‘ईश्वरका सन्तान हौँ, ईश्वरले भोकै त नमार्लान् नि’ 

‘ईश्वरका सन्तान हौँ, ईश्वरले भोकै त नमार्लान् नि’ 
तस्बिर : कृष्पा श्रेष्ठ।

भारतको दिल्ली, हैदरावाद, राजस्थान जस्ता ठुला–साना सहरमा कयौँ रङ्गिन जरी भरेर पनि रङ्गिन नसकेको ६५ वर्षीय शेख सवीरको सपना २५ वटा बकर इदपछि भारतबाट महोत्तरी फर्किएसँगै रङियो। कुनै बेला छोरी–छोरी भएका कारण समाजमा अपहेलित महसुस गरेका सवीरको रङ्गिन मुहार देख्न उनकी श्रीमतीलाई लामो समय पर्खनुपर्यो। सवीर दम्पतीको पुकार अल्लाहले सुने। उनको छोरो जन्मियो। 

साढे दुई दशक लुगा फ्याक्ट्रीको कृत्रिम उज्यालोसँग झुमेका सवीरलाई आफ्नै देशमा काम गर्न पाए हुन्थ्यो भन्ने लाग्दो रहेछ त्यति बेला। तर छोरो जन्मिएपछि मात्र आफ्नै देशमा काम गर्छु भन्ने उनको अठोट रहेछ।

नेपाल फर्कनु र जेठो छोरो जन्मनु उनको जीवनको नयाँ मोड हुने नै भयो। 

‘सन्तान जन्मँदा हरेक पिताको जीवनमा बदलाव आउँछ। झन् मेरो त रहरको सन्तान थियो,’ सवीर विगतको खुसी सम्झन्छन्, ‘छोरो नहुँदा गाउँलेले मन दुख्ने गरी भन्थे, श्रीमती कति रुन्थी।’

रहरको छोरो, सवीरले पालनपोषणमा सकेसम्म कुनै कमी गरेनन्। 

‘मलाई मेरा बा आमाले सुखले पाले, मैले पनि सकेको सुख दिएर पाल्नुपर्छ मेरो सन्तानलाई भन्ने लाग्यो,’ उनले भने ।

गरिब परिवार भएका कारण उनलाई छोराको राम्रो पालनपोषण गर्न सहज भने थिएन। छोरो सहित पाँच सन्तानको जिम्मेवारी सविरकै काँधमा। 

परिवारमा सात जना थिए। काम नगरी भएन। उनी कामको खोजीमा काठमाडौँ आए। 

०००

छोरो जन्मिएपछि देशमै काम गर्ने सवीरको अठोट अल्लाहले सुने तर सायद अपुरो सुने। जेठो छोरो बालकैदेखि नशा सम्बन्धी रोगले ग्रस्त हुन पुग्यो। 

उनले छोरालाई अस्पताल कान्ति, टिचिङ, बनेपासम्म लगे। कतै निको भएन। सवीरका अनुसार उनको जेठो छोरा शारीरिक र मानसिक रूपले अस्वस्थ छन्।

‘डाक्टरले दिल्ली, ब्यांगलोर लैजाऊ, निको हुन्छ भन्छन्। मसँग पैसा छैन, कसरी लैजानु,’ उनले अभाव सुनाए।

सवीरलाई आफ्नै पौरखको कमाइले परिवारको जीवन धन्न मात्र होइन, छोराको उपचार गर्न पनि मन छ। त्यसैले, बिरामी छोरालाई उपचार र हेरचाह गर्न उनले साथैमा राखेका छन्।  

‘खान–लाउन जे भन्छ त्यही दिन्छु। त्यो ज्यानबाट रोग हटाउन पाए चैन हुन्थ्यो भन्छन् सवीर। कुनै दाताले उपचार गरिदिन्छन् कि भन्ने आशा पनि पालेका रहेछन् उनले। 

‘मन सफा भएका मान्छे कतै भेटिएनन्। सहयोगभन्दा आफ्नै फाइदा हेर्छन्। गरिबको लागि बिरामी छोरो भनेको हेरेर, छोएर रुनु मात्र रहेछ,’ उनी बिरक्तिए।

सविरका जेठा छोरा अब्लुल सलाम अहिले २५ वर्षका भए। उनको कम्मर मुनिको भाग प्यारालाइसिस छ। 

‘श्रीमती, छोरी गाउँमा छन्। जेठो छोरो र मसँगै बस्छौँ,’ उनले भने, ‘छोराको बिजोग हेर्ने धेरै छन्, उसलाई शान्त पार्ने कोही छैन।’

