उकेरा काेलम

उता झाँक्रीको पेट बढ्यो, यता हाम्रो सम्पत्ति स्वाहा !

शारीरिक अपांगता भएका बेग राति १२ बजेसम्म पठाओ चलाउँछन् र फुर्सद निकालेर पढ्छन् पनि।

ईश्वरकुमार मैनाली


तस्बिर : कृष्पा श्रेष्ठ ।

‘यस्ता अपाङगसँग को जान्छ?’

धादिङका २४ वर्षीय बेग तामाङको पठाओ ड्राइभर बन्ने सपनामा पहिलो दिन नै एक युवतीको शब्दवाण प्रहार भयो।

युवतीको कटु वचनले उनको उत्साह अरुणखोचमा पुग्यो। र, पनि उनले हार मानेनन्।

‘सक्ने काम गर्दा अपांग/सपांग भन्ने हुँदैन। काम भए त भैगो नि,’ सुरुवाती दिन सम्झँदै उनी भन्छन्, ‘घरबाट निकै उत्साहित हुँदै निस्केको थिएँ पहिलो टिपको लागि। फयाट्ट रिक्वेस्ट आयो। हत्तपत्त एसेप्ट गरें।’

उनी पहिलो यात्रुलाई गन्तव्यमा पुर्‍याउन बेगले बत्तिए।

‘साथीभाइले पठाओमा भेटिएका मान्छेको तारिफ गर्थे। राम्रा मान्छे हुन्छन् जस्तो लाग्थ्यो,’ बेग भन्छन्, ‘पठाओले थप इनकम हुन्छ। अलिअलि पैसा बचाउँछु। त्यही पैसाले समाज सेवा गर्छु भन्ने थियो मनमा। युवतीका वचनले साह्रै चित्त दुख्यो।’

चित्त दुखाइको कारण एक हप्तासम्म उनी कोठाबाट नै निस्कन सकेनन्।

‘मेरो चारपांग्रे स्कुटर छ। समय पनि छ। किन त्यसै समय खेर फाल्नु जस्तो लाग्यो,’ उनले भने, ‘अरुलाई पनि आत्मबल आओस् भन्ने लागेको थियो। आफ्नै आत्मबल डगमगायो।’

एक हप्ताको घर बसाइपछि उनी पठाओको ज्याकेटमा फेरि बेगले चल्न थाले।

पहिलो प्यासेन्जरको रिजेक्सनपछिको एक हप्ता उनले सोचे, ‘उमेर सानै भए पनि भोगाइ सानो हुँदैन। यस्ता झिना–मसिना कुरामा अल्झिएर हुँदैन।’

कर्मशील मान्छे अफ्ठ्यारासँग डराउन हुँदैन भन्ने लाग्छ बेगलाई।

‘सानो उमेरदेखि नै रिजेक्सन भोगिरहेकै त हो नि भनेर अरुले जसरी मन बुझाउन मन छैन मलाई,’ उनी भन्छन्, ‘मान्छेलाई कर्मले मान्छे बनाउने रहेछ। कर्म गर्न हार मानियो भने जिन्दगी जिउनुको के अर्थ?’

०००
जिन्दगीलाई सुन्दर ढंगले जिउन बेग सहर छिरेको पनि १२ वर्ष भयो। १२ वर्षसम्म सहरले उनलाई गाउँ फर्किन रोकिरह्यो। तर बेगको मन भने गाँउमा नै छ।

‘गाँउमा गएर केही गरौं भन्ने सोच आँउछ। फेरि यो देशको विकास हेर्छु। अपांगमैत्री संरचना सहरमा त कम छन्, गाउँमा के होला?’ उनले भने, ‘आफू जन्मिएको ठाँउमा बस्न मन थियो नि।।’

बेगको जन्म र लामाको भविष्यवाणीको संयोग पनि अचम्मको परेको रहेछ।

उनी जन्मिएकै दिन घरमा जेठो दाजुुको ब्रतबन्ध रहेछ।

‘म जन्मेकै दिन जेठो दाजुको ब्रतबन्ध थियो, घरमा रौनक थियो,’ उनी विगत कोट्याउँछन्, ‘लामा गुरुहरुले छोरा शुभदिनमा जन्मियो तर दाजुभाइमध्ये एक जनाको ज्यानमा समस्या हुन्छ भनेका थिए रे।’

हुन पनि लामाले भनेजस्तै भयो। जन्मिएको ९ महिनापछि उनको खुट्टामा समस्या आउन थाल्यो। परिवारको क्षमताले भ्याएसम्म उपचार गराए तर केही सिप लागेन। उनी भन्छन्, ‘त्यतिबेला अस्पतालभन्दा पनि धामी-झाँक्रीको बढी भर हुन्थ्यो।’

बेग धामी-झाँक्रीका कारण आफूलाई परेको असर सुनाउँछन्।

‘खेती-किसानी गरेर चल्ने परिवारले ६ महिनासम्म धामी–झाँक्रीलाई पालेर राख्नुपर्दा कस्तो हालत हुँदो हो,’ उनी भन्छन्, ‘घरी बोका, घरी कुखुरा, घरी के, घरी के। धामी-झाँक्रीले धेरै खर्च गराए तर मेरो रोग निको भएन।’

