कवि विमला तुम्खेवाको प्रसव पीडा र खुसी : क्यान्सर भएकी सुत्केरीसँग नाम जुधेपछि…
‘आमाको मायालाई कुनै पनि शब्दले पूर्ण रुपमा परिभाषित गर्नै सक्दैन।’
केही दिनअघि कवि तथा सञ्चारकर्मी विमला तुम्खेवाले आफ्नो फेसबुक वालमा मातृत्वको अनुभूति यसरी पोखेकी थिइन्।
साहित्य रचना र साहित्य पत्रकारितामा व्यस्त विमला पाँच वर्षकी छोरी योञ्जनकी आमा हुन्। मातृत्वको बेजोड भावना र प्रसव बेलाका पीडासँग मिसिएका खुसीहरु पनि उत्तिकै छन् उनीसँग। प्रसव अवस्थाको सेरोफेरोमा रहेर विमलाले उकेरासँग आफ्ना अनुभव यसरी पोखिन्ः
म लिम्बु परिवारमा जन्में। १५ वर्षकै उमेरमा मैले बुबा गुमाएँ। त्यसपछि हाम्रो संसारमा म र आमा मात्रै थियौं।
समय क्रममा मेरो विहे भक्तपुरको लामा परिवारका बुदबहादुर थिङसँग भयो। मलाई बच्चा पाउने रहर कहिल्यै थिएन। विहे भने एउटा साथी चाहिन्छ भन्ने सोचले गरेकी हुँ। मलाई लाग्थ्यो, जीवनमा एक जना दुःखसुखको साथी त चाहिन्छ।
लिम्बु संस्कृति अनुसार १२० किलोको सुँगुर लगेर पाँच दिन पाँच रात लामो विहे गरेका हौं हामीले। मेरो जस्तै सोच थियो, मेरो श्रीमानको पनि। हामी छोराछोरी जन्माउनुपर्छ भन्ने सोचभन्दा फरक सोचमा थियौं।
त्यतिबेला म सोच्थें, पृथ्वीमा अर्को एक जना मानिस जन्माएर के हुन्छ? बरु जे–जति सम्पत्ति छ, ट्रस्टमा राखिदिन्छु। नगरकोटको पुर्ख्यौली जग्गामा आश्रम बनाएर शान्तसँग बस्छु, ध्यान गर्छु र साहित्यका नयाँनयाँ कृतिहरु निकाल्छु।
विहे हुँदा म महिनावारी भएको अवस्थामा थिएँ। विहेको केही महिनापछि मलाई टाउको दुख्ने, रिंगटा लाग्ने, अप्ठ्यारो महसुस हुन थाल्यो। म त कहिले बिरामी नै नहुने मान्छे, अनायास के भएको होला? मनमा एक प्रकारको डर लाग्यो। हामी दम्पती पाटन अस्पताल गयौं। भिडियो एक्स–रे गर्दा मेरो पेटमा त बच्चाले श्वास फेरिरहेको देख्यौं।
हामीले बच्चाको बारेमा साचेकै थिएनौं। यो त नसोचेको अनुपम उपहार नै हो भन्ने लाग्यो। मेरो जीवनमै यति धेरै करुणा पहिलो पटक महसुस भयो। यस्तो हृदयलाई कसरी मार्ने? बोट–बिरुवा, जनावरलाई त कति माया गर्छु। यो त मेरै शरीरभित्र विकास हुँदैछ।
गर्भवती अवस्थामा मेरो दैनिकीमै उथलपुथल भयो। ६ महिनासम्म केही खानै सकिनँ। एकतिर खानेकुरा, अर्कातिर भोमिट गर्ने भाँडो राख्नुपर्ने। ओहो! त्यो समय निकै कष्टपूर्ण थियो। अहिले सम्झिँदा पनि जिउ नै सिरिङ्ग हुन्छ।
पहिलेदेखि म शान्त रहन रुचाउँथें। त्यसमा पनि गर्भवती भएपछि त कसैको स्वरै सुन्न मन नलाग्ने भयो। मलाई फूलहरु फुलेको बगैंचामा घुम्न सारै मनपर्थ्यो। त्यसबेला म घन्टौंसम्म कमलादीमा फुल बेच्ने पसलहरु अगाडि बस्थें। फुलको सुन्दरता र बासना नै गज्जब।
