इटहरीमा विद्यार्थी आन्दोलन भड्काउने तीन कारण

इटहरीमा विद्यार्थी आन्दोलन भड्काउने तीन कारण

इटहरी : लकडाउन अवधिमा लिइएको शुल्क मिनाहा हुनुपर्ने मागसहित इटहरीको चार वटा निजी कलेजका विद्यार्थी १० दिनयता आन्दोलनमा छन्। 

माग सम्बोधनका लागि सरोकारवाला निकायले चासो नदिएको भन्दै इटहरीको विश्व आदर्श, कस्तुरी, सुष्मा र कोसी कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। 

गत फागुन २६ गते कस्तुरी कलेजबाट सुरु भएको आन्दोलन विश्व आदर्श हुँदै कोसी कलेजसम्म पुगेको हो। आन्दोलनमा सरोकारवाला निकायले चासो नदिएको भन्दै विद्यार्थीले कलेज तालाबन्दी गर्नेदेखि इटहरी उपमहानगरपालिकामा धर्नासम्म दिए। आन्दोलनमा उत्रिएका विद्यार्थीले विश्व आदर्श कलेजमा तोडफोडसमेत गरे। 

विद्यार्थी आन्दोलन भड्किनुमा मुख्य तीन कारण देखिन्छन्।  

१– कलेज सञ्चालकको बेवास्ता 

इटहरी आन्दोलन भड्किनुको एक कारण हो– कलेज सञ्चालकको बेवास्ता। 

आफूले जायज माग उठाउँदा पनि कलेज सञ्चालकले वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको कस्तुरी कलेजका विद्यार्थी निश्चल पौडेल बताउँछन्। 
तर, कलेजले आफैले लकडाउन अवधिको शुल्क मिनाहा गर्न नसकिने बताउँदै आएको छ। 

आफूहरूले आन्दोलन थालेपछि अन्य कलेजका विद्यार्थीले पनि यो माग उठाएको उनी बताउँछन्। 

यसरी सुरु भयो आन्दोलन– 

गत फागुन २६ गते विद्यार्थीले लकडाउन अवधिको शुल्क नलिन कलेज प्रशासनसँग माग गरे। तर, त्यसमा कलेजले सहमति जनाएन। त्यसपछि विद्यार्थीले कलेजमै नाराजुलुस गरे। 

दुई दिनपछि विश्व आदर्श कलेजका विद्यार्थीले यही माग राखेर आन्दोलन सुरु गरे। 

तर, कलेज सञ्चालकले विद्यार्थीको मागबारे चासो नदेखाएको विद्यार्थी निमा तामाङ बताउँछन्। उनका अनुसार कलेज सञ्चालकले मागलाई सम्बोधन गर्नु त परै जाओस्, उल्टै धम्की दिएका थिए। 

त्यसपछि सोही दिन कस्तुरी र विश्व आदर्श कलेजका विद्यार्थी आफूहरूमाथि अन्याय भएको भन्दै ‘वि वान्ट जस्टिस’को नारा लगाएर इटहरी उपमहानगरपालिकाको कार्यालय घेराउ गरे।  

यसैबीच, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले जारी गरेको विज्ञप्तिले आन्दोलन झनै चर्कियो। हिसानले विज्ञप्तिमा शिक्षक–कर्मचारीको तलब दिनुपर्ने भएकाले शुल्क लिएको जनायो। 

कलेज सञ्चालकले शिक्षक–कर्मचारीको तलब दिएको दाबी गरेपछि विद्यार्थीले त्यसबारे ‘भेरिफाई’ गरे। र, शिक्षक–कर्मचारीले तलब नपाएको खुल्यो। त्यसपछि विद्यार्थी झनै आक्रोशित भए। 

कस्तुरी कलेजले समयमै आन्दोलन व्यवस्थापनबारे सोचेर शुल्क मिनाहा गर्ने निर्णय गरेको भए आन्दोलन नभड्किने पौडेल बताउँछन्।

हिसानको बुझाइले पनि आन्दोलन भड्काउनुमा मलजल गरेको प्राध्यापक अर्जुन उप्रेती बताउँछन्। २१ औं शताब्दीका विद्यार्थीलाई गुरुकुलको जस्तो व्यवहार गरिँदा आन्दोलन भड्किएकाे उनको बुझाइ छ। 

