राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्यायो कारोनाको नयाँ प्रजाति पत्ता लगाउने मेसिन

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्यायो कारोनाको नयाँ प्रजाति पत्ता लगाउने मेसिन

काठमाडौं : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कारोना भाइरसको जिन सिक्वेन्सिङ (भाइरसको रुप/नयाँ प्रजाति) पत्ता लगाउने मेसिन भित्र्याएको छ।

प्रयोगशालामा कोरोना भाइरसको जिन सिक्वेन्सिङ गर्ने मेसिन पहिलो पटक ल्याएर सञ्चालन गर्न लागिएको प्रयोगशालाकी निर्देशक डा. रुणा झाले बताइन्।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार सो मेसिन नेपाल भित्रिएको करिब एक हप्ता भयो। उनले भने, ‘एयरपोर्टमा मेसिन आएर एक हप्ताजति भयो।’

प्रयोगशालाले केही दिनमा नै मेसिन जडान गरेर सञ्चालनमा ल्याइने जनाएको छ। मेसिन राख्नका लागि संरचना तयार भइसकेकाले केही दिनभित्रै मेसिन सञ्चालनमा ल्याइने सूचना अधिकारी गुप्ताले बताए।

उनले करिब एक हप्तामा जिन सिक्वेन्सिङका लागि रसायन (केमिकल) पनि आइपुग्ने जानकारी दिए। सूचना अधिकारी गुप्ताले भने, ‘केमिकल अर्डर भइसक्यो। एक हप्ता जतिमा आउँछ।’

प्रयोगशालाकी निर्देशक डा. झा मेसिन भन्सारमा भएकाले भन्सारबाट छुटेपछि ल्याएर प्रयोग गरिने बताइन्। उनले भनिन्, ‘मेशिन भन्सारमा छ। छुटेको छैन। इन्स्टल गर्न केही टाइम लाग्छ।’

मेसिन सञ्चालनमा आएपछि कोरोनाको जिन सिक्वेन्सिङ गर्न विदेश पठाउनु नपर्ने प्रयोगशालाले जनाएको छ।

सूचना अधिकारी गुप्ताका अनुसार मेसिन सञ्चालनमा अएपछि कुन प्रजातिको कोरोना हो भन्ने पत्ता लगाउन सकिन्छ। ‘कोरोनाको जुनसुकै जिन (प्रजाति) भए पनि पत्ता लगाउन सकिन्छ,’ गुप्ताले भने, ‘स्याम्पल परीक्षण गर्न विदेश पठाउनु पर्दैन।’

नेपालमा नै परीक्षण हुन थालेपछि रिपोर्ट पनि ७२ घन्टामा आउने प्रयोगशालाले जनाएको छ।

विश्व स्वास्थ्य संगठनको सहयोगमा मेसिन भित्रिएको प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका अनुसार रसायन पनि विश्व स्वास्थ्य संगठनले नै दिने भने पनि कहिलेसम्म र कति दिने भन्ने एकिन भइसकेको छैन।

निर्देशक डा. झाले आवश्यकता अनुसार जिन सिक्वेन्सिङ गर्ने बताइन्। उनले भनिन््, ‘आवश्यकता अनुसार सर्भिलेन्सका लागि प्रयोग गरिन्छ।’

चिकित्सकका अनुसार कोरोना भाइरस संक्रमण भए–नभएको थाहा पाउन पिसिआर परीक्षण गरिन्छ। पिसिआर परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखियो तर कोरोनामा हुने एस जिन नेगेटिभ देखियो भने मात्रै नयाँ भेरियन्ट हो वा हैन भन्ने पहिचान गर्न जिन सिक्वेन्सिङ गरिन्छ। पिसिआर परीक्षण गर्दा कोरोना पनि पोजिटिभ र एस जिन पनि पोजिटिभ देखिए जिन सिक्वेन्सिङ गर्न नपर्ने गुप्ता बताउँछन्।

चिकित्सकका अनुसार पहिले कोरोना पोजिटिभ देखिँदा एस जिन पोजिटिभ नै देखिन्थ्यो। तर पछिल्लो समय कोरोनाको रुप परिवर्तन भएसँगै कोरोना भाइरस पोजिटिभ देखिए पनि एस जिन नेगेटिभ देखिन्छ। गुप्ताले भने, ‘कोरोनाको रुप परिवर्तन भएर एस जिन नै देखिँदैन।’

पछिल्लो समय कोरोना भाइरसका युके, दक्षण अफ्रिकी, ब्राजिलियन भेरियन्ट देखिएका छन्। नेपालमा पनि करिब एक सय जना जनामा युके भेरियन्ट देखिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

नयाँ प्रजातिको कोरोना भाइरसले झन् बढी जटिलता निम्तिन सक्ने भन्दै चिकित्सक सजग गराउँछन्।

१८ चैत, २०७७, १८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।