको नेतृत्वमा सरकार बन्ने सम्भावना बन्द भयो। तर, त्यसपछि पनि काँग्रेस निष्क्रिय अवस्थामा नै छ। 

आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भएपछि उसले नेकपा एमाले,नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग गठबन्धनको पहललाई ठोस रूपमा अगाडि बढाउनुपर्ने हो। तर, काँग्रेसले अहिलेसम्म परिमाण आउने गरी पहल गर्न सकेको छैन।

सह–महामन्त्री प्रकाशशरण महत एमाले बाहेकको पार्टीसँग सरकार गठनबारे कुराकानी भइरहेको बताँउछन। ‘ठुलै तहका नेताहरूले कुरा गरिरहनुभएको छ,’ उनी भन्छन्,‘जसपा र माओवादीसँग छलफल भईरहेको छ।’ 

काँग्रेसले सरकार गठनका सन्दर्भमा कुनै छलफल नगरेको जसपाले दाबी गरिरहेको अवस्थामा महतको कुरालाई पत्याउने आधार भने देखिँदैन।

जसपा कार्यकारिणी सदस्य केशव झा पछिल्लो समय काङ्ग्रेससँग सरकार गठनबारे  कुनै छलफल नभएको बताँउछन।  ‘कुनै कुरै भएको छैन। देउवा नै तयार छैनन्’ उनी भन्छन्। 

कांग्रेसः बिँड तात्यो,ताप्के तातेन 

आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भने पनि त्यसपछि काँग्रेस निष्क्रिय छ। सरकार गठनमा पनि काँग्रेसमा दुई धार छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल जसरी पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नुपर्ने पक्षमा छन्। 

यो पक्ष प्रधानमन्त्रीमा जसपा नेता महन्थ ठाकुर या जोसुकैलाई समर्थन गरेर भए पनि सरकारको आयु घटाईहाल्नुपर्ने पक्षमा छ। तर, पार्टी सभापति शेरबहादुर देउवा आफ्नै नेतृत्वमा सरकारमा जाने अवस्थामा मात्रै छन्। तर,देउवा यसका लागि पनि सक्रिय बनेका छैनन्। 

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पौडेल मात्रको सक्रियतालाई ‘ताप्के नताती बिँड तातेजस्तो’ भएको संज्ञा दिन्छन्। उनी आफ्नै नेतृत्वमा सरकार गठनबारे कार्यसमितिको निर्णय नै अपरिपक्व भएको मान्छन्। 

‘सरकारका लागि गठबन्धन बनाउनु पहिला केन्द्रीय कार्यसमितिले गठबन्धनका लागि समिति गठन गर्नुपर्थ्यो,’ उनी भन्छन्,‘जसपा,माओवादीलाई समेटेर लैजान शक्तिशाली टिमको नेतृत्व जसरी कांग्रेस अगाडि बढ्नुपर्थ्यो त्यसरी अगाडि बढ्न सकेको छैन। बढ्न नसक्नुको पछाडि के नियत हो के कारण हो त्यो स्पष्ट छैन।’ 

उनी काँग्रेसले ढिला गरी गरेको निर्णय लिए पनि ओलीको सरकार विरुद्ध गठबन्धन किन बनाउनुपर्छ भनेर नै सहमतिमा ल्याउनुपर्ने मान्छन्। ‘शेरबहादुरको नेतृत्वमा सरकार बनाउन समर्थन गर भन्दिन अरू पार्टी चिढिन्छन्। अलिकति उल्टाएर बन्दा राम्रो हुन्छ,’आचार्य भन्छन्।

काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने भनेसँगै महन्त ठाकुर वा अन्यको नेतृत्वमा सरकार बन्ने सम्भावना बन्द भएको बताँउछन उनी। 

‘त्यसरी बन्द गर्न हुँदैन थियो । खोजेको के हो क्लियर भएन,’उनले भने,‘ओलीको विकल्प खोजेको हो कि आफ्नो नेतृत्वमा सरकार? यसमा काँग्रेस चुकेको देखिन्छ।’ 

जसपा न यता न उता 

सरकार गठनको सम्भावनामा जसपाको पनि महत्त्वपूर्ण भूमिका रहेको छ। सरकारको सम्भावना बोकेका एमाले र काँग्रेस नै स्पष्ट हुन नसक्दा अन्योलको अवस्थामा छ। 

एमाले नेतृत्वमा सरकार बनाउने कुरा चलेको छैन। काँग्रेसले छलफल नै गरेको छैन। माओवादी केन्द्रले नेतृत्व गर्ने अवस्था छैन। 

काँग्रेसमा यसअघि दुबिधाको अवस्था थियो। तर अव त्यो अवस्था छैन। जसपाकै दुबिधाका कारण पनि ओली नेतृत्वको सरकार लम्बिएको छ।

