कभर स्टोरी

बालाजु सडक विस्तारले सुकुम्बासी बनाएकाहरु- २ : ‘राणासँग जति पनि धर्म रहेन छ अहिलेको राज्यसँग’

ईश्वरकुमार मैनाली


तस्बिर : कृष्पा श्रेष्ठ ।

काठमाडौं : अहिलेको वीर अस्पताल भएको महाबौद्ध क्षेत्रमा पहिला बस्ती थियो। अस्पताल बनाउन जग्गा कम भएको भन्दै तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले बस्ती हटाउन उर्दी जारी गरे।

जौमुल बेगमका ससुरा चान खाँ त्यही क्षेत्रका बासिन्दा थिए। चान खाँको घर अहिलेको वीर अस्पतालको मध्य भागमा थियो।

स्थानीयले नाइँनास्ती गर्ने सवाल थिए, अस्पताल जो बन्दै थियो। त्यसमाथि राणाको आदेश। चुपचाप मुआब्जा बुझी पोको-पन्तुरो कसेर स्थानीयबासी राज्यले स्थानान्तरण गरिदिएको स्थानमा सरे। चान खाँ पनि छुटेनन्।

महाबौद्धको बास विकासले उठाएपछि स्थानीयलाई राज्यले ठमेलमा बसोबासका लागि जग्गाको बन्दोबस्त गरिदिएको थियो। ठमेल गएपछि चान खाँले आफ्नो पुस्तैनी चुरा-धागोको व्यापार फेरि सुरु गरे।

चान खाँ व्यापारीका अलावा दरबारसँग जोडिएका व्यक्ति थिए। उनी सिकार खेल्न र गीत गाउनमा निपूर्ण थिए। त्यसैले उनी दरबारको प्रिय पात्र थिए।  

‘मेरा ससुरा राजाहरुसँग सिकार खेल्न जान्थे। गीत गाउँथे। रानीहरुको चुरा-पोतेको जिम्मा पनि हाम्रै पसलको थियो,’ चान खाँका माइला छोरा इमान खाँकी श्रीमती जौमुल बेगमले भनिन्, ‘जे-जे भए पनि के गर्नु? सम्पत्ति जोगाउन सकिएन। सुकुम्बासीझैं भइएको छ अहिले।’

बेगम ठमेल स्थानान्तरणपछिको कथा सुनाउँदै थिइन्।

‘राज्यले जग्गा दियो तर घर बनाउन पैसा दिएन। पहिलेदेखि नै हामी पैसावाल थिएनौं,’ बेगम भन्छिन्, ‘घर बनाउँदा ससुराले ब्याजमा पैसा लिएका रहेछन्, ‘भोग बन्दकी’ मा। ऋणको व्याज नतिर्ने र ऋण दिनेलाई घरमा बसेको भाडा नलिने सर्त रहेछ।’

घर बन्यो। चान खाँको परिवार हाँसीखुसी नै बस्न थाल्यो। चान खाँलाई घरको तला बढाउने रहर भयो। त्यतिबेला ठमेल क्षेत्रमा राम्रो पैसामा कोठा भाडामा जान्थ्यो।

घरको तला थप्न जुद्धशमशेरसँग अनुमति लिएका थिए चान खाँले। तर उनको तला थप्ने सपना पूरा भएन। त्यसमा बाधक बनिदिए छिमेकी। त्यही कारणले चान खाँको ठमेलसँग मन मर्यो।

‘घाम छेकिन्छ, हुँदैन,’ छिमेकीले यही भनेर तला थप्न रोक्का गरिदिए। छिमेकी पनि दरबारसँग नजिकका व्यक्ति नै थिए।

‘घरको तला थप्न नमिलेपछि ससुरा बालाजुतिर बस्न थाल्नुभयो,’ बेगम भन्छिन्, ‘२०२७ सालमा ससुरा बित्नु भयो। ठमेलका घरमा ऋण दिने मान्छे नै बसेका थिए। पछि श्रीमानले ठमेल, पिपलबोट नजिकैको घरको हक खोज्नुभयो। तर तिनीहरु दरबारका मान्छे थिए। हामीले केही गर्न सकेनौं। हाम्रो घर उनीहरुले नै हडपे।’

ठमेलबाट बलाजु सरेपछि पनि चान खाँको मन रम्न सकेन छ। उनी फेरि पकनाजोलमा बसाइँ सरे। पकनाजोलमै उनले इहलिला समाप्त गरे।

चान खाँसँगै बालाजु गएका इमान खाँ (बेगमका श्रीमान्) बालाजु नै बसे। इमान र बेगमको विवाह पनि बालाजुकै घरबाट भएको थियो।

