७० वर्षमा डिग्री, अब पिएचडीको सुरसार

७० वर्षमा डिग्री, अब पिएचडीको सुरसार
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौं : नानीमैया श्रेष्ठ (७१) यस्तो समयमा जन्मिइन्, जतिबेला छोरीलाई पढाउनै हुन्न भन्ने सामाजिक परिवेश थियो। अर्काको घरमा जाने जातले चुल्हो–चौकोको काम मात्र सिक्नुपर्छ भन्ने मान्यताले जरो गाडेको समाजमा नानीमैयाले सहजै पढ्न पाउने कुरै थिएन।

छोरीलाई विद्यालय टेक्नै नदिने समाजमा हुर्किएकी नानीमैयालाई सानैदेखि पढाइको भोक थियो। दाइ–भाइ स्कुल गएको देख्दा उनलाई आफूले पढ्न नपाएकोमा चिन्ता लाग्थ्यो।

दाइहरुले पढेको देख्दा नानीमैया आफूलाई पनि पढाउन बुबासँग ढिपी गरिरहन्थिन्। कहिले तमाखु भरेर त कहिले अन्य काम सघाएर बुबालाई फकाइरहन्थिन्। धेरै ढिपी गरेपछि बुबाले उनलाई स्कुल जाने अनुमति दिए। स्कुल भर्ना हुँदा नानीमैया १० वर्षकी थिइन्।

पढ्ने भोक जागेपछि उमेरले छेक्दैन भन्ने उदाहरण हुन्, नानीमैया। ३० वर्षको उमेरमा बिए पास गरेकी उनले त्यसको ४० वर्षपछि एमए उत्तीर्ण गरिन्। ७० वर्षमा डिग्री हासिल गरेकी नानीमैयालाई पढाइको भोक भने अझै मरेकोे छैन। उनी अब पिएचडी गर्ने सोचमा छिन्। स्कुले जीवनदेखि डिग्री हासिल गर्दासम्मको आफ्नो अनुभव नानीमैयाले यसरी सुनाइन्ः

दाइहरु किताब बोकेर पढ्न गएको देख्दा मलाई पनि पढ्ने रहर जागेर आउँथ्यो। पढेर ठूलो मान्छे बन्ने सपना थियो सानैदेखि। त्यसमा पनि महिलालाई शिक्षा नभई हुँदैन भन्ने लाग्थ्यो। घरमा बुबाले जे भन्यो त्यही हुन्थ्यो। आमा केही बोल्न सक्नुहुन्नथ्यो। आमाले नपढेका कारण छोरा र छोरीमा भेदभाव भएको हो कि जस्तो पनि लाग्थ्यो मलाई।

म बुबालाई सधैं म पनि पढ्न जान्छु भनेर ढिपी गर्थें। म हरेक दिन तमाखु भरेर तपाईंले जे भन्यो त्यही मान्छु, पढ्न पठाउनूस् भनेर बुबालाई फकाउँथें। बुबालाई एक दिन के भएछ कुन्नी, दाइलाई बोलाएर भोलिदेखि उसलाई पनि स्कुल लैजाऊ भनेर आदेश दिनुभयो। त्यसपछि सुरु भयो मेरो पढाइको यात्रा।

स्कुल भर्ना हुँदा दस वर्षको भइसकेको थिएँ। घर फर्केपछि पढ्ने मौका नहुने भएकोले होमवर्क जति स्कुलमै ब्रेक टाइममा सकाउँथें। घरमा बुबालाई तमाखु भर्ने, काममा आमालाई सघाउनु पर्थ्यो।

एसएलसी दिने बेलामा समेत काम सकेर पढ्न बस्दा मैनबत्ती निभाइदिन्थे। आइए पढ्न पनि धेरै संघर्ष गर्नुपर्यो। केटासँग बोल्न नपाउने सर्तमा आइए भर्ना भएँ। बिए भर्ना हुन पनि जागिर नखाने, जे भन्यो त्यही मान्ने सर्त राखियो। भर्ना त भएँ तर बिए पढ्दापढ्दै मेरो विवाह भयो।

०००

मलाई इतिहासमा निकै रुचि थियो। भाइले लाइब्रेरीबाट किताबहरु ल्याइदिन्थ्यो। माइला दाइले हिन्दी किताब नपढ भन्नुहुन्थ्यो तर लुकीलुकी पढ्थें । यसरी धेरै नै बाह्य किताबहरु पढें। पढ्ने बानी भनेको जति पढे पनि नपुग्ने नशा जस्तै बन्यो।

श्रीमानको घरमा पढाइलाई नै बढी प्राथमिकता दिइन्थ्यो। मेरो र दिदीको दाजुभाइसँग विवाह भएको हो। विवाहपछि दिदीलाई ५ कक्षादेखि पढ्न पठाइयो। दिदीलाई पढाउन भिनाजुले ललितपुरमा प्रौढ विद्यालय खोल्नु भएको थियो। उहाँले एसएलसीसम्म पढ्नुभयो। मलाई पनि पढाइलाई  निरन्तरता दिन गाह्रो भएन। बरु घरको काम र बालबच्चाले गर्दा केही असहज भने भयो। सुत्केरी अवस्थामा पनि म मनमनै पढेर जाँच दिन जान्थें।

मैले बिए पास गरेको खबर सुन्दा बुबा निकै खुसी हुनुभयो। रोक्दारोक्दै मेरो पढाइले गति लिएकोमा उहाँ दंग हुनुहुन्थ्यो।