धामी–झाँक्रीको वरिपरि चक्कर लगाइरहँदा परिवारको आर्थिक अवस्था कमजोर हुन पुग्यो। ‘काम गरिखाने परिवार महिनौंसम्म घरमै रुँगिरहँदा आर्थिक मार आइपर्यो,’ उनले भने, ‘झाँक्रीको पेट बढ्यो, हाम्रो सम्पत्ति घट्यो।’

बेगका बाबु पूर्णबहादुरले काठमाडौंदेखि झाँक्री लगेर पनि उनको उपचार गराएछन् तर अस्पतालमा उपचार गर्नुपर्ने रोग झाँकी लगाएर के निको हुन्थ्यो।

बेगको रोगदेखि परिवारका सबै आजित भइसकेका थिए। हार खाइसकेका थिए।

‘पशु जस्तो चार हात–पाउ टेकेर हिँड्थें,’ उनी बाल्यकाल सम्झन्छन्, ‘म दिनको तीन किलोमिटरसम्म त्यसैगरी हिँड्थें। मान्छेले जिस्क्याउँथे। एक दिन म पनि ठमठम हिँड्छु भन्ने मनमा आउँथ्यो।’

०००
‘म पनि हिँड्छु’ भन्ने अठोट गरेको करिब १५ वर्षपछि बेग हिँड्न सक्ने भए। तर आशिंक रुपमा। लौरोको साहाराले।

‘बनेपाको एचआरडिसीमा मेरो उपचार भयो। अहिले लौरो टेकेर विस्तारै हिँड्न सक्छु,’ उनी भन्छन्, ‘ह्विलचियरमा हिँड्न उति मन पर्दैन।’

उनी धेरैजसो स्कुटरमा नै हिँडडुल गर्छन्।

गाँउमा हुँदा कुल्लीले लगाउने प्लास्टिकको जुत्ता घुँडामा र हातमा चप्पल लगाएर हिँड्थे उनी। ५ कक्षासम्म त्यसैगरी हिँडेर स्कुल गए। सकिनसकी हिँड्दा नशा नै सुकेछ। समयमै उपचार भएको भए अझ सजिलोसँग हिँड्न सक्थे रे। बेगलाई डाक्टरले त्यसै भन्थे।

बनेपामा खुट््टाको उपचार गराउँदको दुःख सम्झेर बेगको आङ नै सिरिंग हुन्छ रे अहिले पनि।

‘खुट्टामा प्लास्टर थियो। मेरो तौल ३६ किलो। खुट्टामा १८–१८ किलोको फलाम झुन्ड्याएको छ,’ उनले दुःख सम्झिए, ‘खुट्टा सिधा बनाउन तीन महिना त बेडमा मात्र परें।’

अहिले बेगले दुःख बिर्सेका छन्।

‘मलाई आफ्नो खुट्टामा उभिनु थियो। हिँड्नु थियो। सफल पनि भएँ,’ उनी भन्छन्, ‘तर डाक्टरका कुरा सुनेपछि उतिबेला कष्टसाथ स्कुल गएर गल्ती गरें की जस्तो पनि लाग्यो।’

‘खुट्टाको नशा नमरेको भए’, डाक्टरको यही शब्दले उनलाई स्कुल नगएको भए नि हुन्थ्यो कि जस्तो लाग्छ । ‘तर नपढेको भए म आज यो बेग हुने थिइनँ। आत्मनिर्भर भएर बाँच्न सक्ने थिएन,’ उनले सन्तोष प्रकट गरे।

०००
बेग स्कुले अनुभवतिरै मोडिन्छन्।

‘घरबाट टाढा थियो स्कुल। घरका मान्छेको सपोर्ट थियो। तर, म स्कुलमा खासै रमाउन सकिनँ,’ उनी कारण बताउँछन्, ‘यस्ता अपांगले पढेर के हुन्छ। के गर्न सक्छ र? आफ्नै खुट्टामा उभिन सक्दैन भन्थे मलाई गाँँउलेले।’

बेग आफ्नो परिवारमा सबैभन्दा बढी पढ्ने व्यक्तिमा गनिन्छन्।

‘पहिले मलाई अपांग भनेर हेला गर्नेहरु अहिले नमस्कार गर्दै आउँछन्,’ बेगले भने, ‘अझै धेरै पढ्न मन छ।’

उनी समाजसास्त्रका विद्यार्थी हुन्। उनी पाटन संयुक्त क्याम्पसमा स्नातक दोस्रो वर्ष अध्ययनरत छन्।

५ कक्षासम्म गाँउकै स्कुलमा पढेका बेग सधैं प्रथम हुन्थे। ६ कक्षामा उनी काठमाडौं आउने कुरा चल्यो।

‘नातेदार दिदीले कुनै संस्थामा राखौं भनेर बालाई भन्नुभयो। बाले पनि पढाइ राम्रो हुन्छ र गाउँमा भन्दा सजिलो हुन्छ भनेर पठाउनु भयो,’ उनले भने, त्यसपछि म सेन्ट जेभिएर सोसल सर्भिस सेन्टर जावलाखेल आइपुगेँ।’

