बालिका तथा युवतीलाई फ्ल्याटमा राखेर यौन क्रियाकलापमा लगाउने गरेको खुलासा

बालिका तथा युवतीलाई फ्ल्याटमा राखेर यौन क्रियाकलापमा लगाउने गरेको खुलासा

काठमाडौं : महानगरीय प्रहरी परिसर भक्तपुरले मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीको अभियोगमा पाँच जनालाई पक्राउ गरेको जनाएको छ।

सिन्धुली घर भई काठमाडौँ गोकर्णेश्वर माकलबारी बस्ने वर्ष २४ का सरगम भन्ने श्यामकुमार भट्टराई, वर्ष १८ की मसेली भन्ने सुहाना तामाङ, जोरपाटी बस्ने वर्ष ५२ का प्रकाश ढुङ्गेल, मुना थापा मगर र काठमाडौँ गागालफेदीका राजकुमार सुनारलाई प्रहरीले पक्राउ गरेको हो।

१६ वर्षकी बालिकाका बाबुले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। सुहाना तामाङले ललाइफकाई कपडा पसलमा काम लगाई दिन्छु भनेर अभिभावक समेतलाई विश्वासमा पारी बालिकाहरुलाई लिएर जाने गरेकी थिइन्।

उनले लिएर गएका बालिकालाई कतै भाग्न, उम्किन नदिई काठमाडौँको माकलबारीमा फ्ल्याट भाडामा लिएर राख्ने र त्यहाँबाट होटेलमा पुर्याई जबरजस्ती करणी गराउन लगाउने सरगम भन्ने श्यामकुमार भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई पक्राउ गरेर फ्ल्याटको तलासी लिँदा उक्त फ्ल्याटमा युवती तथा बालिकाहरूलाई खान, बस्न, सुत्न मिल्ने गरी व्यवस्थापन गरेको, यौन सम्पर्क गर्दा आवश्यक पर्ने अस्थायी साधन समेत बरामद भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीका अनुसार उक्त स्थानमा महिलालाई सामूहिक रूपमा राखी यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा उनीहरूलाई भक्तपुर जिल्ला अदालतबाट   ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा होटेल सञ्चालक, प्रबन्धक र जबरजस्ती करणी गर्ने व्यक्तिको खोजतलास गर्दा निज बालिकालाई पाथीभरा फेमिली कटेज एन्ड खाजा घर सुन्दरीजल भन्ने होटेलमा जबरजस्ती करणी भएको खुल्न आएको प्रहरीले जनाएको छ।

होटेल सञ्चालक वर्ष ५२ को प्रकाश ढुङ्गेल र वर्ष ३१ की मुना थापा मगरलाई कानुन बमोजिम नियन्त्रणमा लिई जबरजस्ती करणी गर्ने व्यक्ति राजकुमार सुनारलाई गए राति काठमाडौँ, गागलफेदीबाट नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा सुहाना तामाङले आर्थिक अवस्था कमजोर भएका र ज्याला मजदूरी गर्ने बालिका तथा युवतीहरूलाई काठमाडौँमा कपडा पसल लगायतमा काम लगाई दिने प्रलोभनमा पारी श्यामकुमार भट्टराईको सम्पर्कमा पुर्याउने गरेको पाइएको छ।

भट्टराईले बालिका तथा युवतीहरूलाई सहरी फेसनको कपडा लगाउन दिने, खाना, बस्न सुविधाका साथै मादक पदार्थ समेतको लतमा फसाएर विद्युतीय उपकरणमार्फत बालिका तथा युवतीहरूको फोटो होटेल तथा लजका सञ्चालक तथा प्रबन्धकलाई देखाउने गरेको खुल्न आएको छ।

होटेलमा आउने ग्राहकलाई उक्त फोटोहरू होटेल सञ्चालक तथा प्रबन्धकले देखाई ग्राहकको रोजाई अनुसार भट्टराई आफैंले तथा अन्य भाडाका ट्याक्सी, पठाओ चालकमार्फत सम्बन्धित होटेलमा बालिका तथा युवतीहरूलाई पठाउने गरेका थिए।

भट्टराइले प्रारम्भिक चरणमा यौनजन्य क्रियाकलाप गर्न अनिच्छुक रहेका बालिका तथा युवतीलाई प्रलोभनमा पार्ने, सो गर्दा नमानेमा डर, धाक, धम्की दिने गरेको प्रहरीले जनाएको छ।

पीडित बालिका भट्टराई र तामाङ नभएको मौका छोपी त्यहाँबाट भागेर अभिभावकको सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

१९ चैत, २०७७, ११:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।