प्रदेश १ : मन्त्री बाँडेर सरकार टिकाउँदै मुख्यमन्त्री राई 

प्रदेश १ : मन्त्री बाँडेर सरकार टिकाउँदै मुख्यमन्त्री राई 

इटहरी : आफ्नै पार्टीको आन्तरिक समस्याले ढल्नै लागेको प्रदेश १ सरकार अब सुरक्षित भएको छ। गत पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई मन्त्री पद दिएसँगै मुख्यमन्त्रीको पद सुरक्षित भएको हो। 

गत फागुन २८ गते सर्वोच्च अदालतको आदेशले नेकपा खारेज गरी माओवादी केन्द्र र नेकपा एमाले पुनर्जीवित गरेसँगै प्रदेश १ सरकारको कोर्स परिवर्तन भएको छ। अविश्वासको प्रस्ताव दर्ता गराउने माओवादी केन्द्रका सांसद टंक आङबुहाङ एमाले प्रवेश गरेर आर्थिक मामिला तथा योजना मन्त्री भएका छन्।

अविश्वासको प्रस्तावकै पक्षमा रहेका माधव नेपाल समूहका राजकुमार ओझा र कला घले केपी शर्मा ओली समूहमा प्रवेश गरी मन्त्री भएका छन्। उनीहरूलाई क्रमशः उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। 

ओली समूहमै रहेका उषाकला राईले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएकी छिन्। राई लामो समयदेखि लोकल (स्थानीय) रक्सीलाई ब्रान्ड बनाएर बेच्नुपर्ने अभियान चलाउँदै आएकी छिन्।

त्यस्तै पहिला आफै राज्यमन्त्री भएका भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी अम्बीर बाबु गुरुङले पाएका छन् भने राम बहादुर मगर पनि राज्यमन्त्रीबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन्। यससँगै प्रदेश १ को मन्त्रीपरिषद् ९ सदस्यीय बनेको छ। 

१३ चैत, २०७७, १४:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।