क्षेत्र पाटी मन्दिर नजिकैको पुरानो घरमा मासिक २५ सय बुझाउँछ सवीर। एक कोठा छ उनीहरूको। एक परिवार गाउँ र सहर गरी दुई ठाउँमा विभाजित छ। 

परदेशमा लामो समय बसेका सवीरलाई परिवारसँग दुःखसुखमा सँगै बस्न मन रहेछ तर सँगै बसेर चुल्हो बाल्न गाह्रो भएको उनी सुनाउँछन्।

परदेशमा बसेर पराई हुनु भन्दा परिवारसँगै बस्न नपाए पनि देशमा हुँदा परिवारसँगै छु जस्तो भने लाग्ने रहेछ उनलाई।

‘आफ्नो देशमा भएपछि आँट बेग्लै हुन्छ नि,’ सवीर भन्छन्, ‘तर आफूले मात्र देश भनेर के गर्नु? सडकमा कसैलाई हानि नगरी व्यापार गर्दा पनि पुलिसले पेटमा लात मार्छ सधैँ।’

उनलाई सडकमा व्यापार गर्दा राज्य र अरू व्यापारीले गरेको व्यवहारले निकै मन दुखेको रहेछ। 

‘बरु सिधै छातीमा गोली ठोक्नु। होइन भने गरिबको पेटमा कानुनको धाक देखाएर लात्ती नहान्नु,’ सवीरको दुखेसो छ। 

कसैलाई हानि नगर्ने ठाउँमा बस्दा पनि म जस्तै सडक व्यापारीले पर सर भनेर थर्काएको उनलाई कत्ति मन पर्दैन। भन्छन्, ‘पुलिसले कानुनको धम्की दिन्छ। मान्छे नहुने ठाउँमा गएर मैले कसरी व्यापार गर्ने? बरु मार्दिनु। गरिबले बाँच्न पाउँदैन भनेर कानुन बनाउनु।’

०००

पहिला काठमाडौँमा जरीको काम बडो दुःखले पाएका थिए उनले। अहिले उनी बच्चाको खेलौना बेच्न सडकमा बस्न त्योभन्दा बढी दुःख भएको सवीरले सुनाए। उनी विगततिर फर्किए, ‘परिवार पाल्न काठमाडौँ आएको २० वर्ष हुन आँट्यो। आज पनि पेट भर्नकै चिन्ता छ।’ 

सुरुमा काठमाडौँ आउँदा सवीर परिवारलाई रोटीको बन्दोबस्त न्युरोड, पाको गल्लीको मिसावटमा सियो र जरीसँगको सिरको सम्बन्ध पुरस्थापना पछि टर्यो। सविरले एक दशक भन्दा बढी समय न्युरोड पाको गल्लीको मिसावटमा नै बिताए। तर, ८ वर्ष अघि सविरलाई साहुले कामबाट निकाली दिए।

‘आँखाको ठुलो महत्त्व हुन्छ, हाम्रो पेसामा। आँखाले राम्रो काम नगरेपछि फिनिसिङ आउँदैन। अनि काम बिग्रियो,’ उनले भने।

साहुले अरू कामदारसँग उनको कामबारे गुनासो गर्थे। तर चुपचाप आफ्नो काम गरिरहन्थे। बरु, उल्टै साहुसँग जेठो छोराले गर्न सक्ने कुनै काम भए लगाइदिन अनुरोध गर्थे। 

‘सिप भएर के गर्नु,’ सवीर भन्छन्, ‘म पुरानो कामदार थिएँ, उमेरले नै आँखा कमजोर बनायो त मेरो के दोष,’ साहुले कामबाट निकालिदिएपछि उनलाई काठमाडौँ बसाइ निकै कष्टकर हुन थाल्यो।

जागिर छाडेपछि पनि उनी जेठो छोरोलाई लिएर निकै पटक साहुकहाँ पुगे तर कसैले केही गरेनन्। 

०००

एक दिन सवीर बिरक्तिएर दिनभर काठमाडौँको सडकमा भौँतारिए। ‘काठमाडौँ न हो, एउटा न एउटा बाँच्ने उपाय सिकाइहाल्छ,’ उनले पौरखको हाँसो हाँसे।

भएछ के भने, भौँतारिएर हिँडिरहँदा रहँदा एक तन्नेरीले बच्चाको खेल्ने सामग्री बेच्दै गरेको रवीरले देखे। एक छिन ती तन्नेरीको ग्राहक र व्यापारलाई अध्ययन गरेपछि ती तन्नेरीलाई व्यापारबारे सोधेछन्। त्यसको भोलिपल्टै दुई हजारको सामान किनेर उनले जेठो छोरोलाई इन्द्रचोकमा राखेर आफू मिसावट जाने गर्न थालेछन्।

