जेठ–असारमा कोरोना सङ्क्रमण उच्च हुनसक्ने स्वास्थ्य मन्त्रीको आङ्कलन

जेठ–असारमा कोरोना सङ्क्रमण उच्च हुनसक्ने स्वास्थ्य मन्त्रीको आङ्कलन

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ह्दयश त्रिपाठीले आगामी जेठ–असारमा कोरोनाभाइरसको सङ्क्रमण दर उच्च विन्दुमा पुग्न सक्ने आङ्कलन सार्वजनिक गरेका छन्। आइतबार संसद् बैठकलाई सम्बोधन गर्दै उनले पछिल्ला दिनमा सङ्क्रमण बढ्न थालेको तर अवस्था आत्ती हाल्नुपर्ने नरहेको दाबी गरे।

उनले कोरोना भाइरस सङ्क्रमण दर उच्च विन्दुमा पुग्नबाट रोक्न स्वास्थ्य मापदण्ड पालनालाई प्रभावकारी बनाउनुपर्ने नभए जेठमा सङ्क्रमण दर उच्च हुनसक्ने उनले बताए। 

कात्तिक महिनामा कोरोना भाइरसको सङ्क्रमण उच्च दरमा पुगेको थियो। माघमा आएर न्यून दरमा पुगेको सङ्क्रमण अहिले बढ्न थालेको छ। सोमबार मात्रै कोरोना भाइरस सङ्क्रमणबाट चार जनाको ज्यान गइसकेको छ। 

कोरोना खर्चको श्वेतपत्र आउने

संसद् बैठकमा मन्त्री त्रिपाठीले कोरोना भाइरस नियन्त्रणमा भएको सरकारी खर्चको श्वेत पत्र जारी गर्ने प्रतिबद्धता जनाएका थिए। उनका अनुसार अहिलेसम्म करिब १८ लाख नागरिकले कोरोना भाइरस विरुद्धको पहिलो खेपको खोप लगाइसकेका छन्। असारसम्म ६० लाखले खोप लगाउन सक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै उनले खोपका लागि ४८ अर्ब बजेट सुरक्षित रहेको बताए।

२३ चैत, २०७७, १७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।