वीर अस्पतालमा भएको एउटा सिटी पनि थन्कियो

वीर अस्पतालमा भएको एउटा सिटी पनि थन्कियो

काठमाडौँ : वीर अस्पतालमा रहेको सिटी मेसिन समयमा मर्मत नगर्दा एउटा  भएको मेसिन पनि थन्किएको छ। सिटी मेसिनको पङ्खा (फ्यान) मा समस्या आएपछि मेसिन थन्काएर कर्मचारी हाइँ काढेर बसेका छन्।

सिटी स्क्यान गर्न आएका बिरामीलाई उनीहरूले‘ मेसिन बिग्रिएको छ’ भन्दै अन्य अस्पताल पठाइरहेका छन्। 

अस्पताल अधिकारी सिटी मेसिन बन्न नसक्नुको कारण सिटी बनाउन कम्पनीलाई अनुमति पत्र नदिएकाले ढिला भएको आलटाले जवाफ दिने गरेका छन्। अस्पतालकी खरिद एकाइ प्रमुख भगवती थपलिया एयरपोर्टमा सामान आइसकेकाले १-२ सिटी बन्ने दाबी गरिन्।

उनले कम्पनीले करिब ८ लाखमा सिटी मेसिन बनाउने भनेको तर, कागजी प्रक्रिया पुग्न बाँकी रहेकाले मर्मतमा ढिलाइ भएको दाबी गरिन्।

यही विषयमा अस्पतालको लेखा शाखामा जिज्ञासा राख्दा एक कर्मचारीले कागजी प्रक्रिया मिली नसकेको बताए। 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उपकुलपति प्रा. डा. डीएन शाहलाई सिटीको सामग्री एयरपोर्टमा आइसकेको सुनियो बनाउन किन ढिलाइ भनेर जिज्ञासा राख्दा उनले उल्टो प्रतिप्रश्न गरे,‘एयरपोर्टमा सामान आएको भनेर कसले भन्नुभयो? मलाई थाहा छैन। बुझेर खबर गर्छु।’ 

१३ दिनदेखि सेवा ठप्प

अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्माका अनुसार सिटीको पङ्खाले काम नगरेपछि १३ दिनबाट मेशिन चलेको छैन। डा. शर्माले उकेरासँग भने,‘सिटी चल्दाचल्दै पङ्खाको आवाज आयो। पङ्खाले काम गरेको रहेनछ।’ 

जानकार स्रोतका अनुसार मेसिन थन्किनु अगाडि नै फागुन २० मा रेडियोलोजी विभागका कर्मचारीले मेशिनमा समस्या देखिएको भन्दै व्यवस्थापनलाई मर्मतका लागि अनुरोध गरेका थिए।

तर उनीहरूले मर्मतमा चासै दिएनन्। पङ्खाले काम नगरेपछि मेसिन थन्कियो। तै पनि उनीहरूले मर्मतमा चासो राखेको देखिएन।

डा. शर्माले राष्ट्रिय ट्रमा सेन्टरको सिटी बिग्रिएको समयमा ट्रमाका बिरामीको पनि वीर अस्पतालमा नै सिटी गर्दा सिटीलाई बढी भार परी आवाज आउन थालेको दाबी गरे।

उनले भने,‘आवाज आएको २-३ दिन पनि चलायौँ।’ 

एक महिनाभन्दा बढी बिग्रेको ट्रमाको सिटी अहिले बनिसकेको छ।

आवाज बढ्दै गएपछि कम्प निले पङ्खा फेर्नपर्छ भन्ने सल्लाह दिएकोले थप बिग्रन नदिन सिटी गर्न रोकिएको शर्माले बताए।

डा. शर्माका अनुसार करिब अढाई वर्ष अघि किनिएको यो सिटी पहिलोपल्ट बिग्रिएको हो। यसअघि केही सामान्य समस्या भने निम्तन्थ्यो। मेशिनको वारेन्टीको समय पनि सकिएको उनले बताए। डा. शर्माले भने,‘वारेन्टी २ वर्षको हुन्छ। वारेन्टी सकिसकेको थियो।’ 

यो सिटी मेशिनले दैनिक ५० जना हाराहारी बिरामीको सिटी स्क्यान हुने गरेको थियो। सिटी सेवा नहुँदा बिरामी त अन्यत्र जानुपर्ने बाध्यता छ नै दैनिक करिब १÷डेढ लाख कमाई पनि गुमेको छ। 

वीर अस्पतालमा सिटी स्क्यान गर्दा शरीरका अङ्ग अनुसार २५ सयदेखि ७-८ हजारसम्म शुल्क तिर्नुपर्ने डा.शर्मा बताउँछन्। तर, निजी क्षेत्रमा यो भन्दा महँगो पर्छ। 

शर्माले एक हप्ताअघि उकेरासँग अस्पतालको व्यवस्थापनले २÷३ दिनमा नै सिटी बनाउन सामान अर्डर गरिदिएको दाबी गरेका थिए। उनले भनेका थिए,‘यसचोटी माथिले (व्यवस्थापनले) पनि यस्तो फास्ट काम गर्दियो की, हामीलाई २÷३ दिनमा नै सामान अर्डर गर्दियो।’

विश्व बजारमा साढे २ लाखमा बन्न सक्ने मेसिन ८ लाखमा मर्मत गराउने प्रयास भइरहेको स्रोतको दाबी छ।

वीर अस्पतालमा मेमोग्राम, एक्स-रे, सी आम, फाइबर स्क्यान, सिट स्क्यान, इन्डोस्कोपी लगायतका मेशिन बिग्रिएका छन्। अहिलेसम्म ती उपकरण बनाउन व्यवस्थापनले चासो दिएको छैन।

अस्पताल स्रोतका अनुसार कर्मचारीले बिग्रिएका मेसिन तत्काल बनाउन माग गर्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उपकुलपति, स्वास्थ्य मन्त्री र मन्त्रालयमा ज्ञापन पत्र समेत बुझाएका छन्।

 

२३ चैत, २०७७, १६:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।