हिसान अहिले पनि लकडाउन अवधिको एक–दुई महिनाको शुल्क छुट गर्नेबारे ‘बार्गेनिङ’ गरिरहेको छ। तर, विद्यार्थी लकडाउन अवधिभरिकै शुल्क नतिर्ने अडानमा छन्। 

२– जनप्रतिनिधिको नजरअन्दाज 

जनप्रतिनिधिले विद्यार्थी मागबारे नजरअन्दाज गर्नु इटहरी आन्दोलन भड्काउने अर्काे कारण हो।

जनप्रतिनिधिले विद्यार्थी माग सम्बोधन गर्न पहल नगरेको पौडेल बताउँछन्। एक हप्ताअगाडि उपमेयर लक्ष्मी गौतमले विद्यार्थीलाई भेटेर दुई दिनमै समस्या समाधान गर्ने वाचा गरेकी थिइन। तर, समस्या समाधान भएन, जसले विद्यार्थीमा अविश्वास पैदा भयो। 

यसबारे उपमहानगरपालिका मेयर एवं शिक्षा समिति संयोजक द्वारिकालाल चौधरीले चासो नदिएको विद्यार्थीको आरोप छ। उता मेयर चौधरी भने आफूले आज (बिहीबार)सम्मको समय मागेकोले समस्या समाधानतर्फ ध्यान दिएको बताउँछन्। 

गत आइतबारको बैठकमा सात दिनमा यसबारे निर्णय लिने प्रतिवद्धता जनाएका मेयर चौधरी छलफलमै जुटेको तर्क गर्छन्। 

‘जनप्रतिनिधिले समस्या समाधान गर्ने प्रतिवद्धता गर्ने गरेका छन्,’ पौडेलले भने, ‘सुरुमा विश्वास लागेको थिएन। अहिले मेयरसा’बले नै भन्नु भएकाले विश्वास गरेका छौं। अब पनि माग पूरा भएन भने आन्दोलन जारी राख्छौं।’ 

स्थानीय सरकार जनताको अन्तिम भरोसा भए पनि बेवास्ता गर्नु महाभुल भएको प्राध्यापक उप्रेतीको भनाई छ। 

३– आन्दोलनमा विद्यार्थी संगठनको निर्णायक भूमिका नहुनु 

आन्दोलनमा विद्यार्थी संगठनको निर्णायक भूमिका नहुँदा इटहरीको निजी कलेज आन्दोलन भड्किएको जानकारको बुझाइ छ।

विद्यार्थी आन्दोलन सुरु हुँदा विद्यार्थी संगठनले त्यसमा सहभागिता जनाएका थिएनन्। यसबारे सामाजिक सञ्जालमा विरोध भएपछि विद्यार्थी संगठनले विज्ञप्तिमार्फत आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए। पछि आन्दोलन बढ्दै गएपछि सहभागी भए। 

विद्यार्थीको जायज माग हुँदाहुँदै पनि विद्यार्थी संगठनले आन्दोलनको नेतृत्व गरेर सहमति गराउने आँट गर्न सकेनन्। निजी कलेजका विद्यार्थीले उठाएको माग भएकाले विद्यार्थी संगठनले वास्ता नगरेको बुझाई बढ्दै गएको छ। 

उता नेपाल विद्यार्थी संघ, सुनसरीका जिल्ला सभापति मन्दीप भट्टराई विद्यार्थीको मागको पक्षमा रहेको बताउँछन्। निजी कलेजमा विद्यार्थी संगठन नभएको कारण आफूहरू पछि मात्र आन्दोलनबारे जानकार भएको उनी स्वीकार गर्छन्।

उनको जस्तै तर्क गर्छन् अनेरास्ववियुका सुनसरी संयोजक रोशन रेग्मी। आफूहरूले विज्ञप्तिमार्फत विद्यार्थीको मागमा ऐक्यबद्धता जनाएको र पछि आन्दोलनलाई साथ दिएको उनको भनाइ छ। 

१२ चैत, २०७७, १५:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।