‘२०२९ सालमा हरिबहादुर प्रजापति बालाजुका प्रधानपञ्च थिए। उनैले हामीलाई त्यहाँ बस्न अनुमति दिएका थिए। एक आना जति जग्गामा घर थियो। त्यसमै हामी रमाइरहेका थियौं,’ बेगमले भनिन्।

२०७२ मा सडक विस्तारको नाममा बेगमको घर भत्काइयो। त्यसपछि बेगम परिवार सुकुम्बासीझैं हुन पुग्यो।

‘उतिबेला वीर अस्पताल बनाउन जग्गा अपुग भएको कारण बुढा ससुराले राज्यले दिएको मुआब्जा लिएर पुस्तैनी थातथलोलाई विदाइ गरे। ठमेलमा छिमेकीले जालझेल गरेर राज्यले दिएको बास हडपे। अहिले हाम्रो उठिबास भयो,’ बेगम भावुक हुँदै भन्छिन्, ‘हाम्रो भाग्यमा जता गए पनि राज्यले लखट्नै लेखेको रहेछ।’

बेगमका श्रीमान् इमान खाँ २०६८ मा बिते। ‘धन्न श्रीमानले घर भत्किएको देख्नु परेन,’ बेगम भन्छिन्, ‘बालाजु औद्योगिक क्षेत्रको उहाँ मजदूर नेता हुनुहुन्थ्यो। उहाँले एउटा घर बनाउन पुग्ने पैसा २०३६ सालमा मजदूरको अधिकारको लागि मुद्दा लड्दै सक्नुभयो। मजदूरका पक्षमा बोल्ने मान्छेका सन्तानको पक्षमा बोलिदिने कसले?’

इमान खाँकै नेतृत्वमा भएको विद्रोहले मजदूर महिलालाई सुत्केरी भत्ता,  ज्यालादारी गर्नेको परिवारलाई समस्या पर्दा राहतको व्यवस्था भएको बेगम बताउँछिन्।

‘मलाई नाम त याद भएन। तर बालाजु औद्योगिक क्षेत्रका हाकिमसँग मुद्दा गर्नुभएको थियो, मजदूरको पक्षमा,’ उनले भनिन्, ‘यही ठाँउमा हुर्केको–बढेको, परिवार सबै चिनेको मान्छेले त केही गरेन। श्रीमान् कुनै बेला मजदूर नेता थिए, कसैले केही गरेन भनेर के मन दुखाउनु!’

बेगम राज्यमन्त्री रामवीर मानन्धरलाई लक्षित गर्दै भन्छिन्, ‘उनी हाम्रा छिमेकी हुन्, उनैले हाम्रो बास जोगाउन पहल गरेनन्।’ रामवीरले छिमेकी भएर छिमेकीको धर्म ननिभाएकोमा बेगमको चित्त कुँडिएको छ।

अन्य पीडितले जस्तै बेगमले पनि मन्त्री मानन्धरसँग आफ्नो अवस्थाको बारेमा जानकारी गराएकी रहिछिन्।

‘अहिले मन्त्री भए। हाम्रा कुरा सुन्दैनन्। एक जानालाई दिएर हुँदैन भन्छन्। बास उठाएपछि बास दिनु पर्दैन त?,’ बेगम प्रश्न गर्छिन्, ‘मन्त्रीले भने त राज्यले दिँदो हो नि हामीलाई बास।’

उनको एक तले घर थियो। त्यही घरले बेगमको परिवार चलाइरहेको थियो। उनका तीन भाइ छोरामध्ये एक बिते। छोरी विदेश छिन्। बेगम भन्छिन्, ‘त्यही घरको सहारामा सन्तान हुर्काएँ। सम्पत्तिका नाममा त्यही एउटा घर थियो, त्यो पनि राज्यले देख्न सकेन।’

घर भत्किएपछि बेगमको परवार तितरवितर भयो। ‘बाँच्नलाई खान परिहाल्यो। खान पैसा चाहियो। आफ्नो सम्पत्ति केही छैन। दुई छोरा काम खोज्दै काठमाडौं बाहिर गएका छन्। कान्छो छोरो बितिगो। नातिको सहारामा छु,’ बेगमले भनिन्।

काठमाडौंको लामबगरमा तीन कोठा भाडामा लिएर बसेको छ, बेगमको परिवार।

बेगमलाई आफू रहँदै राज्यले न्याय दिए हुन्थ्यो भन्ने लागेको छ।

‘पसलको सामान समेत निकाल्न नदिई घर भत्काए। राज्यले गरिबमाथि अन्याय गर्यो,’ बेगम सुनाउँछिन्, ‘शनिबारको दिन थियो। म घरमा थिइनँ। त्यही बेला घर भत्काएछन्।’

