नयाँ प्रजातिको कोरोना भाइरसविरुद्ध खोपको प्रभावकारिता कति ?

नयाँ प्रजातिको कोरोना भाइरसविरुद्ध खोपको प्रभावकारिता कति ?

काठमाडौँ : गत माघ ५ गते बेलायतबाट फर्किएका तीन जनामा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रजाति युके भेरियन्टको सङ्क्रमण पुष्टि भयो। 

त्यसयता करिब सय जनामा कोरोना भाइरसको युके भेरियन्ट पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

नेपालमा कोरोना भाइरसको युके भेरियन्टको सङ्क्रमण देखिँदा दक्षिण अफ्रिकी भेरियन्ट सङ्क्रमणको आशङ्का गरिएको छ। 

केही दिनअघि दक्षिणी अफ्रिकाबाट आएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि ती व्यक्तिमा दक्षिण अफ्रिकी भेरियन्टको सङ्क्रमण भए/नभएको पहिचान गर्न विश्व स्वास्थ्य सङ्गठनको कोलाबोरेटिङ ल्याबमा नमुना पठाइएको निर्देशक डा. पौडेलले जानकारी दिए।  

नेपालमा कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण देखिँदै गर्दा अहिले प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप कति प्रभावकारी हुन्छ? 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतम अहिले नेपालमा प्रयोग भइरहेको ‘कोभिसिल्ड’ खोप नयाँ प्रजातिको कोरोना भाइरसविरुद्ध प्रभावकारिताबारे यकिन रूपमा भन्न नसकिने बताउँछन्। अहिले उपलब्ध खोप लगाउनुको विकल्प नभएको उनको भनाइ छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम कोरोना भाइरसविरुद्धको खोपले भाइरसको रूप परिवर्तन भए पनि काम गर्ने दाबी गर्छन्। 

तर, कोरोना भाइरसको नयाँ प्रजातिविरुद्ध खोपको प्रभावकारिताबारे उनीसँग ठोस उत्तर छैन। उनले भने, ‘काम गर्दैन भन्ने प्रमाणित नभएसम्म काम गर्छ भन्ने हो।’

उनी नयाँ भेरियन्टका लागि अहिले लगाइरहेको खोपको प्रभावकारिताबारे अध्ययनपछि मात्रै थाहा हुने तर्क गर्छन्। 

नेपालमा प्रयोग भएको ‘कोभिसिल्ड’ खोप नयाँ भेरियन्टविरुद्ध प्रभावकारी हुन्छ की हुँदैन भन्ने जिज्ञासामा प्रवक्ता डा. गौतमले भने, ‘त्यो त भविष्यले बताउँछ। आज थाहा हुन्न।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन पनि कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध ‘कोभिसिल्ड’ खोप प्रभावकारिताबारे यकिन भन्न नसकिने बताउँछन्। 

डा. पुन भन्छन्, ‘अहिले नै कति प्रभावकारी हुन्छ भन्न सकिँदैन। ठुलो सङ्ख्यामा लगाइसकेपछि प्रभावकारिता थाहा पाउन सकिन्छ।’ 

सामान्यतः खोपको पूरा मात्रा लगाइसकेपछि मात्रै यसको प्रभावकारिता थाहा पाउन सकिने उनी बताउँछन्।

पुरानै भाइरसलाई आधार मानेर बनेका खोप भाइरसको रूप परिवर्तन भएसँगै प्रभावकारितामा ह्रास हुँदै जान सक्ने डा. पुनले बताए। उनले भने, ‘भाइरसको रूप परिवर्तन हुँदै जाँदा खोपको प्रभावकारितामा ह्रास आउने भएकाले खोप अद्यावधिक गर्नुपर्ने हुन्छ।’ 

तर, भाइरसको रूप परिवर्तन भएको अवस्थामा खोप अद्यावधिक नगरी लगाउँदा हुने प्रभावकारिताबारे अध्ययन आवश्यक रहेको उनी बताउँछन्। 

