अब काली–२ आउँछ, त्यसले काले–कालीको विगतको कथा भन्छ : पुष्पन प्रधान

अब काली–२ आउँछ, त्यसले काले–कालीको विगतको कथा भन्छ : पुष्पन प्रधान
तस्बिर : कृष्पा श्रेष्ठ ।

काठमाडौँ : नेपाल आइडल सिजन–२ मा अमित बरालले ‘पंक्षी’ गीत गाए। त्यसपछि एकाएक चर्चामा आउन थाले गायक पुष्पन प्रधान। देशप्रेम र सामाजिक कथा गीतमा उतार्ने प्रधानलाई समाजले कलाकारलाई गर्ने व्यवहारले भने चित्त बुझेको रहेन छ।

प्रधानले आफ्नो ३७औँ जन्मदिन पारेर ‘काली’ बोलको म्युजिकल फिल्म बजारमा ल्याए। चर्चा पनि खुबै भयो। यिनै कालीका सर्जक प्रधानसँग उकेराकर्मी ईश्वरकुमार मैनालीले गरेको कुराकानी :

जन्मदिनमा दर्शकलाई दिनुभएको उपहार ‘काली’ खुब फाप्यो है?

दर्शकले मन पराइदिनुभयो। उहाँहरूप्रति आभारी छु। मलाई जहिले पनि केही नयाँ गर्ने हुटहुटी हुन्छ। प्रयोगको रूपमा कालीलाई दर्शकसामु ल्याएको थिएँ। दर्शकले दिनुभएको प्रतिक्रियाले उत्साहित भएको छु। कालीको भिडियो छोटो भयो, चाँडै सकियो भन्ने प्रतिक्रियाले झन् उत्साह थपेको छ, नयाँ काम गर्नका लागि।

दर्शकलाई रुवाउन मन पर्छ हो? 

रुवाउने मेरो मनसाय होइन। मनमा भएका कुरालाई दर्शकसामु पस्किएको मात्र हुँ। म गायक, सङ्गीतकार, कवि केही होइन। बस्, मनमा भएको कथा भन्न मन पर्छ। म कथा भन्ने मान्छे हुँ। मेरो कथाले मान्छेलाई छुन्छ भने त्यो मेरो सिर्जनाको सफलता हो।

देश प्रेम, समाजका तल्ला मान्छेका कथा ल्याउने पुष्पनले माया–पिरतीका गीत ल्याउनुको कारण के हो?

मेरा देश, समाजका कथा बोकेका गीतहरू चले। माया–प्रेमका थुप्रै गीत छन् मेरा। मलाई टाइपकास्ट हुनु छैन। सकेसम्म नयाँ–नयाँ प्रयोग गर्न मन पर्छ मलाई। काली एउटा उदाहरण हो। भोलिका दिनमा नयाँ फरक आयामका गीत पनि आउलान् मबाट। बजारलाई हेरेर म गीत कहिल्यै बनाउँदिन।

नेपाली साङ्गीतिक बजारमा भाइरल प्रवृत्ति हाबी छ। यस्तो बेला नयाँ प्रयोग गर्दा कत्तिको चुनौती हुने रहेछ?

कुनै पनि सिर्जनात्मक काम भनेको त्यसले दिने एक्सप्रेसन हो। मैले आफ्ना कुरा भनेको मात्र हुँ। मलाई कसैलाई देखाउन वा चल्न गीत बनाउनु छैन। कथा भन्नु छैन। 

मलाई कथा भन्न मन पर्छ। म आफ्नै शैलीमा कथा भन्छु। कालीमा बिचबिचमा पोस्टर राख्दा केही गुनासा पनि आए। हामी पर्दामा देखिने, नाम सुनिने मात्र छौँ त त्यहाँ? सिर्जनामा जोडिएका हरेकको उत्तिकै महत्त्व हुन्छ भनेपछि उनीहरू चाहिँ चर्चामा आउनु पर्दैन त? त्यसैले सबैलाई समेट्न सकियोस् भनेर बिचबिचमा पोस्टर राख्यौँ। यो पनि एउटा प्रयोग नै थियो। 

प्रयोगमा चुनौती छ–छैन भन्दा पनि तपाईँले भन्न खोजेको कुरा न्यायोचित तवरले भन्न सक्नु भयो–भएन भन्ने ठुलो कुरा हो। चुनौती त पुरानै कुरा गर्दा पनि हुन्छ नि।

कथा भन्नु छ भन्नुहुन्छ। पुष्पनलाई फिल्म निर्देशकका रूपमा पनि देख्न पाउँछन् त तपाईँका शुभचिन्तकले?

म समयसँगै चल्ने मान्छे हुँ। योजना बनाएर कुनै काम गर्दिनँ। भोलिका दिनमा निर्देशनमा आउँछु–आउँदिन भन्न सक्दिनँ। तर अहिले यत्ति भन्छु, निर्देशन गर्ने बेला भएको छैन मेरो। कालीको कथा, कन्सेप्ट तयार गरेँ। पात्र छानेँ अनि निर्देशक रोजेको हुँ। आफूलाई लागेको कथा भन्न फिल्म निर्देशक नै बन्नु पर्छ भन्ने छैन। आर्ट एउटा माध्यम हो। हामीसँग धेरै माध्यम छन्। जुनै माध्यमबाट पनि कथा भन्न सकिन्छ।

कथा भन्ने गायक पुष्पन प्रधान र शिक्षक पुष्पन प्रधानमा के भिन्नता छ?

