बालाजु सडक विस्तारले सुकुम्वासी बनाएकाहरू–३ : राज्यले बास उठायो, त्यही चिन्ताले कान्छो भाइ बित्यो

बालाजु सडक विस्तारले सुकुम्वासी बनाएकाहरू–३ : राज्यले बास उठायो, त्यही चिन्ताले कान्छो भाइ बित्यो
तस्बिर : कृष्पा श्रेष्ठ ।

काठमाडौँ : काभ्रे मंगलटारका कृष्णप्रसाद मैनालीका ९ दाजुभाइ थिए। सम्पत्तिको नाममा थियो, एउटा ठुलो बारीको पाटो।

परिवार ठुलो थियो, सधैँ चामलको भात खान पुग्ने हैसियत थिएन मैनाली परिवारको। 

९ भाइकै विवाह भइसकेको थियो। कृष्णप्रसादको एक सन्तान जन्मिसकेको थियो। अरू भाइहरूका पनि जायजन्म हुँदै थियो।

परिवारको निम्न आर्थिक अवस्था बुझेका थिए कृष्णप्रसादले। त्यसैले पढ्नमा उनी खुबै मन लगाउँथे। फलतः कृष्णप्रसाद तत्कालीन श्री ५ को सरकारका खरदार भए।

मेला पर्म गरेर गुजारा गर्नुपर्ने बाध्यता थियो गाउँमा। यता सहरमा जागिरे कृष्णप्रसादले आफ्नी जहानलाई दुःखमा नराख्ने मन बनाए। साथैमा भएको छोरो बाल विक्रमको भविष्यको पनि कुरा थियो। जागिरले परिवार पाल्न सक्छु भन्ने लाग्यो उनलाई। 

२०३० सालमा कृष्णप्रसादले बालाजुमा साढे दुई आनामा बनेको घर किने। परिवार यतै बस्न थाल्यो।

‘गाउँको सम्पत्ति एउटा पाटो बारी मात्र थियो। उति बेलै ८० हजारमा बेचियो। बाको भागमा पर्ने सम्पत्ति बुझेर हामी सहरमा सर्यौं,’ कृष्ण प्रसादका जेठा छोरा बाल विक्रम भन्छन्, ‘त्यसपछि हामी सहरिया भयौँ। हामी बालाजुमा आउँदा यहाँ बाक्लो बस्ती बसिसकेको थियो। बजार भइसकेको थियो।’

तीन तले घरमा दुई वटा सटर थिए। एउटामा मैनाली परिवारले पसल राखेको थियो। अर्को ट्रेलरलाई भाडामा दियो। त्यही घरको आडमा मैनाली परिवार सहरमा आरामले बाँचिरहेका थियो।

२०७२ मा सडक विस्तारको क्रममा उनीहरूको घर भत्कियो। 

‘हाम्रा तीन दाजुभाइ, तीन दिदी बहिनी। सबैलाई त्यही घरको भाडाले नै पढायो,’ बाल विक्रम भन्छन्, ‘म घरको जेठो छोरो। बा एउटाको पेन्सनले घर धान्न गाह्रो हुने भएकाले मैले पढ्नमा उति ध्यान दिइनँ।’

बालाजुकै घरको साहाराले बाल विक्रमले बहिनीहरूको विवाह गरे। ‘२०६२ मा बा बित्नु भयो। घरको जिम्मा जेठोको भएकोले मेरो काँधमा आयो।  सरकारले घर भत्काइदिएपछि मेरो कान्छो भाइको दिमागमा गहिरो असर पर्यो। घर भत्किएको कारण नै मेरो कान्छो भाइ दुई वर्ष पहिले बित्यो। मान्छे मार्ने विकास पनि के विकास हो र?’