घरमा अटोबायोग्राफी पुस्तकहरु खुब पढें। मेडिटेसन र क्लासिकल संगीत सुनेरै रातहरु कटाउँथें। त्यसबेला मेरा श्रीमानले मलाई धेरै नै स्याहार गर्नुभयो। रातभरि सुत्नै नसक्ने। पेट धेरै ठूलो थियो, कोल्टो फेर्न नसक्ने, बसेरै धेरै रात बिताएँ। पेटमै बच्चा स्वस्थ हुनुपर्छ भनेर सक्दो ख्याल गरें।
पाटन अस्पतालमा चीनबाट आएका गाइनोकोलोजिस्ट डा. उर्फ थिए। उनी राम्रो डाक्टरको रुपमा कहलिएका थिए। तर डेलिभरी हुने केही समयअघि डा. उर्फले राजीनामा दिएका रहेछन्। एउटा डाक्टरले हेरेको बिरामीलाई अर्काले त्यति हेर्दैनन् भन्ने मैले सुनेको थिएँ। लौ बर्बाद भो, अब मलाई कसले हेर्ला भन्ने तनावमा थिएँ। त्यहीँको एक जना भाइले दुई हप्ता मात्रै बाँकी छ, यतै आउनू, राम्रा डाक्टरहरु छन्, डराउनु पर्दैन भनेपछि मन केही हलुका भयो।
डाक्टरले दिएकै समयतिर ब्यथा लाग्यो। बिहान ७ बजे श्रीमानले अस्पताल लिएर जानुभयो। बेडमा सुतिरहेको थिएँ। जो आउँथ्यो, मान्छे कलिलै देखिन्छ, तर उमेर चाहिँ खाको रहेछ भनेर जान्थे।
नानी जन्मिँदा म ३८ वर्षकी थिएँ। धेरैले ढिलो बच्चा जन्माउँदा बच्चामा विभिन्न शारीरिक र मानसिक समस्या आउँछ, आमाको ज्यानमा पनि खतरा हुनसक्छ भन्ने सुनेको थिएँ। त्यही कारण बच्चा नजन्मेसम्म म तनावमा थिएँ। मलाई डा. पद्माले हेरेकी थिइन्।
दिउँसोको १ बजे नर्मल डेलिभरी भयो। छोरी यति राम्री थिई कि, के बयान गर्नु? आँखा पनि टिलिटिली टल्केका। जब मैले छोरीलाई छातीमा बेरें, सच्चा माया के हो त्यतिखेर महसुस गरें। मातृत्वको अगाडि अरु माया त सबै फिक्का-फिक्का।
सालनाल काटेर नर्मल बेडमा लैजान लाग्दा म अचानक लल्याकलुलुक भएँ। कुलो बग्या जस्तै रगत बग्न थाल्यो। म बेहोस हौंला भनेर डाक्टर, नर्स आएर होसमा राख्न प्रयास गरिरहे। त्यति बेला म कालो–निलो भइसकेको रहेछु।
धेरै रगत बगिरहेकोले तत्काल इमर्जेन्सीमा लगियो। सुत्केरीमा धेरै रक्तश्राव भयो भने मृत्यु समेत हुनसक्ने रहेछ। एक बजे छोरी जन्माएको थिएँ, साढे एक बजे अप्रेसन थिएटर लगेर ब्लिडिङ रोक्न अप्रेसन नै गर्नुपर्यो।
आइसियुमा बस्दा मैले आफ्नै आँखा अगाडि अत्यधिक रक्तश्राव भएर मान्छे मरेको देखें। आइसियुमा ठाउँ सानो थियो, बेडहरु जोडिएका जस्तै थिए। लासको खुट्टाले मेरो टाउको छोएको थियो। त्यतिबेला म आत्तिएको थिएँ। दुई दिन म डरैडरमा त्यही बेडमा बसें।
मलाई नर्मल बेडमा सारियो। बल्ल छोरीलाई राम्ररी हेर्ने मौका पाएँ। मेरी छोरी लुरुक्क परेर तातो ब्ल्याङकेटमा सुतिरहेकी थिइन्। इन्फेक्सन होला भनेर छोरीलाई मसँगै राखिएन। आमा र श्रीमान् मलाई सकुशल देखेर निकै खुसी हुनुभयो। चार दिनपछि घर आइयो।
बच्चा पाएपछि आमाको बच्चाप्रतिको मोह अचम्मको हुँदोरहेछ। एकछिन आँखाबाट टाढा राख्न मन नलाग्ने, छोइरहुँ, हेरिरहुँ जस्तो लाग्ने। घर आए पनि १५ दिनपछि आउने रिपोर्ट आउन बाँकी नै थियो। रिपोर्टमा के होला भन्ने डर परिवारमा थियो।