कोरोनाको स्पाइक जिनमा निरन्तर परिवर्तन (म्युटेसन) भए खोपको प्रभावकारिता कम हुने चिकित्सक बताउँछन्। 

चिकित्सकको मत अनुसार स्वरूप परिवर्तन भएको भाइरस नरम वा कडा पनि हुन सक्छ। प्राकृतिक रूपमा नै निश्चित समयपछि भाइरसको रूप परिवर्तन हुने डा. पुन बताउँछन्। उनले भने, ‘रूप परिवर्तन भएर कमजोर भए त समस्या भएन। तर, कडा भयो भने जोखिम हुन्छ।’ 

कोरोना भाइरसका नयाँ भेरियन्टमध्ये कुनै छिटो फैलने, कुनै घातक र कुनैले खोपलाई पनि छल्न सक्ने चिकित्सक बताउँछन्।

डा. पुन कोरोना विरुद्धको ‘कोभिसिल्ड’का दुवै स्ट्याण्डर्ड डोज लगाउँदा ६२ प्रतिशत प्रभावकारी हुने बताउँछन्। तर, पहिलो लो (कम) डोज र पछिल्लो स्ट्याण्डर्ड (पूरा) डोज लगाउँदा ९० प्रतिशत प्रभावकारी हुने भनिएको उनी बताउँछन्। 

कोभिसिल्ड खोप औसतमा ७० प्रभावकारी हुने बताइएको छ। 

खोपले कति समय काम गर्छ भन्ने पनि अहिले यकिन भई नसकेको उनले बताए। 

मौसमी रूपमा देखिने इन्फ्लुएन्जा भाइरसको रूप परिवर्तन भएको खण्डमा खोप पनि अद्यावधिक हुने चिकित्सक बताउँछन्। 

त्यसैले मौसमी इन्फ्लुएन्जाजस्तै मौसम अनुसार कोरोना भाइरसको पनि रूप परिवर्तन हुँदै भाइरस लामो समय रहेको खण्डमा खोप पनि अद्यावधिक गर्नुपर्ने हुनसक्ने डा. पुन बताउँछन्। 

उनले भने, ‘केही गरी फ्लुजस्तै मौसम अनुसार कोरोना देखियो भने उपलब्ध भएका भ्याक्सिन अद्यावधिक गर्नुपर्ने हुन्छ।’ 

नयाँ भेरियन्ट सङ्क्रमणको नियन्त्रणमा सरकार के गरिरहेको छ ?

प्रवक्ता डा. गौतमले नेपालमा कोरोना (नयाँ भेरियन्ट) स्थलमार्गबाट भित्रिन नदिन सीमामा नै एन्टिजेन परीक्षण गरिएको बताए। 

तर, उनले सबै सीमा नाकामा एन्टिजेन पुर्याउन नसकिएको बताए। पूर्वका चार वटा नाकाबाहेक सबै सीमामा एन्टिजेन परीक्षण गरिएको उनको दाबी छ। 

यस्तै, भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिको पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण देखिएकामध्येबाट र्यान्डमली जिन सिक्वेन्सिङ गरिएको (नयाँ भेरियन्ट पत्ता लगाउन गरिएको परीक्षण) महाशाखाले जनाएको छ। 

यसैगरी, हवाई मार्गबाट आउने यात्रुमा ज्वरो देखिएपछि पिसिआर परीक्षण गर्ने गरिएको महाशाखाका निर्देशक डा. पौडेलले बताए। 

नेपालमा कोरोनाको नयाँ भेरियन्टको जोखिम बढिरहेकाले सचेत हुन चिकित्सकको सुझाव छ। अन्यथा नेपालमा कोरोना भाइरसको दोस्रो तरङ्ग निम्तिने जोखिम रहेको चिकित्सक बताउँछन्। 

१८ चैत, २०७७, ०८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।