सुर्खेत : कर्णालीका मुख्यमन्त्रीको साथ छाड्दै नेपाल कम्युनिस्ट पार्टी एमाले कर्णाली प्रदेश संसदीय दलको आइतबारको बैठकले एमालेबाट सरकारमा गएका तीन मन्त्रीलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको छ ।
प्रदेश
कर्णालीमा माधव समूहले पनि छाड्यो मुख्यमन्त्रीको साथ,तीन मन्त्रीलाई राजीनामा गराउने निर्णय

‘एमालेबाट सरकारमा गएका तीन जना मन्त्रीलाई २४ घण्टाभित्र राजीनामा दिई नयाँ सरकार गठनको वातावरण बनाउन दलले निर्देशन दिएको छ,’ बैठकमा सहभागी सांसद दानसिंह परियारले भने,उक्त निर्देशनलाई तीनै जना मन्त्रीज्यूहरुले मान्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’
सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सरकारमा सहभागी छन् ।
सोमबार एमालेको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले राजीनामा दिने कुराको सङ्केत अर्का सांसद सुशील थापाले पनि दिएका छन्। संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकमा बैठकमा माधव नेपाल पक्षधरका ९ जनासहित १९ जना सांसद सहभागी थिए।
यस्तै यही चैत २४ गते दिउँसो एक बजे संसदीय दलको अर्को बैठक बस्ने सहमति भएको नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।
उनले चैत ५ गतेदेखि लागू हुने गरी सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णयमा सरकारले कुनै पनि हेरफेर नगरेकोले अविलम्ब मार्ग प्रशस्त गर्नका लागि आग्रह गरिएको बताए ।
बैठकले दलको विधान निर्माणको लागि समिति बनाएको छ । प्रमुख सचेतक गुलावजंग शाहको संयोजकत्वमा करवीर शाही र मिना रखाल सदस्य भएको कार्यदल बनाइएको हो । २४ गतेको बैठकमा समितिले विधान पेस गर्नेछ ।
२०७७ चैत २२ गते १९:५८ मा प्रकाशित