जीवनमा पढ्ने मात्रै चाह भयो। जेजे गरियो पढ्नकै लागि गरियो। पढाइ मेरो लागि पीडामा मल्हम, भोकमा खाना र बिरामीमा औषधि जस्तै भयो।

पहिले धेरै पढेर मिस बन्छु भन्थें। सुरुमा मैले मिस बन्नकै लागि पढेको थिएँ। पढेर मिसमात्र होइन, धेरै व्यावहारिक ज्ञान हासिल गरिएछ। मैले विश्व निकेतन स्कुलमा २७ वर्ष पढाएँ। रिटायर्ड भएको पनि ६–७ वर्ष बितिसक्यो।

मैले ३० वर्षको उमेरमा बिए उत्तीर्ण गरें। ३ जना छोराछोरी, काठमाडौंसम्म धाउनुपर्ने भएकोले चाहेर पनि पढ्न सकिनँ। घरधन्दा, परिवार, छोरीलाई हुर्काउन र स्कुलमा जाँदाजाँदै समय बितिहाल्यो। तर, पनि मैले बीचमा बिएड पनि गरें।

०००
रिटायर्ड भएपछि ४–५ वर्ष घर बस्दा उकुसमुकुस भयो। के गरुँ, कसो गरुँ जस्तो। यसरी घरमै बसिराख्यो भने बिरामी नै हुन्छु जस्तो लाग्यो। चलिरहेको मेसिनलाई नचलाउँदा खिया लागेर बिग्रने थाहा थियो, त्यसैले एमए पढ्न जाने सोच बनाएँ।

सुरुमा त श्रीमान् र कान्छी छोरीले मानिरहेका थिएनन्। यतिका वर्ष व्यस्त भयौ, अब आराम गर्नुपर्छ भन्ने उनीहरुको आसय थियो तर मेरो मनले मानेन। बुढी भइसकेपछि किन पढ्नुपर्यो समेत भने उनीहरुले।

जेठी छोरी जापानमा बस्छिन्। मेरो पढाइप्रतिको लगाव र रुचि देखेर उनले जापानमा सबै रिटायर्ड भएपछि पढ्छन्, ममीले पढ्न सकिहाल्नुहुन्छ नि भनेपछि ममा ऊर्जा थपियो। त्यसपछि मलाई कसैले रोकेन। अनि ६८ वर्षको उमेरमा मैले पढ्न जाने निधो गरें।

पढाइ छोडेको ३८ वर्षपछि पढ्न जाँदा मलाई उत्सुकता र उत्साह भयो। अप्ठ्यारो चाहिं पटक्कै भएन। मलाई पढाइको भोक मरेकै थिएन। झन् रमाइलो पो लाग्यो।

०००

सेतो कपाल र चाउरिएको अनुहार लिएर पाटन कलेजमा नेपाल भाषामा एमए पढ्न गएँ। कलेजभरि हल्ला भइसकेको रहेछ, एकजना बुढी मान्छे कलेज पढ्न आएको छ भनेर। पालैपालो हेर्न आउँथे। सरले पनि बुढी मान्छे किन पढ्न आएको भन्थे। मेरो एउटै रेडिमेड उत्तर हुन्थ्यो, तपाईंहरुसँग सिक्न आको नि। अनि सबै चुप लाग्थे।

केही दिन त कतिपयले काकी, आन्टी, आमा भनेर बोलाउँथे। सबैमा एउटै कौतुहलता थियो, यो उमेरमा किन पढ्न आएको होला भन्ने। स्कूलमा लामो समय काम गरेकोले होला म बच्चा, युवा जोसँग पनि उस्तै भएर कुरा र व्यवहार गर्न सक्छु। पछि उनीहरु मलाई दिदी भनेर बोलाउन थाले। मेरा त झन् धेरै साथी बने। म उनीहरुलाई भाइसाथी र बहिनीसाथी भन्थें।

एक वर्षसम्म महालक्ष्मीस्थानदेखि पाटनढोकासम्म हिँड्दै पढ्न आउने–जाने गरें। ११ बजे घर पुगेर खाना बनाएर म र श्रीमान खाने गथ्र्यौं। मेरो पढ्ने जाँगर देखेर खाना चाहिं श्रीमानले पकाएर राख्न थाल्नुभयो।

एमएको पहिलो वर्षमा एउटा विषयमा फेल भएँ। दोस्रो वर्षमा एकैचोटी उत्तीर्ण भएँ। मैले दुई वर्षमै एमए पास गरेको हुँ।

मास्टर डिग्रीको ग्र्याजुएसन कार्यक्रममा जाँदा मलाई धेरैले याद गरे। धेरैले मसँग फोटो खिचाए, अन्तर्वार्ता लिए। यो उमेरमा त पढ्ने भनेर मलाई प्रेरणाको रुपमा लिए। धेरै चाहेर समयमा पढ्न नसकेका महिला दिदीबहिनीको लागि उदाहरण बन्न पाएकोमा दंग छु।

मैले केही समयअघि नेपाल भाषाका पुस्तक पनि लेखें। लेखाइमा मिहिनेत गरेर कृतिहरु दिने सोच पनि छ। शरीरले साथ दियो भने फेरि पढ्छु। कलेज प्रशासनले पनि दिदीले पढ्ने भए पिएचडी गर्न यहीँबाट मिलाइदिन्छु  भनेको छ। अब पिएचडी गरौंकी भन्ने सोच पलाउन थालेको छ।

१० चैत, २०७७, १२:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।