जसपा कार्यकारिणी सदस्य झा जसपाले सरकार गठनबारे अहिलेसम्म कुनै निर्णय नगरेको बताउँछन्। उनी सांसद रेसम चौधरीको रिहाई लगायतका सरकारसँग राखेका माग बारे टुङ्गो लागेपछि मात्र यो विषय टुङ्गो लाग्ने बताँउछन। 

‘हाम्रो माग सम्बोधन हुने नहुने टुङ्गो लागेपछि मात्र सरकारमा जाने नजानेबारे टुङ्गो लाग्छ,’ उनी भन्छन्। 

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ नयाँ सरकार बन्न जसपामा भर पर्ने बताँउछन। 

‘जसपा बाँडियो भने बाँडिएको जसपाको थोरै मात्र सङ्ख्याले साथ दिँदा पनि एमाले नेतृत्वको सरकार बलियो हुने देखिन्छ,’उनी भन्छन्‘अर्को सम्भावना अहिले सरकार गठनको पहलकदमी काँग्रेसले लिएको छ। माओवादी पनि सरकारमा जान तयारी अवस्थामा नै छ। जसमा जसपाको भूमिका निर्णायक हुन्छ।’ 

अर्का विश्लेषक आचार्य अहिलेको अवस्थामा जसपाकै महन्त ठाकुर पक्ष ओलीले माग पुरा गर्देलान् र सरकारमा जाउँला भन्ने अवस्थामा रहेकाले सरकारको सम्भावनाबारे यसै भन्ने अवस्था नरहेको बताँउछन।  

माओवादीको भूमिकामा शङ्का

अहिलेको अवस्थामा नेकपा माओवादी केन्द्रको भूमिका ढुलमुले छ। विश्लेषकहरू माओवादी केन्द्रको भूमिकालाई राजनीतिक नभएको प्रश्न वाचक चिन्ह लाग्ने भूमिकामा रहेको मान्छन्। 

‘संसद् विघटनको निर्णय प्रतिगामी,संविधान संहारक र संविधानलाई लिक बाहिर लगेको आरोप लगाउने माओवादीको समर्थन संसद् पुनर्स्थापना पछि पनि अझै ओली नेतृत्वको सरकारलाई छ,’विश्लेषक श्रेष्ठ भन्छन्,‘राजनीतिक रूपमा यो अमिल्दो विषय हो। राजनीतिक,सैद्धान्तिक र नैतिक रूपमा पनि मिल्ने विषय होइन।’

उनी यसमा माओवादीमा भएका त्रासलाई कारण हुनसक्ने मान्छन्। विश्लेषक श्रेष्ठको भनाइमा बिचैमा समर्थन फिर्ता लिँदा ओलीकै नेतृत्वको सरकार लम्बिने भय छ उसलाई। 

संसद्मा अविश्वासको प्रस्ताव फेस गरेर विश्वासको मत लिएमा अझै २ वर्ष ओली नेतृत्वको सरकार अगाडि बढ्छ। अर्को तीन गठबन्धन काँग्रेस,एमाले र जसपाको गठबन्धन बन्छ कि भन्ने त्रास पनि उत्तिकै छ। ‘त्यो हुँदाहुँदै पनि उसले समर्थन गर्न चाहिँ हुँदैन तर गरिरहेको छ,’ उनी भन्छन्।

राजनीतिक विश्लेषक आचार्य माओवादीले राजनीतिक रूपमा समर्थनमा ढिलाइ गरेको बताँउछन। ‘राजनीतिक रूपमा समर्थन लिईसक्नुपर्थ्यो। 

कानुनी र संवैधानिक रूपले यो हुन्छ भनेर उसले जुन निर्णय लिन सकेको छैन।यो कारण सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीलाई बनाएको छ,’उनी भन्छन्,‘ मैले मेरो समर्थन फिर्ता लिन्छु भनेको दिन माओवादी पार्टी पाटीजस्तो देखिन्थ्यो । प्रचण्ड जी प्रचण्ड जी जस्तो देखिनुहुन्थ्यो।’ 

उनी समर्थन फिर्ता लिँदा चुनावमा जान्छ कि ओली सरकार, फिर्ता लिएपछि जसपाको नेतृत्वमा सरकार बनाउँछ कि भन्ने त्रासमा बस्दा ऊसँग भएको सम्भावना पनि सकिएको बताँउछन। 

‘राजनीति गर्नेले यति रिस्क के उठाउनु पर्छ भने ओलीको विकल्पको सरकार खोज्ने हो भने समर्थन फिर्ता लिनुपर्छ उसलाई अपाङ्ग बनाउन सक्नुपर्छ । उसलाई सपाङ्ग बनाएर विकल्प बन्नै सक्दैन नि!’ आचार्य भन्छन्।  

प्रधानमन्त्रीलाई विकल्पै विकल्प 

राजनीतिक खिचातानको सबै रूपबाट फाइदा भने प्रधानमन्त्री ओली मात्रलाई पुगेको देखिन्छ। यस्तो अवस्थामा पनि प्रधानमन्त्रीसँग थुप्रै विकल्प छन्। ‘जसपा फुटेको अवस्थामा सानो जसपाको समूहले समर्थन गर्दा पनि सरकार टिक्छ। 