न्यायको पर्खाइमा छिन् बेगम। ‘चाँडो न्याय पाए हुन्थ्यो। श्रीमानले जोडेको सम्पत्ति छोराहरुलाई सुम्पिन पाए ढुक्क हुन्थ्यो,’ उनको यही एउटा इच्छा छ।

बेगम पेट सम्बन्धी रोगले ग्रसित छिन्। उनी अहिले अस्पताल भर्ना भएर उपचार गराइरहेकी छिन्।

०००
बेगमका ससुरालाई राणाहरुले जनकपुरमा २० बिघा जग्गा बक्सिस दिएका रहेछन्। त्यो पनि गाउँलेहरुले भाला देखाएर लुटेका रहेछन्।

लामो सुस्केरा हाल्दै बेगम विगत सम्झिन्छिन्, ‘ससुराको कामबाट खुसी भएर राणाहरुले जनकपुरमा २० विघा जग्गा बक्सिस् दिएका थिए। सामान लिन भारत जाँदा गाउँलेहरुले भाला देखाएर कागजमा राजीनामा गर्न लगाएर त्यो जग्गा पनि ससुराकै पालामा लुटे।’

आफ्नो परिवरमाथि नै सधैं विपत्ति आइपरेको देख्दा उनको मन विचलित भएको छ।

‘अहिले म बिरामी छु। छोराहरुले जेनतेन घर चलाएका छन्। विवाह गरेर अमेरिका गएकी छोरीको आश गर्न पनि भएन,’ उनको दुखेसो छ, ‘राज्यले घर भत्काएको क्षतिपूर्ति भनेर ५२ हजार रुपैयाँ तोकिदएको छ। ५२ हजार बोकेर कता घर खोज्न जानु।’

राज्यसँग उनको माग भनेको पुनर्स्थापना हो। ‘कानुनले के भन्छ, भन्दैन म जान्दिनँ। तर हामी घरबासविहीन छौँ। हाम्रो घर कतै भए राज्यले लिए हुन्छ। होइन भने हामीलाई हाम्रै ठाउँमा राखिदेऊ।’

आफू बसिरहेको ठाउँमा बस्न नदिने हो भने अन्त बास मिलाइदिन वा बास आउने पैसा दिन उनको आग्रह छ। ‘राणासँग जति पनि धर्म रहेन छ अहिलेको राज्यसँग,’ उनी आक्रोस पोख्छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिने प्रस्ताव के हुँदै छ ? 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट आन्तरिक पर्यटन प्रवर्द्धन मुख्य उद्देश्य राखेर तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले सो प्रस्ताव अगाडि बढाएका थिए। उनी मन्त्रालयबाट....

बालाजु सडक विस्तारले सुकुम्बासी बनाएकाहरू–४ : बास भएन, सरकारको नि आश छैन

आफ्नो क्षेत्रमा परिचित ठेकेदार भएकै कारण उनी घर बनाउने, पर्खाल लगाउने, बिग्रिएका भौतिक संरचना मर्मत गर्ने कामको अभाव थिएन।  चञ्चल मन नथाम्दा उनको परिवारको संख्या....

नयाँ सरकार: काँग्रेसको बिँड तात्यो,ताप्के तातेन, जसपा : न यता न उता 

यससँगै लामो समयपछि काँग्रेसले कसलाई समर्थन गर्ला भन्ने मौनता पनि  तोडियो। काँग्रेसको निर्णयसँगै एमाले वा कांग्रेस बाहेकको नेतृत्वमा सरकार बन्ने सम्भावना बन्द भयो। तर, त्यसपछि पनि....

वीर अस्पतालमा भएको एउटा सिटी पनि थन्कियो

सिटी स्क्यान गर्न आएका बिरामीलाई उनीहरूले‘ मेसिन बिग्रिएको छ’ भन्दै अन्य अस्पताल पठाइरहेका छन्।  अस्पताल अधिकारी सिटी मेसिन बन्न नसक्नुको कारण सिटी बनाउन कम्पनीलाई अनुमति....

बालाजु सडक विस्तारले सुकुम्वासी बनाएकाहरू–३ : राज्यले बास उठायो, त्यही चिन्ताले कान्छो भाइ बित्यो

९ भाइकै विवाह भइसकेको थियो। कृष्णप्रसादको एक सन्तान जन्मिसकेको थियो। अरू भाइहरूका पनि जायजन्म हुँदै थियो। परिवारको निम्न आर्थिक अवस्था बुझेका थिए कृष्णप्रसादले। त्यसैले पढ्नमा....