तर, सुस्त मनस्थितिका छोरा अब्दुलले व्यापार गर्न सकेनन्। त्यसपछि सवीरले जुक्ति निकाले, सबै समानको एकै दाम। 

उनको यो जुक्तिले पनि पुरै काम गर्न सकेन। सामान त बिक्यो तर छोराले हिसाब गर्न जानेनन्। ‘छोराले हिसाब नजानेपछि मान्छेले ठग्न थाले,’ उनले भने, ‘सामान भुईँमा झर्यो भने टिप्न सक्दैनथ्यो। त्यो त्यसै खेर जान्थ्यो।’ 

आँखा झन्झन् कमजोर हुँदै गएपछि उनी कामविहीन भए। छोराले पनि काम गर्न सकेनन्। 

मिसावटमा जरी भरेको पैसाले सवीरको आठ (कान्छो छोरो सहित) जनाको परिवार धानेको थियो। 

मिसावटकै कमाइले उनले तीन छोरीको बिहे गराइसकेका थिए भने दुई भाइ छोरा र एक छोरी बिहे गर्न बाँकी नै छ।

कामविहीन भएपछि सवीरलाई सन्तानको भविष्यको चिन्ताले सतायो। 

‘जेठो छोरो अपाङ्ग छ। कान्छो पढ्न मन गर्दैन, काम पनि छैन,’ सवीर भन्छन्, ‘ईश्वरका सन्तान हौँ, ईश्वरले भोकै त नर्मालान् नि।’

०००

काम विहीन भएपछि उनले निकै सोच बिचार गरे। के काम गरेर खर्च टार्ने उनी अन्योलमा थिए। 

निकै बिचार गरेपछि उनलाई त्यही खेलौना बेच्ने सोच आयो।

‘जरी भरेको भन्दा बढी खेलौना बेचेर कमाई हुने रहेछ। त्यस पछि मैले यही काम गर्न थाले,’ उनले भने।

बुढेसकालमा शरीरले साथ नदिएपछि शरीरलाई सुहाउँदो काम पाएकोमा उनी मक्ख छन् अहिले। तर खेलौना बेचेर सन्तानलाई सुखमा राख्न सकिँदैन कि भन्ने पिर पनि छ। 

‘कान्छो छोरो पनि अचेल काठमाडौँ आएको छ। जेठोलाई त राख्नै पर्यो, उपचार गर्नुपर्छ। घरमा झर्को मान्छन्। अब, कान्छो पनि काठमाडौँमा नै बस्ने भन्छ। पढ् भनेको मान्दैन,’ उनले भने।

एक छिन मौन रहे सवीर। लामो श्वास फेरे। भने, ‘हामी त चुवासँग दोस्ती गरेर सुत्छौँ,’ उनी आफ्नै नियतिमा हाँसे।

‘जति मुसा कुदे पनि, जति सानो कोठा भए पनि सन्तान नअट्ने कोठा कहीँ हुन्छ र?,’ सवीरको मनले यस्तै भन्दो रहेछ।

१२ वर्षसम्म कुरान अध्ययन गरेका सवीरले आफ्नो कान्छा छोरालाई पनि सोही दीक्षा दिएका रहेछन्। तर छोराको मन भने अन्तै रहेछ।

‘इलम सिकाइदेऊ भन्छ। आफूले जानेको इलम ऊ गर्दैन। उसले गर्न खोजेको इलम आफू जान्दिनँ,’ बडो अन्योलमा छन् सवीर।

जेठो छोरो जन्मनु उनको जिन्दगीको सबैभन्दा ठुलो मोड हो जस्तो लाग्दो रहेछ सवीरलाई। 

जिन्दगीमा कुन बेला कस्तो मोड आउँछ थाहा नभएकाले सधैँ हाँसेरै जिउनुपर्नेमा उनको जोड छ। भन्छन्, ‘जेठो छोरो मेरो जीवनमा खुसी लिएर आयो। दुःखी पनि बनायो। उसकै कारण आज पेट पनि पालिएकै छ।’

खेलौना बेचेर काठमाडौँमा तीन पेट पाल्छन् सवीर। गाउँमा दुई पेट उनकै आसमा हुन्छन् सधैँ। ‘गाउँमा पैसा पठाइदे भन्छन्, पैसा यतै पुग्दैन। कति वर्ष भयो बकर इदमा बाख्रा नकाटेको,’ उनले भने ‘बकर इद रोटी खाएर कटाउँला, जेठो छोरोलाई निको बनाएर मर्न पाए पुग्छ।’

२३ चैत, २०७७, १३:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।