धेरै भिन्नता छैन। धेरै समानता पनि छैन। मलाई आफूले जानेको कुरा सिकाउन रमाइलो लाग्छ। अझ साना नानीहरूलाई सिकाउन पाउँदा गर्व लाग्छ। मैले कुनै गुरु राखिनँ सङ्गीतमा। म उनीरुलाई प्रकृति र आफूभित्र भएको गुरुभन्दा ठुलो गुरु कोही हुँदैन भनेर सिकाउँछु। मलाई यति सिक्न यो उमेरसम्म आइपुग्नु पर्यो। यो गायक पुष्पनको भोगाइ भयो। र, म शिक्षक हुँदा न गायक हुन्छु, न कलाकार, बस म शिक्षक हुन्छु। मेरो जीवन भोगाइमा भएका नकारात्मक कुराबाट सकारात्मक कुरा लिएर उनीहरूलाई बुझाउँछु। सिकाउँछु। गायक पुष्पनभन्दा मलाई शिक्षक पुष्पन हुनुमा बढी आनन्द आउँछ। बुढेसकालमा पनि लौरो टेकेर जानेको कुरा सिकाउन पाइरहूँ जस्तो लाग्छ। 

नेपाली भाषी गायक हुँदा राष्ट्रियताका कारण कतै समस्या झेल्नु परेको छ?

त्यस्तो समस्या भोग्नु परेको छैन। नेपाली भाषासँग मेरो अचाक्ली प्रेम छ। नेपालको भाषा नै नेपाली हो। मेरो सिर्जना नेपाली भाषीका लागि हुन्। यो गीत–सङ्गीत, कला क्षेत्रमा देश भन्ने नै हुँदैन जस्तो लाग्छ।। नेपाल, सिक्किम, दार्जिलिङ लगायतका भारतका नेपाली भाषी क्षेत्रमा उति फरक छैनन्। मलाई नेपालमा बढी रहन भने मन लाग्छ।

तपाईँको नजरमा नेपाली सङ्गीत क्षेत्रको कमजोरी के हो?  

सम्मानको कुरामा नेपाली कला जगत् नै चुकेको छ भन्ने लाग्छ मलाई। त्यसबाहेक अरू सिर्जनामा त अब्बल छ। सम्मान दिन र लिन जान्दैनौँ हामी। त्यसले राम्रा कलाको पुस्ता हस्तान्तरणमा समस्या हुन्छ। धेरै सिक्ने मौका मिल्दैन सिनिएरसँग। जब सिक्न र पुराना कुरा बुझ्न सकिँदैन तब असहज त भइहाल्छ। 

नेपाली कला क्षेत्रमा अर्को समस्या चाहिँ नजिकका कलाकारलाई हामी कलाकार नै मान्दैनौ। हाम्रा नजिकका कलाकारलाई हेला गरेर लाखौँ तिरेर बाहिरबाट कलाकार ल्याउँदा गर्व गर्ने प्रवृत्ति हट्नुपर्छ। यसले नेपाली सङ्गीत क्षेत्रलाई राम्रो गर्दैन। मलाई समाजसँग सधैँ स्थानीय कलाकारलाई हेला गरेको देख्दा चित्त दुख्छ। यो प्रवृत्ति भारतमा पनि छ। 

तपाईँ प्रयाग गर्न रुचाउने मान्छे, ‘नयाँ प्रयोग कसरी गर्ने?’ सुझाव दिनुपर्यो भने कसरी दिनुहुन्छ?

मेरो सूत्र ‘तिमी तिम्रो कथा भन। तिमी, तिमी भएर बाँच। तिमी तिम्रो कथा सुनाऊ’ यही हो। योभन्दा अर्को कुरा म जान्दिनँ।  

हरेक मान्छे आफैँमा स्पेसल हुन्छ। त्यसैले तिमी, तिमी भएर बाच्यौँ, आफ्ना कुरा भन्यौँ भने त्यो नौलो हुन्छ। तिम्रो सिर्जनाले तिमी खुसी हुनुपर्यो। मलाई त यस्तै लाग्छ।

भाइरल हुनेवित्तिकै जे कुराको पनि सिक्वेल बनाउने चलन छ अचेल। कालीको पनि सिक्वेल आउँछ कि?

भाइरल भएको छैन मेरो गीत। भाइरल नहोस् पनि। मैले मेरो कथा भनेँ, मनदेखि भनेँ, मनसम्म पुग्यो। दर्शकले मन पराएर काली–२ माग गरिरहनु भएको छ। अब काली–२ पनि आउँछ। काले र कालीको पास्टको कथा भन्छ त्यसले। तर भाइरल भएर चाहिँ सिक्वेल बन्न आँटेको होइन। 

१४ चैत, २०७७, ०७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।