उकेरा टप पाँच : वीर–ट्रमा मेसिन खरिद अनियमिततादेखि प्रधानमन्त्रीको अटेरीपनसम्म

उकेरा टप पाँच : वीर–ट्रमा मेसिन खरिद अनियमिततादेखि प्रधानमन्त्रीको अटेरीपनसम्म

काठमाडौँ : आज सोमबारको मुख्य राजनीतिक खबर एमालेका नेताहरूबिच बढ्दो दुरी र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले आफूसँग असहमत एमाले नेताहरू विरुद्ध सुरु गराएको कारबाही शृङ्खलाको वरिपरि नै घुम्यो।

अदालतबाट एमाले ब्युँतिएपछि एकलौटी रूपमा आफू निकट नेताहरूको बैठक राखेर आफू अनुकूल निर्णय गराउँदै आएका ओलीले केन्द्रीय समितिमा भएको निर्णय भन्दै आज एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण पत्र पठाए महासचिव ईश्वर पोखरेल मार्फत।

उनीहरूले फागुन २८ गते बसेको भनेको एमालेको केन्द्रीय समितिको बैठक नै अवैध मान्दै आएका छन्। तर एमालेभित्रको राजनीति अगाडि बढ्न मुख्य कारक सोही बैठक बनेको छ। दिनभर उनीहरूले प्रस्टीकरण दिन्छन् या दिन्नन् भन्ने अन्यौलै रह्यो। बेलुकातिर माधव निकट स्थायी समिति सदस्यहरुको बैठकले पत्र पठाउने तर स्पष्टीकरणको रूपमा नभई राजनीतिक रूपमा जवाफ दिने निर्णय गर्यो।

उकेरामा टप पाँच

सारङ्गीमा जीवन सुनाउँदै 

उकेराले सोमबारको प्रारम्भ हेमलाल गन्धर्वबाट गर्यो। रुपन्देही, रुद्रपुर–६ का गन्धर्व बिहान ६ बजे घरबाट निस्कन्छन्। सधैँ एउटा हातमा सारङ्गी र अर्को हातमा झोला बोकेर घरबाट निस्कने उनको दिनचर्या सारङ्गी बजाएरै बित्ने गर्छ। 

घरबाट निस्केपछि उनी कहिले जिल्ला बाहिरसम्म पुग्छन् त कहिले नजिकका विभिन्न टोलमा। सारङ्गीको तालमा देशभित्र र बाहिर घटेका घटनालाई मार्मिक तरिकाले सुनाउने उनको जीवन गाथा पनि अरू कसैका लागि भने कथा बन्न सक्छ।

छोरी डाक्टर पढ्छु भन्छिन्, राजनलाई रातभर निद्रा पर्दैन

दोस्रो सामाग्री उकेराको नियमित स्तम्भ भुइँ मान्छेको कथामा रिक्सा चालक राजन श्रेष्ठको सपनाबारे।

मेरो परिवार पाल्ने यो रिक्सा फेमस छ यतातिर।

‘एउटा कुरा छ’ भन्ने गीत युट्युबमा हेर्नु भएको छ? त्यहाँ हरिवंशले रिक्सा चलाएका छन् नि, त्यो मेरै रिक्सा त हो नि।

गजबको संयोग पर्यो त। सुटिङका लागि कौशल टारबाट रिक्सा ल्याएका रहेछन्। तर बिग्रेछ। त्यही बेला म त्यता पुगेँ। मेरो रिक्सा मागे, मैले दुई हजार भाडामा दिएँ। दिनभरलाई दिएको रिक्सा दुई घण्टामै फिर्ता दिए।

हरिवंशलाई रिक्सा चलाउन सिकाउन मन थियो। तर उनकै साथीले सिकाए।

अचेल त मेरो रिक्सालाई मान्छेहरू जिस्क्याउँछन्, फेमस रिक्सा भनेर। भिडियोमा देखिँदैमा फेमस के हुन्थ्यो। जति फेमस भए पनि चार्ज नगरी कुद्दैन।

वीर-ट्रमा मेसिन खरिद प्रकरण : ९ करोड अनियमितता गरेर दुई वटा मेसिन किनियो, एउटा त्यसै थन्क्याइयो

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भइरहेको अनियमितताबारे उकेराले नियमित सामाग्री प्रकाशन गर्दै आएको छ। सोमबार हामीले वीर र ट्रमामा भएको अर्को खरिदको बदमासीबारे सामाग्री प्रस्तुत गर्यौ।

खरिद प्रक्रियामै विवादमा आएको मस्तिष्क र मेरुदण्डको शल्यक्रियाका लागि अत्यावश्यक मेसिन राष्ट्रिय ट्रमा सेन्टरमा चलाउँदै नचलाई थन्किएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले झन्डै ९ करोड अनियमितता गरेर खरिद गरेका २ वटा ‘इन्ट्राअपरेटिभ सिटी मेसिन’ मध्ये एउटा मेसिन राष्ट्रिय ट्रमा सेन्टरमा थन्क्याइएको हो। एउटा मेसिन २० करोड ४९ लाख रुपैयाँमा खरिद गरिएको थियो।

सस्तोमा मेसिन किन्न प्रस्ताव गर्ने कम्पनीलाई खरिद गर्न नदिएर महँगोमा खरिद गरेपछि विवाद निम्तिएको थियो।

युवा उद्यमीको गुनासो ‘ऋण गरेर व्यवसाय गरियो, उत्पादन बिक्दैन, अनुदान पनि छैन’

वीरेन्द्रनगर–१०, खजुराका मुरारीजंग थापा (सुवास) ले चार वर्षदेखि ‘वीरेन्द्रनगर अर्ग्यानिक कृषि फर्म’ मार्फत कालो धान उत्पादन गरिरहेका छन्। बिबिए अध्ययन सकेर कृषि कर्ममा लागेका थापाले कर्णालीमै पहिलो पटक कालो धान उत्पादन थालेका थिए।

घरपरिवारले बिबिए पढेर बैङ्क तथा वित्तीय संस्थामा काम गर्न प्रोत्साहन गरे पनि थापाले परम्परागत कृषिलाई परिष्कृत गर्दै विभिन्न समूह र बैङ्कबाट सात लाख रुपैयाँ ऋण गरेर व्यवसाय सुरु गरेका थिए।

प्रधानमन्त्रीले नै मानेनन् स्वास्थ्य मन्त्रालयको आग्रह, बालुवाटारमा गरे बालबालिकाको भेला

र, स्वास्थ्य मन्त्रालयले सभा सम्मेलन नगर्न गरेको आग्रह प्रधानमन्त्रीबाटै अवज्ञा भएको सामाग्री पस्कियौँ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपिलमार्फत नेपालमा पनि कोरोना फैलन सक्ने भन्दै सभा, सम्मेलन र भेला नगर्न आग्रह गर्यो। आग्रह आएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा बालबालिका भेला पारेर‘ इमानदार बन्नु’ भन्दै शिक्षा दिए। कार्यक्रममा सहभागी बालबालिकाले मास्क त बोकेका थिए तर सबैले मुख छोपेका थिएनन्।

९ चैत, २०७७, २३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।