जहाँ बन्छन् ३० प्रकारका परौठा, सिस्नोदेखि बेबीसम्म

जहाँ बन्छन् ३० प्रकारका परौठा, सिस्नोदेखि बेबीसम्म

बुटवल : अर्जुन न्यौपानेले १६ वर्ष विदेशमा बिताए। चार वर्ष भारत र १२ वर्ष खाडी मुलुक गरी १६ वर्ष वैदेशिक रोजगारीमा बिताएका न्यौपानेलाई विदेशमा होटेलमा काम गर्ने अवसर मिल्यो।

‘खोला पनि १२ वर्षमा फर्किन्छ’ भनेजस्तै उनी १२ वर्षपछि खाडीबाट नेपाल फर्किए। उनलाई नेपाल आएपछि काम नगरी बस्न मनले मानेन। त्यसै अनुसार योजना बनाए, अनि सुरु गरे, बुटवलमा परौठा हाउस। 

बुटवलको फाइनान्स चोकमा सुरु गरेको परौठा हाउसमा उत्पादन गरिएका परौठा सुरुवाती चरणमा घरघरमै पुर्याउने व्यवस्था गरियो। होम डेलिभरी र विभिन्न चोकमा पुग्ने उनको परौठा खानेहरूको निकै घुइँचो लाग्थ्यो।

घरमै पुर्याउने व्यवस्था भएपछि सहरमा व्यस्त मानिसहरू अफिसमै परौठा मगाएर खान थाले। बुटवलको जोगिकुटीदेखि गोलपार्कसम्मको साझा नास्ता बन्यो परौठा।

आठ वर्षअघि खोलिएको परौठा हाउसले कल्पना नै नगरेको बजार पायो। अब सञ्चालकलाई माग धान्न कठिन भयो। दैनिक सयौँ परौठा र त्यसको सितन बनाउनुपर्ने थियो।

‘हामीले परौठा बनाएर विभिन्न चोकमा लैजान थालेपछि सुख्खा नगरका महिलाहरू चार बजेपछि घरअगाडि उभिनुहुन्थ्यो, हाम्रो परौठा बोक्ने साधन कुरेर,’ सञ्चालक न्यौपानेले सुनाए, ‘घरमा नास्ता पाक्नै छाडिसकेको थियो।’

पिठो र आलुबाट बनेको परौठा नौलो परिकार भने थिएन। घरमै बनाउन सकिने नास्ता बनाएपछि परौठा हाउस लोकप्रिय भयो। परौठा घर–घरमा मात्रै पुगेन सभा–समारोहको खाजा समेत त्यही बन्यो। प्याकेजिङ पौराठाले बजार पिटिरहेका बेला लगानीकर्ता टुक्रिए। अनि अहिले अर्जुन एक्लै परौठा हाउस सञ्चालक छन्।

करिब १० लाख लगानीमा खोलिएको परौठाको व्यवसायमा कोभिड महामारीपछि भने केही गिरावट आएको उनले सुनाए। ‘होटेल तथा रेस्टुरेन्टको व्यवसायमा गिरावट आएपछि हाम्रो व्यवसायमा पनि धक्का लाग्यो,’ उनले भने।

३० थरीका परौठा 

परौठा व्यवसायबाट उनले विदेशमा कमाउनेभन्दा दोब्बर आम्दानी गर्न थाले। ‘विदेशमा कमाउनेभन्दा धेरै सन्तुष्टि छ,’ उनले भने। त्यही व्यापारबाट हौसिएका न्यौपानेको परौठा हाउसमा अहिले ३० आइटमका परौठा पाइन्छ।

‘परौठाका एक सय परिकार बनाउने सोच छ, अहिले ३० आइटम पुगेका छन्,’ उनले भने। औसत मानिसले खाने परौठा आलु र पनिर मात्रै हो। उनकोमा सिस्नोको परौठा दोस्रो नम्बरमा पर्छ। स्वास्थ्यका लागि फाइदा हुने भएकाले स्वास्थ्यमा सचेत हुनेहरू सिस्नोको परौठा खान्छन्।