एमालेका  लागि भन्दा पनि उहाँ (प्रधानमन्त्री) को लागि मात्रै छ,’ राजनीतिक विश्लेषक आचार्यको विश्लेषण छ,‘अल्पमतकै सरकारको नेतृत्व गर्न पनि ओलीलाई अप्ठ्यारो छैन। संसद् विघटन गरेर फेरी चुनावमा जाने विकल्प पनि ओलीसामु खुल्ला छ।’ 

एमाले भन्दा पनि ओलीको अहिलेको अवस्था कम्फर्टेवल अवस्थामा रहको उनको बुझाइ छ। संसद् भित्र शक्तिशाली पार्टीको रूपमा रहेको एमालेलाई संसदीय अभ्यासमा पनि संसद्को ठुलो दल भएकाले सरकारमा बसिरहन समस्या छैन। 

तर, प्रधानमन्त्रीको विकल्प सरकार निर्माण र सरकारको नेतृत्व निर्माण गर्ने कदम भने धेरै रूपबाट सुझबुझपूर्ण हुनु आवश्यक रहेको आर्चायको बुझाई छ। ‘जुन कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले गर्न सकेको देखिँदैन। काँग्रेस क्लियर नै छैन। काँग्रेसले विकल्प खोजेको हो कि काँग्रेसले आफ्नो नेतृत्वमा सरकार? काँग्रेस नेतृत्वमा सरकार बनाइने सामर्थ्य र शक्ति काङ्ग्रेससँग छैन।’ आचार्य भन्छन्।

यो अवस्थामा अरू पार्टीले काङ्ग्रेसकै नेतृत्वमा हुनुपर्छ भनेको अवस्थामा मात्र सहज हुने उनको बुझाई छ। ‘शेर बहादुर कै नेतृत्वमा भनेर काँग्रेसले अरू विकल्प नै बन्द गरिदिएपछि अरूलाई खाए खा नखाए घिचको अवस्था छ। त्यसैको रियाक्सन जसपाबाट आइरहेको छ,’ विश्लेषक आचार्य भन्छन्। 

महन्थ नेतृत्वमा सरकारको सम्भावना? 

यसअघि जसपा नेता महन्त ठाकुर नेतृत्वमा सरकार गठन गरेर भए पनि ओली सरकार विघटन गर्ने चर्चा थियो। तर, काँग्रेसको निर्णयसँगै यो सम्भावना लगभग सकिएको छ। 

नेपाली कांग्रेस,जसपा एक ढिका हुन सके एमाले बाहेकको सरकार बन्ने सम्भावना पनि छ। तर, यसका लागि तीन वटा शक्ति नमिली सम्भावना छैन। यसमा महन्त नेतृत्वको जिरो त होइन ज्यादै कम देखिन्छ। 

विश्लेषकहरू अव यो सम्भावना जसपा महन्थलाई नेतृत्व दिएर पनि सरकार भत्काउने पक्षमा कांग्रेस,माओवादी र जसपा गएको अवस्थामा मात्र सम्भव देख्छन्। 

तर, शेरबहादुर देउवा अरूलाई प्रधानमन्त्री बनाएर आफू बाहिर बस्ने अवस्थामा देखिँदैनन्। माओवादी केन्द्र भने जुनसुकै हालतमा ओली सरकारलाई ढाल्न चाहन्छ। उ महन्त नेतृत्वमा सरकार गठनका लागि समर्थन गर्न तयारी अवस्थामा छ। 

काँग्रेसमा शेरबहादुर आफ्नै नेतृत्व चाहन्छन्। रामचन्द्र पौडेलहरू जुनसुकै हालतमा पनि ओली सरकार ढाल्नुपर्छ भन्ने मान्यतामा छन्। विश्लेषक श्रेष्ठ यो अवस्थामा यसको सम्भावना न्यून देख्छन्। तर, सम्भावना नै सकिएको भने उनलाई लाग्दैन। 

जसपाको एउटा पक्ष अलमलमा देखिन्छ। महन्थकै नेतृत्वमा त के होला उपेन्द्र यादव या बाबुराम भट्टराईलाई पनि यो अवस्थामा प्रधानमन्त्रीको रूपमा अगाडि सार्न सकिने सम्भावना देख्छन् उनी। 

सरकार गठनमा एमालेकै माधव नेपाल पक्षको भूमिका पनि महत्त्वपूर्ण हुन जान्छ। ‘नेपाल पक्षले फ्लोर क्रस गरेर गएको अवस्थामा सरकारको सम्भावना यसै हुन्छ भन्न सकिँदैन।’ विश्लेषक श्रेष्ठ भन्छन्।

२३ चैत, २०७७, २१:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।