‘अनन्त’मा स्क्रिन सेयर गर्दै कर्मा र लक्ष्मी 

‘अनन्त’मा स्क्रिन सेयर गर्दै कर्मा र लक्ष्मी 

काठमाडौं : रंगमञ्च हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेका कर्मा शाक्य र लक्ष्मी बर्देवा फिल्म ‘अनन्त’मा एकसाथ अभिनय गर्दै छन्।

फिल्ममा एक–अर्कासँग स्क्रिन सेयर गर्न पाउँदा दुवै उत्साहित भएका छन्। 

अभिनेता कार्मले लक्ष्मीसँग स्क्रिन सेयर गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। ‘थिएटरदेखि नै म लक्ष्मीको प्रशंसक थिए। पछिल्लो समय उहाँले म्युजिक भिडियो र फिल्ममा पनि राम्रो काम गरिरहनुभएको छ। यो फिल्ममा सँगै काम गर्ने कुराले म उत्साहित भएको छु।’ 

अभिनेत्री लक्ष्मीले कार्मसँगै एउटै फिल्ममा काम गर्न पाउनु आफ्नो लागि बोनसजस्तै भएको प्रतिक्रिया दिइन्। 

‘यो लकडाउनको समयमा मैले कम्तीमा दस वटा जति स्क्रिप्ट पढें। कति पैसामा कुरा नमिलेर गरिनँ, कति भूमिकामा। यसको कथा र टिम मन परेर गर्ने निर्णय गरेकी थिएँ। यही फिल्ममा कार्मसँग काम गर्न पाउँदा बोनस पाएको अनुभव गरेकी छु,’ उनले भनिन्, ‘किनकी उहाँसँग काम गर्ने मेरो ठूलो रहर थियो।’

उक्त फिल्मको छायांकन भक्तपुरबाट शनिबार सुरु भएको छ। 

फिल्म निर्देशक जेसन लोप्चनले शनिबार फिल्मको मुर्हत गरी छायांकन थालिएकाे जानकारी दिए। फिल्मको छायांकन २० दिनमा सक्ने लक्ष्यसहित काम भइरहेकाे उनकाे भनाइ छ। लोप्चनले अस्कर फिल्म कलेजबाट स्नातक गरेका छन्।

फिल्मको कथा टाइम ट्राभलमा आधारित रहेको बताइएको छ। 

फिल्मलाई बबिन दुलालले खिचिरहेका छन्। नव विजय श्रेष्ठले निर्माण गरेको फिल्मको सहनिर्माता रन्जन ढुंगाना र शीतल खड्का छन् भने तेजबहादुर श्रेष्ठ र दीपेश राउत सहायक निर्माताको रूपमा रहने छन्। 

फिल्म किपालय प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन। 

२२ चैत, २०७७, १७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।