बुटवलको अदालत, प्रादेशिक अस्पताल, आयुर्वेद अस्पतालमा सिस्नोको परौठाका नियमित ग्राहक छन्। सय रुपैयाँमा सिस्नोको परौठा आउँछ। सबै परौठाको मूल्य न्यूनतम ४० देखि अधिकतम १०० रुपैयाँसम्म पर्छ। सिस्नोसँगै पुदिना, मेथी, सोप परौठा पनि न्यौपानेले बनाउँछन्।

परौठाका ग्राहकलाई उमेर अनुसारको परिकार खुवाउँछन् उनी। बच्चाका लागि बेबी परौठा छ। वृद्धवृद्धाका लागि चिल्लो–पिरो नहुने परौठा तयार हुन्छ। ‘हामीलाई भनिरहनु पर्दैन, उमेर अन्दाज गरेर परिकार टक्र्याउँछौं, उनी भन्छन्।

भेज र नभेज परौठाका लागि छुट्टाछुट्टै किचेन बनाइएको छ। ‘हामी सरसफाइमा निकै सचेत छौँ, गुणस्तर भयो भने ग्राहकलाई बोलाइरहनु पर्दोरहेन छ,’ उनले भने।

अहिले होम डेलिभरी भएको छैन। माग थेग्न र काम गर्ने कर्मचारी पाउन कठिन भएपछि डेलिभरी रोकिएको हो भने अर्कोतर्फ परौठाका परिकार खानका लागि रेस्टुरेन्टमै आउनेको सङ्ख्या बढेपछि बाहिर जानबाट रोकिएको छ। 

उनले आवश्यकता अनुसार क्याटरिङको सेवा पनि दिँदै आएका छन्। उनले भोजहरूमा परौठाको माग अनुसार पछिल्लो समय क्याटरिङ सेवा प्रदान गर्दै आएको उल्लेख गरे। 

उनको किचेनमा लच्छा, प्याज, लसुन, मुला, गोभी, लौका, सौफ, अदुवा, च्याउ, सिम्डा मिर्च, दाल, कोकी, सिस्नो, पालक, मेथी, केरा, चनसुर, करेला लगायतका परौठा तयार हुने गरेका छन्। उनी परौठालाई सुहाउने अनेक प्रकारका तरकारी पनि पकाउँछन्। ‘हरेक दिन फरक स्वाद ग्राहक दिने योजना छ,’ उनी भन्छन्।

वैदेशिक रोजगारी जानुभन्दा यो पेसा उत्तम रहेको उनी बताउँछन्। ‘जे काम गरे पनि एउटामा निपुण हुनुपर्छ, नत्र लक्ष्य हासिल गर्न सकिँदैन,’ उनले भने। 

परौठा बेचेरै छोराछोरीलाई उच्च शिक्षा

न्यौपानेका श्रीमती र तीन छोराछोरी छन्। श्रीमतीले परौठा हाउसमै सघाउँदै आएकी छन्। छोराछोरी भने अध्ययनमा छन्। तीन छोराछोरीमध्ये एक छोरा उच्च शिक्षाका लागि अस्ट्रेलियामा छन्। एक छोरा र एक छोरीलाई नेपालमै पढाइरहेको न्यौपानेले बताए। 

‘हामीले यति धेरै मिहिनेत गरेको यिनै छोराछोरीको भविष्यका लागि हो। यिनीहरूकै लागि १६ वर्ष विदेशमा बिताएँ। अहिले नेपालमा आएर पेसा–व्यवसाय गरेको पनि यिनीहरूकै लागि हो। विदेश बसेर काम गर्दा यति धेरै आनन्द आएको थिएन,’ उनले भने। 

कोभिड अगाडिसम्म दैनिक २५/३० हजार सम्म कमाइ हुने गर्थ्यो, अहिले भने घटेर दैनिक ८/१० हजारमा झरेको उनले बताए। यसलाई थप व्यवस्थित र विस्तारित गर्दै जाने सोचमा रहेको उनको भनाइ छ।

१९ चैत, २०७७, ०७:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।