१५ दिनपछि घरमा डा. पद्मा आफैंले फोन गरिन्। रिपोर्टको लागि हस्पिटलमा बोलाइएको थियो। डा. आफैंले फोन गरेकोले कताकता मनमा चिसो पसेको थियो।
त्यतिबेला मेरो श्रीमान् अफिसमा हुनुहुन्थ्यो। रिपोर्ट लिन बोलाउनुभएको छ, म जान लागेको भनेर खबर गरें। उहाँले मलाई एक्लै जान दिनुभएन। हामीसँगै अस्पताल गयौं।
अस्पताल गएपछि झन् डर लाग्यो। बिहानदेखि गएको, कसैले वास्तै गर्दैनन्। कोही केही बोल्दैनन्। साँझको ४ बजिबक्यो रिपोर्टको अत्तोपत्तो थिएन।
कुनै ठूलै समस्या भएर रिपोर्ट दिन ढिला गरे कि भनेर म डराइरहेको थिएँ। बुझ्दै जाँदा थाहा भयो, विमला नाम गएकी बिरामीलाई क्यान्सर भएको कारणले रिपोर्टमा ढिलाइ भएको हो।
म छागाँबाट खसेजस्तो भएँ। 'ल खत्तम भयो, बर्बाद भयो। अब मेरी छोरीलाई कसले हेर्छ,' मेरो मन त्यतातिर गयो। म आफैंलाई क्यान्सर भयो भनेर म भित्रभित्र आत्तिएको थिएँ।
भएको के रहेछ भने, मसँगै भर्ना भएकी विमला नै नाम भएकी अर्की सुत्केरीलाई क्यान्सर भएको रिपोर्ट आएछ। डाक्टर-नर्सहरु कुन चाहिँ विमला हो भनेर रिपोर्ट भेरिफिकेसन गर्न थालेछन्। त्यही कारणले मलाई दिनभरि रिपोर्ट नदिई राखिएको रहेछ। नाम जुध्नाले मैले निकै ठूलो तनाव व्यहोर्नुपर्यो।
आफूलाई कुनै समस्या नभएकोमा म खुसी भएँ तर मेरै नामकी अर्की सुत्केरी आमालाई सम्झेर भने रुन मन लाग्यो। मातृत्वले मलाई सारै कमजोर बनायो।
म १३ वर्षकै उमेरमा बुबाको लास जलाएको मान्छे। अहिले कति महिलाले लास जलाएको, केस मुण्डन गराएका समाचार सुन्छु। त्यो त मैले ३ दशकअघि नै गरिसकेको थिएँ। धेरै दुःख आफैंले भोगेको हुनाले मेरो मन त्यति कमजोर छैन। तर आमा भएपछि मान्छेको सोच, भावना पूरै बदलिने रहेछ।
बच्चा पाएको केही महिना त मलाई झिँझो–झर्को पनि लाग्यो। एक्लै बस्ने बानी, हल्ला मन नपर्ने। छोरी दिनभरि सुत्ने, रातभरि आँखा खोलिरहने गर्थिन्। सधैं यस्तै भइरहेपछि डाक्टरलाई देखाउन पनि लगें। डाक्डरले बच्चाहरु यस्तै हुन्छन्, सामान्य हो भनेर फिर्ता पठाइदिन्थे।
पहिले बच्चा खासै मन नपर्ने मलाई अहिले बाटोमा कोही बच्चा रोएको देख्दा पनि मन चसक्क दुख्छ। प्रकृतिले पुरुषलाई कति ठगेको छ, वास्तविक माया नै भोग्न पाउँदैनन्।
सृष्टिले हामीलाई आफूजस्तै मान्छे जन्माउन सक्ने कति ठूलो बरदान दिएको छ। त्यसैले म आफूलाई भाग्यमानी ठान्छु।
कुनै सम्बन्धसँग तुलना गर्नै नसकिने प्रेम हो मातृत्व। मैले ९ महिनाको पीडालाई नानीको एक मुस्कानले विस्थापित गरिदिएँ। म सबै आमाप्रति नमन गर्न चाहन्छु, जसले प्रसवका थुप्रै पीडा भोग्दै सुन्दर सिर्जनालाई संसारमा ल्याउँछन्। त्योभन्दा ठूलो खुसी अरु के हुनसक्छ र?
चैत २२, २०७७ आइतबार १३:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।