कलामा स्त्रीशक्तिको प्रतिबिम्व

कलामा स्त्रीशक्तिको प्रतिबिम्व
तस्बिर : कृष्पा श्रेष्ठ ।

काठमाडौं : ललितपुरको चाकुपाटस्थित क्लासिक ग्यालरीमा नेपाली कला क्षेत्रमा स्थापित १० जना महिला कलाकारको सामूहिक चित्रकला प्रदर्शनी सुरु भएको छ।

एक महिनासम्म चल्ने सो प्रदर्शनीमा रिफलेक्सन अफ फेमिनाइन पावर अन आर्ट अर्थात् ‘कलामा स्त्रीशक्तिको प्रतिबिम्व’ शीर्षकमा चित्रहरु समावेश छन्।

कलाकारहरु विधाता केसी, जस्मिन राजभण्डारी, सरिता डंगोल, सौरगंगा दर्शनधारी, सुशीला सिंह, रिती महर्जन, कुन्ती थापा मगर, रविता किसी, रुकुमणि श्रेष्ठ र नम्रता सिंहले महिला, बालबालिका र समाजका विसंगतीहरुलाई कलाको माध्यमबाट पस्केको देखिन्छ ।

प्रदर्शनीमा १० जना कलाकारका १० वटा विषयमा सुन्दर कलाहरु छन्। त्यसमा कलाकार विधाता केसीले मुस्ताङका घरहरुलाई ३ वटा क्यानभाष बनाएकी छिन्। यसमा उनले मुस्ताङमा पनि कंक्रिटका घरहरु बन्दै गर्दा त्यहाँको सुन्दरता र प्रकृतिको नाश हुँदै गएकोमा चिन्ता व्यक्त गरेकी छिन्।

प्रदर्शनीका कला देखाउँदै उनले भनिन्, ‘जहाँ जस्तो संस्कृति छ, त्यसलाई जगेर्ना गर्नुपर्छ। मान्छेहरु कंक्रिट घर हेर्न मुस्ताङ किन जाने?’

सौरगंगा दर्शनधारीको कलामा लकडाउनको समयमा घरमै बस्दाको उकुसमुकुसलाई प्रतिबिम्वित गरिएको छ भने कलाकार जश्मिन राजभण्डारीले मानवीय जीवनयापनका लागि गरिने संघर्षलाई कला मार्फत उतारेकी छिन्।

यसैगरी रुकुमणि श्रेष्ठको चित्रमा महिलामाथि हुने हिंसा र भेदभावलाई उजागर गर्ने जमर्को गरिएको छ।

त्यस्तै सेरामिक्स कलामा नाम कमाएकी कलाकार सुशीला सिंहले बनाएका अलगअलग सेरामिक्स घरहरु प्रदर्शनीमा राखिएको छ।

९ चैत, २०७७, १८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।