यती एयरलाइन्सको यात्रामा छुट सुविधा

यती एयरलाइन्सको यात्रामा छुट सुविधा

काठमाडौँ : यती एयरलाइन्सले आफ्नो वायुयान मार्फत यात्रा गर्ने यात्रुलाई बोर्डिङ पासमार्फत थप सहुलियत दिने भएको छ।

यती एयरलाइन्सको वायुयानमा यात्रा गर्ने यात्रुलाई नेपालको लोकप्रिय ई–कमर्स ग्यापुसँगको सहकार्यमा यो सुविधा उपलब्ध गराउने यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए। 

उनका अनुसार जुनसुकै मूल्यको टिकट खरिद गरी यती एयरलाइन्स मार्फत यात्रा गर्ने प्रत्येक यात्रुले ५ सय रुपैयाँ मूल्य बराबरको छुट सुविधा प्राप्त गर्नेछन्। 

एयरलाइन्समा यात्रा गरिसकेपछि ग्यापु अनलाइन मार्फत सामान खरिद गर्दा २ सय रुपैयाँको सपिङ भौचर र एक्सेलट्रिपको रिजर्भेसनमा ३ सय रुपैयाँको ट्राभल भौचर गरी जम्मा ५ सय रुपैयाँ बराबरको सहुलियत दिने यती एयरलाइन्सले जनाएको छ। 

एयरलाइन्सका अनुसार यो सहुलियत लिएर समान खरिद गर्नेहरूमध्ये प्रत्येक दिन एकजनाले ग्यापुको तर्फबाट थप उपहार समेत प्राप्त गर्नेछन्। यो सहुलियत अप्रिल १ देखि नै यती एयरलाइन्स मार्फत यात्रा गर्ने यात्रुहरूले पाउनेछन्। 

भविष्यमा पनि आफ्ना यात्रुहरूलाई प्रत्यक्ष लाभ हुने यस्तै किसिमका कार्यक्रमहरू ल्याउने योजना रहेको प्रवक्ता बर्तौलाले जानकारी दिए।

२० चैत, २०७७, ०९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।