सुदूरपश्चिम प्रदेश : सरकार ढाल्ने कसरतमा ओली समूह, खनाल–नेपाल पक्ष ‘पर्ख र हेर’को रणनीतिमा

सुदूरपश्चिम प्रदेश : सरकार ढाल्ने कसरतमा ओली समूह, खनाल–नेपाल पक्ष ‘पर्ख र हेर’को रणनीतिमा

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन गरी आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने विषयमा छलफल गर्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले गत सोमबार दिउँसो १ बजे प्रदेश संसदीय दललाई बैठक आह्वान गर्न निर्देशन दियो। 

प्रदेश समितिको निर्देशन अनुसार प्रदेश संसदीय दलले उक्त समयमा बैठक आह्वान गर्याे। तर, बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपाल समूहका सांसद् उपस्थित भएनन्। त्यसपछि संसदीय दलले बैठक स्थगित गर्नुपर्याे। 

ओली समूहका एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले होली पर्वका कारण सांसद्ले बैठकमा आउन नसक्ने जनाएको दाबी गरे। तर, खनाल–नेपाल समूहका सांसद्ले भने बैठक बहिस्कार गरेको बताए।

यो घटनाले नेकपामा किचलो रहेको स्पष्ट देखाउँछ। ओली र खनाल–माधव समूहबीच केन्द्रमा रहेको किचलो प्रदेशमा पनि देखिन्छ। 

पार्टीभित्रको किचलोबीच ओली समूह सुदूरपश्चिम प्रदेश सरकार ढालेर आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने कसरतमा लागेको छ।

यसका लागि प्रदेश इन्चार्जसमेत रहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्ण थापा लगायतका नेता सक्रिय भएका छन्। आपूर्तिमन्त्री भट्ट सुदूरपश्चिमको धनगढी पुगेका छन्। 

प्रदेश सरकार भ्रष्ट भएका कारण सरकार परिवर्तन गर्न आवश्यक रहेकोे बताउँछन्, प्रदेश अध्यक्ष थापा। ‘सरकार परिवर्तनबारे अहिले पार्टीका सांसद्सँग छलफल चलिरहेकाले निष्कर्षमा पुगिसकेका छैनौं,’ उनले भने, ‘हामी जसरी पनि सरकार ढालेर आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउँछौं।’ 

प्रदेशसभाका एक सांसद्ले सरकार परिवर्तनबारे अन्तिम कसरत भइरहेको दाबी गरे। ‘एमालेको एकल सरकार बन्ने अवस्था छैन। सरकार बनाउन हामीलाई थप दुई सांसद् आवश्यक पर्छ। यसका लागि जनता समाजवादी पार्टी (जसपा) र नेपाली कांग्रेससँग छलफल भइरहेको छ। अबको केही दिनमा नतिजा देखिन्छ,’ ती सांसद्ले भने। 

तर, खनाल–नेपाल समूहका सांसद् तत्काल सरकार परिवर्तनको सम्भावना नरहेको बताउँछन्। 

खनाल–नेपाल समूहका प्रदेश संसदीय दलका नेतासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले पार्टीको नेतृत्वमा सरकार बनाउने विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। 

‘दलको नेता मै हुँ। प्रमुख सचेतक तारा लामा तामाङ हुनुहुन्छ। हामीले हो बैठक बोलाउने,’ उनले भने, ‘तर, अहिलेसम्म त्यो विषयमा छलफल भएको छैन।’ 

खनाल–नेपाल समूहकै प्रदेश संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले पनि सरकार परिवर्तनबारे आफूलाई जानकारी नभएको बताए। ‘तत्काल सरकार परिवर्तन हुने देख्दिनँ,’ उनले भने। 

प्रमुख सचेतक लामाले केन्द्रमा आफ्नो समूहले अख्तियार गर्ने रणनीति अनुसार प्रदेशमा रणनीति बनाउने बताए। 

प्रदेशसभामा ओली समूह कमजोर

सुदूरपश्चिम प्रदेशसभामा ओली समूह कमजोर देखिएको छ। प्रदेशसभाको ५३ सिटमध्ये एमालेका २५ सांसद् छन्, जसमा ओली समूहका ६ र खनाल–नेपाल समूहका १९ सांसद् छन्। 

त्यसमा पनि प्रदेश संसदीय दलको नेता र प्रमुख सचेतक पनि खनाल–नेपाल समूहकै छन्।

यो अवस्थामा ओली समूह संसदीय दलबाट सरकारलाई दिएको समर्थन फिर्ता गराउने निर्णय पास गर्न सक्दैन। त्यसैले ओली समूह प्रदेशको निर्देशन पालना नगर्नेलाई कारबाहीको धम्की दिइरहेको छ। 

प्रदेश अध्यक्ष थापाले सरकार ढाल्न पार्टीका सांसद् असहयोग गरे कारबाही गर्ने चेतावनी दिएका छन्। 

‘पार्टीको नीति नेतृत्व र निर्णय स्वीकार नगर्नेमाथि विधान बमोजिमको कारबाही प्रक्रिया अघि बढ्छ,’ प्रदेश अध्यक्ष थापाले भने।

दलसँग छलफल गर्न कार्यदल 

एमाले प्रदेश समितिले सरकार परिवर्तनबारे राजनीतिक दलसँग छलफल गर्न कार्यदल गठन गरेको छ। 

कार्यदलको संयोजक पार्टीको सुदूरपश्चिम प्रदेश सहइन्चार्ज महेश्वर पाठक र सदस्यहरूमा कैलाली जिल्ला अध्यक्ष रतन थापा र एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री झपट बोहरा रहेको प्रदेश अध्यक्ष थापाले जानकारी दिए। 

सरकार परिवर्तनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलसँग खुला छलफल र बहस गर्ने उनले बताए। 

१९ चैत, २०७७, १६:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।