बाल विक्रमसँग मनमा राज्यलाई सोध्न धेरै प्रश्नहरू छन्। तर ती प्रश्नको उत्तर दिने मान्छे उनले भेटेका छैनन्।

‘मन्त्री रामवीर मानन्धरलाई हाम्रोबारे सबै थाहा छ। तर उनैले अन्याय गरे,’ बाल विक्रम भन्छन्, ‘मेरो भाइ मार्यो यो देशको विकासले। घर बास पनि उठायो।’

बाल विक्रम अहिले पुरानो गुह्येश्वरीमा दुई कोठा भाडामा लिएर बसेका छन्।

‘७८ वर्षीया आमा र म बस्छौँ,’ उनी भन्छन्, ‘घर हुँदा हामीलाई बाँच्न उति गाह्रो थिएन। घर छैन। कोठा भाडामा बस्न पैसा कमाउनै पर्यो। गाउँ जाऊँ सम्पत्तिको नाममा केही छैन। सेक्युरिटी गार्ड गरेर १५ हजार कमाउँछु। आमाको उपचार पनि गर्नै पर्यो। कोठा भाडा नै दस हजार छ।’

बाल विक्रमलाई राज्यले बास दिए राम्रो हुन्थ्यो भन्ने लाग्दो रहेछ। ‘पैसा दिए कति पो दिन्छ। थपथाप गर्न पैसा छैन आफूसँग। राज्यले बासै दिए राम्रो हुन्थ्यो,’ उनी थप्छन्, ‘घर भत्काएको पनि पैसा पाइन्छ भन्ने सुनेको हुँ। कता जाने, के गर्ने केही थाहा छैन।’

बाल विक्रम घरको क्षतिपूर्ति रकम लिनै पर्ने बेला आएको बताउँछन्।

‘राज्यमन्त्री रामवीर दाइ तिम्रो भोटले जितेको पनि होइन। मलाई तिम्रो सरोकार पनि छैन भन्छन्,’ उनी दुखेसो पोख्छन्, ‘पाउने दुई–चार हजार पनि पाइएन भने त आमाको उपचार गर्न नै गाह्रो पर्छ।’ 

बाल विक्रमकी आमा अमलाचेली मैनाली बाथ रोगी हुन्। उनी राम्रोसँग हिँडडुल गर्न सक्दिनन्। 

‘सहरमा घर छ भनेर ऊ बेला गाउँमा यसो सम्पत्ति जोडिराख्न ध्यान गएन। बास पनि उड्यो। आफ्नो भविष्य के हो थाह छैन,’ मैनाली आफ्नै जीवनलाई हेर्छन्, ‘यो उमेर भयो, विवाह गरेको छैन। अब गरिबलाई कसले दिने छोरी?’

बाल विक्रमलाई घरजम गर्न बेलैमा ध्यान नजानुको कारण परिवार नै हो रे।

‘जेठो परियो। सबै कुरा मिलेपछि भन्दाभन्दै उमेर ढल्कियो,’ उनी भन्छन् ‘राज्यले हामीलाई हाम्रो ठाउँमा राख्न सक्दैन भने पनि छत त दिन परेन? कहाँ जाने म?’

बाल विक्रमलाई आफ्नो बाको सम्पत्तिको राज्यले उचित मूल्याङ्कन गरिदेओस् भन्ने लागेको छ।

‘हामीलाई सुकुम्वासी बनाएर राज्यको कोष भरिभराउ हुन्छ। सबै नागरिकले  राम्रो जिन्दगी जिउन पाउँछन् भने हामी सुकुम्वासी नै हौंला। होइन भने न्याय चाहियो।’ 

मन्त्री मानन्धरले बालाजुका स्थानीयलाई जानिबुझी नै दुःख दिइरहेको भन्ने बाल विक्रमलाई लागेको छ।

‘बालाजुमा को कस्तो, कसको सम्पत्ति कति छ, घर भत्काएपछि को सुकुम्वासी भयो, सबै थाहा छ मन्त्रीलाई। जानाजान बुझ् पचाउन त मिल्दैन नि,’ उनले भने।

बाल विक्रम दाबी गर्छन्, ‘नेपालभरि कतै मेरो सम्पत्ति, बैङ्क खाता भए राज्यले सबै लेऊ, होइन भने घरबास बनाइदेऊ।’

पुनर्स्थापना गर्न नसक्ने हो भने चलन चल्तीको भाउमा मुआब्जा दिनुपर्ने उनको माग छ। ‘विकासको नाममा मान्छेलाई सुकुम्वासी बनाउने काम राज्यले नगरोस्। हामी यो देशका नागरिक हौँ। हामीलाई नागरिक जस्तो व्यवहार होस्,’ उनको आग्रह छ।

१८ चैत, २०७७, ०७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।