बेगको होस्टेलको बसाइ सुरु। उनी १२ कक्षासम्म त्यही होस्टेलमा बसे। उनी काठमाडौं बसाइको सुरुवाती क्षण सम्झन्छन्, ‘सुरुमा निकै गाह्रो भयो। गाँउ फर्केर जाउँ जस्तो भयो। तर मेरो परिवारले पढाइ बिग्रन्छ भनेर मान्नु भएन।’

सधैं प्रथम हुँदै आएका बेग काठमाडौं आएपछि अर्धवार्षिक परीक्षामा  पाँच विषयमा फेल भए।

फेल भएपछि उनलाई पिर पर्यो। मिहिनेत गर्दै गए। साथीभाइको सहयोग पनि मिल्यो। विस्तारै पढाइ सुध्रिँदै गयो। त्यसपछि भने बेग पढाइमा बेगले बत्तिइरहेका छन्।

०००
बेग विभिन्न संस्थाहरुसँग जोडिएर सकेको सामाजिक काम पनि गर्छन्। उनी बास्केट बल खेलाडी पनि हुन्। उनलाई देखेर तिमी जस्तै हुन मन छ भन्छन् रे धेरै साथीहरु।

‘म हरेक कुरामा आत्मनिर्भर छु। एक्लै कोठा लिएर बसेको छु। घर–परिवारसँग माग्न परेको छैन। आत्मनिर्भर भएर जिउनुको मजा म वर्णन नै गर्न सक्दिनँ,’ उनले भने।

बेगले गर्ने समाजसेवा पनि आत्मनिर्भर हुन सिकाउने नै हो।

‘मलाई नेतृत्व गर्न मन पर्छ। सबैलाई आत्मनिर्भर हुन सिकाउन सकुँ भन्ने सोच्छु। अहिलेसम्म त विभिन्न संस्थासँग जोडिएर समाजसेवा गरिरहेको छु, अब आफ्नै कमाइले पनि गर्ने हो,’ उनी मुस्कुराए।

०००
पठाओको पहिलो टिपमै मन खल्लो बनाएका बेगले त्यसयता भने कहिलै मन दुखाउनु परेको छैन। ‘सबैले तारिफ गर्छन्। पैसा पनि बढी दिन्छन्,’ बेग भन्छन्।

बेगले पठाओ सेवा सुरु गरेको तीन महिना मात्र भयो। बिहान–बेलुका पठाओ सेवा दिने उनी दिनभर डाटा इन्ट्रीको काम गर्छन्।

‘बिहानै उठेर दुई छाकलाई पुग्नेगरी खाना बनाउँछु अनि पठाओमा जान्छु। आएर खाना खान्छु। डाटाको काम गर्छु। राति १२ बजेसम्म पठाओ गर्छु,’ उनी जोसिन्छन्, ‘यसो फुर्सद निकालेर पढ्छु पनि। समाजसेवा गर्न त पढ्न पनि पर्‍यो नि।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

डा. रवीन्द्रले भोगेकाे र्‍यागिङ– एमबिबिएस पढ्दा सिनियर विद्यार्थीले केटीलाई लभलेटर दिन लगाउँथे 

‘एमबिबिएस पढ्दा सिनियर विद्यार्थीले जुनियरलाई र्‍यागिङ गर्दा रहेछन्। यो कुरा एमबिबिएस पढ्न कलेज भर्ना भएपछि मात्रै थाहा पाएँ,’ २०७४ सालदेखि सिभिल अस्पतालमा कार्यरत छाला तथा....

कान्तिपुर गाथा : बहकिएको मन, बहकिएको समय

चिकित्सकले भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो झमट सुरु भइसकेको पृष्ठभूमिमा नेपालमा पनि प्रकोप बाक्लिने बताएका छन्। उनीहरूले २०७८ जेठमा कान्तिपुर कोरोनामय हुने सम्भावना रहेको....

हिजोका कुरा : १४ वर्षको उमेरमै हेडमास्टर

जितपुर त्यति बेला पश्चिम जाने मुल बाटो थियो, अहिलेको राजमार्गहरू जस्तै। मदनकृष्ण श्रेष्ठ गाउँ, टोलमा गीत गाउँदै, भजन गाउँदै हिँड्थे। ८ वर्षका मात्र थिए उनी....

ब्याच नम्बर ६९ : एक वर्षका लागि गएको १३ वर्ष पो बसें

मैले जानेको कुरा अर्कोलाई सिकायो भने त ऊ मभन्दा जान्ने भइहाल्छ, म तल पर्छु भन्ने भ्रम धेरै छ प्रहरीमा। वास्तवमा यो सोच गलत हो। आफूमा....

चौथो अंग : ...बरु भेडा चराउन सजिलो

पछि सरकारी ओहोदा र जिम्मेवार तहमा बसेका व्यक्तिले गरेका गलत काम बाहिर आउन थाल्यो। यसरी लुकाएर राखिएका गलत काम खोजेर सार्वजनिक गर्ने कामलाई खोज पत्रकारिता....