एंकर न्युज

अन्योलबीच खरिदारको विज्ञापन खुलाउँदै लोकसेवा

केशवप्रसाद पाण्डे


काठमाडौं : लोकसेवा आयोगले खरिदार तहको विज्ञापन आह्वान गर्ने भएको छ।

पदाधिकारीविहीन भएपछि अन्योलको अवस्थामा रहेको आयोगले वार्षिक कार्यतालिका अनुसार चैतको अन्तिम बुधबार खरदार (प्राविधिक) तर्फका दुई वटा विज्ञापनमा दरखास्त आह्वान गर्ने भएको हो।

यी विज्ञापन आयोगले यस वर्षका लागि तय गरेको खुलातर्फका अन्तिम हुन्।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार पदाधिकारीविहीन अवस्थामा विज्ञापन आह्वान गर्ने–नगर्ने भन्ने अन्योललाई चिर्दै आयोगले बुधबार विज्ञापन आह्वान गर्ने निर्णय गरेको हो।

‘वार्षिक कार्यतालिका पहिला नै स्वीकृत भइसकेको हुनाले आयोगले छलफलपछि विज्ञापन खुलाउने निर्णय गरेको छ,’ सूचना अधिकारी सुवेदीले उकेरासँग भने।

आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यतालिका अनुसार चैत २५ गते महिनाको अन्तिम बुधबार राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाको चौथो तह, (राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) तर्फको विज्ञापनको कार्यतालिका तय गरेको थियो।

चैत ११ बाट आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली सहित पाँच पदाधिकारीको पदावधि सकिएको थियो। पदाधिकारी अभावमा भर्ना आह्वान गर्ने बिषयमा अन्योल देखिएको थियो। नयाँ पदाधिकारी आइनसकेको अवस्थामा विज्ञापन आह्वान गर्न मिल्ने–नमिल्नेबारे आन्तरिक रुपमा लामो छलफल गरेर यस्तो निर्णय लिइएको हो।

सूचना अधिकारी सुवेदी आयोगका पदाधिकारीको अनुपस्थितिमा आयोगका अधिकांश कामकारबाही ठप्प रहेको बताउँछन्। पदाधिकारीको अधिकार अन्यमा प्रत्यायोजन हुने व्यवस्था नरहेकाले पदाधिकारीको अनुपस्थितिमा आयोगका काम प्रभावित बनेका हुन्।

कार्यतालिका अनुसार यी पदहरुको विज्ञापन चैत अन्तिम साता, जेठमा परीक्षा सञ्चालन, असारमा नतिजा प्रकाशन र साउनमा अन्तर्वार्ता र सिफारिसको हुनु पर्नेछ। कति संख्यामा विज्ञापन खुलाउने भन्ने विषयमा भने छलफलकै क्रममा रहेको आयोगको भनाइ छ।

विज्ञापन आह्वान भए पनि पदाधिकारी नियुक्ति नभएको अवस्थामा जेठमा परीक्षा सञ्चालन हुनेबारे भने अझै अन्योल नै छ।

संवैधानिक निकायमा पदाधिकारी रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषदबाट नियुक्ति सिफारिस हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। तर राजनीतिक खिचातानीका कारण प्रधानमन्त्रीको अध्यक्षतामा बस्नुपर्ने संवैधानिक परिषद्को बैठक बस्न नसक्दा पदाधिकारी सिफारिस हुन सकेको छैन। जसकारण आगामी वर्षको कार्यतालिका समेत प्रभावित हुनसक्ने आयोगका अधिकारीहरु बताउँछन्।

पदाधिकारी रिक्त भएपछि आयोगका १७८ परीक्षा प्रभावित बनेका छन्। त्यस्तै ३४ विज्ञापनको नतिजा प्रकाशन हुन सकेको छैन भने सेना, प्रहरी सहित १६ निकायका परीक्षामा अन्योल देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

विद्यालयको सटरमा वडा अध्यक्षको छोराको रक्सी पसल

विद्यालयले व्यापारिक प्रयोजनका लागि परिसरमै ६ वटा सटर बनाएर भाडामा दिएको छ। त्यही सटरहरूमध्ये एक सटर हो ‘जे एस लिक्वेयर्स्’ को। अनि त्यसका सञ्चालक हुन्....

पार्टी फुट्ने डरले मन्त्री छान्न सकेन जसपाले, राजकिशोरले नयाँ दल खोल्ने भयमा यादव 

उनले भनेको अध्यादेश हो राजनीतिक दल सम्बन्धी, जसको आधारमा जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बन्यो। त्यसकै आधारमा एमाले फुटाएर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी....

नेपाली कांग्रेसको महाधिवेशन : आफ्नै गुटका आकांक्षीका कारण सकसमा रामचन्द्र पौडेल

अघिल्लो महाधिवेशनका घाइते पौडेल सबैलाई मनाएर एक पटक पुनः नेतृत्वका लागि मैदानमा जान चाहन्छन्। तर, आफ्नो समूह भित्रका आकांक्षी व्यवस्थापन गर्न नसक्दा अन्तिममा उनले मैदान....

चोर पुजिने चाड ‘चथाः’

कला–संस्कृतिमा वैभवशाली नेवार समुदायले महिनामा २/३ वटा पर्व मनाएकै हुन्छ। त्यसमध्ये चथाः अलि विशेष छ। चथाः दसैँसँग जोडिएर आउँछ। नेवारहरूले चथाः जति राम्रोसँग मनायो, दसैँ....

कम्पनीले कागजात नबनाइदिँदा साउदीमा ४० नेपाली कामदार अलपत्र

काठमाडौं : बर्दियाका गजेन्द्र भण्डारी रोजगारीको लागि साउदी अरब गएको साढे ३ वर्ष भयो। कोरोना महामारीका कारण पाँच महिनाअघि नै रोजगारी गुमाएका भण्डारी स्वेदेश फर्कन भने....