चलचित्र ‘बिहे पास’ को छायाङ्कन सुरु

चलचित्र ‘बिहे पास’ को छायाङ्कन सुरु

काठमाडौँ : चलचित्र ‘बिहे पास’को छायाङ्कन सुरु भएको छ। विराटनगरको श्रीसंसारीमाइ मन्दिरमा चलचित्रको मुर्हत गर्दै छायाङ्कन सुरु भएको हो। 

यस चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेलले ३० दिनको सेड्युलमा चलचित्रको छायाङ्कन सुरु गरिएको बताए। ‘३० दिनको सेड्युल राखेर चलचित्र ‘बिहे पास’को छायाङ्कन सुरु गरेका छौ,’ उनले भने,‘चलचित्रलाई विराटनगर र धरानका विभिन्न स्थानमा छायाङ्कन गर्नेछौ।’

एक महिना अघिदेखि चलचित्र निर्माणको घोषणा भएका कारण कोरोना कहरको दोस्रो चरणमा छायाङ्कन थाल्नुपर्ने बाध्यता आएको उनले बताए । उनले उकेरासँगको कुराकानीमा भने, ‘दोस्रो कोरोना आउला भन्ने नै भएन। कलाकार र प्राविधिकहरू विराटनगर पुगिसकेकोले चलचित्रको छायाङ्कन थालेका हौ।’

चलचित्र छायाङ्कन गर्दा सावधानी अपनाउने कट्टेलले बताए। चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भूमिका रहनेछ। चलचित्र बिहे पास एक युवाको कथामा निर्माण हुन लागेको कट्टेलले बताए। अभिनेत्री प्रकृतिले यस अघि चलचित्र ‘उत्सव’मा काम गरेपछि प्रकृति अस्ट्रेलिया पुगेकी थिइन्। 

उनी ६ वर्षपछि चलचित्रमा फर्किएकी छन्। रोहित कट्टेल प्रस्तुतकर्ता रहेको अर्को चलचित्र ‘कृष्ण लीला’ यही चैत २७ गते प्रदर्शनको तयारीमा रहेको छ।

१३ चैत, २०७७, १६:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।