प्रधानमन्त्री ओलीले बालबालिकालाई भने‘इमानदार हुनु’

प्रधानमन्त्री ओलीले बालबालिकालाई भने‘इमानदार हुनु’
तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडाै‌ :प्रधानमन्त्री केपी शर्मा ओलीले इमानदार भएर काम गर्न बालबालिकाहरूलाई आग्रह गरेका छन्। बालबालिकासम्बन्धी १० वर्षे रणनीतिले सम्बोधन गर्नुपर्ने समस्याबारे छलफल र सुझाव लिन देशका विभिन्न भागबाट प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका बालबालिकाहरूलाई उनले भने‘ ‘तपाईँहरूले सिर्जनात्मक बन्दै नयाँ रेकर्ड बनाउनुपर्छ।’ 

प्रधानमन्त्रीको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार प्रधानमन्त्री ओलीले बालबालिकालाई आफ्नो कामप्रति इमानदार रहन सम्झाउँदै  पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमानदार ढङ्गले सहभागी हुन सुझाव दिएका थिए।

उनले नेपालका बालबालिका ज्ञानमा निपुण तथा आविष्कारक पूर्वजको सन्तति भएको बताउँदै मेहनत गरे जुनसुकै काम गर्न पनि बालबालिकाहरू सक्षम हुने बताए।

पूर्वजहरूले ज्ञान विज्ञानका धेरै कुरा आविष्कार गरेर अहिलेका मानिसलाई सजिलो पारिदिएको बताउँदै उनले भने‘ त्यस्ता ज्ञानी पुर्खाको सन्तान हामीले मेहनत गरेर प्रगति गर्नुपर्छ।’

बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरूको समूह कन्सोर्टियम नेपालद्वारा आयोजित कार्यक्रममा बालबालिकाहरूले परिवार र समाजमा बालमैत्री वातावरण बन्नु पर्ने, विद्यालय व्यवस्थापन समितिसहित स्थानीय तहका बालबालिका सम्बन्धी संरचनामा बाल क्लबहरूका बालबालिकाहरूको अनिवार्य र अर्थपूर्ण प्रतिनिधित्व गराउनुपर्ने र बालमैत्री स्थानीय शासनलाई सबै स्थानीय सरकारले लागु गर्नुपर्ने सुझाव दिएका थिए।

स्थानीय शासन सम्बन्धी परिमार्जित राष्ट्रिय रणनीति मन्त्रीपरिषद् पारित हुनु पर्ने उनीहरूले माग गरेको सचिवालयले जानकारी दिएको छ।

९ चैत, २०७७, १७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।