एंकर न्युज

हलिया छोडेर आरनतिर : ‘हामीलाई भोट हाल्न मात्र प्रयोग गरिन्छ’

जगतदल जनाला विक


सुर्खेत : मुगुको खत्याड गाउँपालिका–५ का ४० वर्षीय रणकबहादुर विकको परिवार पहिले गाउँमा साहुको घरमा हलिया बस्थ्यो। पुरानो पुस्तादेखि रणकका बुबासम्मले साहुको घरमै हलिया बसेर बिताए। ५ वर्षसम्म रणकले पनि साहुकोमा हलिया बसेरै काम गरे।

वर्षौँदेखि हलिया बसेर रणकको परिवारले साहुले दिएको थोरै जमिन (एक गडो) बाहेक अरू केही कमाउन सकेन।

उनकी श्रीमतीलाई टाउकोमा समस्या देखिएपछि एक लाख रुपैयाँभन्दा धेरै ऋण लाग्यो। ऋण तिर्ने कुनै मेसो भएन। साहुले दिएको त्यही एक गडो जमिन पनि बेच्न बाध्य भए रणक।

जमिन बेचेर केही ऋण तिरे पनि ब्याजमा लिएको धेरै रुपैयाँ तिर्नुपर्ने भयो। गाउँमा हलिया बसेरै ऋण तिर्न नसक्ने अवस्था भएपछि भारततिर हानिएका रणकले आफ्नी श्रीमतीको उपचार गराएपछि नेपालतिर फर्किएर पुर्खाले गरेको हलिया बस्ने पेसा छोडेर केही नयाँ पेसा अँगाल्ने सोच बनाए।

भारतमा पनि आफूले काम गरेको पैसाले श्रीमतीको उपचारमा नपुगेपछि गाउँलेबाट तीन लाख ऋण मागेर उपचार गरे। नोकरी गरेर त्यो ऋण तिर्न पनि उनलाई हम्मे हम्मे पर्‍यो।

‘गाउँमा मेरो पुर्खाले साहुकोमा हली लागेरै जीविका चलाउँथ्यो, म पनि चार–पाँच वर्ष साहुकोमा हली बसें। श्रीमती बिरामी भएपछि ऋण लाग्यो तिर्ने कुनै उपाय नभएपछि साहुले नै दिएको एक गडो बेचेर भारत गएँ,’ रणकले भने, ‘भारतमा पनि ऋण गरेरै श्रीमतीको उपचार गरेर सुर्खेत आई आरन व्यवसायमा लागेँ।’ 

अलि पहिला गाउँमा आरनमा गएका बेला उनी आफ्ना घरका आँसीभाँडा बनाउँथे। आरन सम्बन्धी त्यही ज्ञान भएकै कारण भारतबाट फर्किएपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विगत दुई वर्षदेखि आरन व्यवसाय गर्दै आएका छन् रणक।

रणकका अरू घरपरिवार अझै पनि गाउँमा साहुकै काम गरेर जीविका चलाइरहेका छन्। 

त्यसपछि उनी नेपाल आएर दुई वर्षदेखि सुर्खेतमा आरन पेसा गरेरै बालबच्चालाई पालनपोषण गराइरहेका छन्।

उनका चार छोरा र दुई छोरी गरी ६ सन्तान छन्। रणकले आफ्ना छोराछोरीलाई राम्रो सरकारी विद्यालयमा पढाउनका लागि धेरै दौडधुप गरे पनि पढाउन नसकेपछि मदरसामा पढाइरहेको बताए।

‘केटाकेटीलाई यहाँका राम्रै सरकारी स्कुलमा भर्ना गर्न खोजेँ तर त्यहाँ भर्ना गर्न सकिएन, सरकारी स्कुल पनि हुनेखानेका लागि मात्रै रहेछन्,’ उनले भने, ‘उनीहरूको भविष्य त बरबाद गर्नु भएन भनेर मदरसामा पढाइरहेको छु।’

सडकको छेउमा एउटा सानो टिनको झुप्रोबाटै विकले आरन व्यवसाय गरिरहेका छन्। आधुनिक र प्रविधिको विकाससँगै आरन व्यवसाय पनि सङ्कटमा पर्न थालेको उनी बताउँछन्।

आरन व्यवसायलाई थप व्यवस्थित र आधुनिकता बनाउन कसैले पनि सहयोग नगरेको उनले बताए।

‘चुनावका बेला मात्र यसो गर्छौँ, उसो गर्छौँ भन्नेहरू जितेर गइसकेपछि फोन समेत उठाउँदैनन्,’ उनले भने, ‘हामीलाई भोट हाल्न मात्र प्रयोग गरिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

विद्यालय बन्द गर्ने सरकारको प्रस्तावमा प्याब्सनको आपत्ति, स्वास्थ्य मापदन्ड अपनाएर सञ्चालन गर्न सुझाव

प्याब्सनले विज्ञप्ति जारी गर्दै अनलाइन कक्षाले सबै विद्यार्थीलाई समेट्न नसक्ने भएकाले विद्यालय बन्द नगर्न आग्रह गरेको हो। प्याब्सनले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी विद्यालय....

बालाजु सडक विस्तारले सुकुम्बासी बनाएकाहरु-५ : रामवीर मानन्धरले पावर देखाउन बस्तीमा डोजर चलाए

२०२१ मा सोही घरमा स्थानीय युवाहरुले ‘नवप्रकाश प्राथमिक विद्यालय’ खोले। चन्द्रमानका नातीहरुले सोही विद्यालयबाट कखरा सिके। चन्द्रमानका तीन भाइ छोरा थिए। सबै परिवार सगोलमा बस्थे।....

काँग्रेसका अग्रज नेताको चिन्ता– राजनीति विकृत भयो, युवा नेता चाकडीमा रुमल्लिए

काँग्रेस पूर्वक्षेत्रीय सभापतिसमेत रहेका उनले झापामा नेपाली काँग्रेसको संगठन विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यो कुरा त्यहाँका पाका नेता बताउँछन्।  तर, अहिले उनी पार्टीको....

बाढीसँगै बगेको धर्मको सपना 

तर, उनको सपना २०७१ साउन २९ गतेको बाढीसँग बगेको छ। त्यसराति आएको बाढीले घर–खेत बगाएपछि समाजसेवा त परै जाओस्, दैनिक जीविका चलाउनै मुस्किल परेको छ....

अन्योलबीच खरिदारको विज्ञापन खुलाउँदै लोकसेवा

पदाधिकारीविहीन भएपछि अन्योलको अवस्थामा रहेको आयोगले वार्षिक कार्यतालिका अनुसार चैतको अन्तिम बुधबार खरदार (प्राविधिक) तर्फका दुई वटा विज्ञापनमा दरखास्त आह्वान गर्ने भएको हो। यी विज्ञापन....