इम्बोस्ड नम्बर प्लेट जडानमा देखिएन आकर्षण 

इम्बोस्ड नम्बर प्लेट जडानमा देखिएन आकर्षण 

काठमाडौँ : सरकारले सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न थालेको छ। तर, सवारी धनीहरू इम्बोस्ड नम्बर प्लेट जडानमा आकर्षित देखिएका छैनन्। 

यातायात व्यवस्था विभागले गत साउनदेखि साना तथा ठुला सबै प्रकारका सवारी साधनको सामान्य नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेटमा रूपान्तरण गर्न थालेको हो। 

यसअघि २०७३ वैशाखमा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न भन्दै यातायात व्यवस्था विभागले अमेरिकी र बङ्गलादेशी संयुक्त कम्पनी डेकाटुर टाइगरसँग सम्झौता गरेको थियो। 

४ करोड ९० लाख डलरमा पाँच वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिने सम्झौता भएको थियो। सम्झौता अनुसार विभागले २०७४ भदौदेखि इम्बोस्ड नम्बर प्लेट जडानसमेत सुरु गरेको थियो। तर, प्लेटको नम्बर रोमन थियो। भाषाविद्हरूले नेपाली भाषामा लेखिनुपर्ने माग राखे। उनीहरूले देवनागरी लिपिमा नम्बर प्लेट हुनुपर्ने माग गर्दै अदालतमा मुद्दासमेत दायर गरे। उक्त मुद्दामाथि सर्वोच्चले २०७४ माघ १० गते तत्काल काम रोक्न अन्तरिम आदेश जारी गर्यो। अदालतको आदेशपछि इम्बोस्ड नम्बर प्लेट जडानको काम पनि रोकियो। तर, फेरि अदालतले २०७६ मङ्सिर २७ गते रिटहरू खारेज गरिदियो। 

२०७७ असारमा फैसलाको पूर्ण पाठ प्राप्त भएसँगै रोमन लिपिमै नम्बर प्लेट जडान गर्ने बाटो खुल्यो। सो पश्चात् २०७७ साउन १ गतेदेखि विभागले इम्बोस्ड नम्बर प्लेट जडानको कामलाई पुनः निरन्तरता दिएको हो। 

नयाँ सवारीलाई अनिवार्य

सबै सवारीमा इम्बोस्ड नम्बर अनिवार्य रूपमा जडान गरिने छ। सुरुमा नयाँ सवारीमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने व्यवस्था गरिने यातायात व्यवस्थापन विभागले जनाएको छ। बिस्तारै पुराना सवारीमा समेत जडान गर्दै लगिने विभागको योजना छ। पुराना सवारीमा लटअनुसार इम्बोस्ड नम्बर प्लेट जडान गर्दै जाने विभागको तयारी छ। 

बाग्मती प्रदेशभित्र नयाँ सवारी दर्ता हुने सबै सवारीमा यही चैतदेखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गरिने भने पनि सो व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन। चैतभित्रै यो व्यवस्था कार्यान्वयनमा ल्याइने गरी तयारी भइरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए। 

अन्य प्रदेशहरूमा पनि नयाँ सवारी खरिद गर्दा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गरिने व्यवस्था मिलाइने निर्देशक पौडेलले जानकारी दिए। खरिद भइसकेका पुराना सवारीमा समेत खरिद मिति अनुसार भर्खरै खरिद गरेका सवारीमा पहिला र पुराना सवारीमा बिस्तारै इम्बोस्ड नम्बर प्लेट जडान गर्दै लैजाने उनको भनाइ छ।

‘यही चैतभित्र नयाँ सवारी खरिद गर्दा नै अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गरिने छ। अरू खरिद भइसकेका सवारीमा खरिद मिति अनुसार क्रमशः इम्बोस्ड नम्बर प्लेट जडान गर्दै लैजाने तयारी छ। हामी छिट्टै सूचना जारी गर्छौँ,’ निर्देशक पौडेलले भने। 

तोकिएको समयमा इम्बोस्ड नम्बर प्लेट जडान नगरी सवारी चलाएको अवस्थामा सडकबाटै ट्राफिक प्रहरीमार्फत कारबाही गरिने उल्लेख छ। अब दुई वर्षभित्रमा सबै सवारीमा इम्बोस्ड नम्बर जडान गरिसक्ने तयारी रहेको विभागले जनाएको छ। 

इम्बोस्ड नम्बर प्लेट जडानमा देखिएन आकर्षण 

विभागका अनुसार देशभर ३५ लाख ९१ हजार सवारी दर्ता छन्। जसको ८० प्रतिशत मोटरसाइकल छन्। हालसम्म साना तथा ठुला ६ हजार सवारीमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान भएको विभागले जनाएको छ। इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारीमा अधिकांश निजी छन्। थोरै सङ्ख्यामा सरकारी सवारीले इम्बोस्ड नम्बर प्लेट जडान गरेका छन्।

सार्वजनिक सवारीले इम्बोस्ड नम्बर जडान थालेका छैनन्। पछिल्लो तथ्याङ्क हेर्दा इम्बोस्ड नम्बर प्लेट जडानमा आकर्षित हुन सकेको छैन। निकै न्यून सङ्ख्यामा मात्रै इम्बोस्ड नम्बर जडान भएपछि विभागले कडाइका साथ यो व्यवस्था लागू गर्ने तयारी थालेको विभागका निर्देशक पौडेलले बताए।

किन देखिएन आकर्षण? 

साधारण नम्बर प्लेटभन्दा इम्बोस्ड नम्बर प्लेटको मूल्य महँगो छ। ठुलो सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न ३ हजार ६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ। मझौला सवारी तथा सानो (चार पाङ्ग्रे सवारी) मा इम्बोस्ड नम्बर जडान गर्न ३ हजार २ सय शुल्क तिर्नुपर्छ। सानो (तीन पाङ्ग्रे सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न २ हजार ९ सय रुपैयाँ शुल्क तिर्नुपर्छ। सानो दुई पाङ्ग्रे सवारी (मोटरसाइकल तथा स्कुटर) मा इम्बोस्ड नम्बर जडान गर्न २ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ। 

इम्बोस्ड नम्बर जडान गर्न महँगो शुल्क तिर्नुपर्ने हुँदा पनि आकर्षण कम देखिएको कतिपय अधिकारीहरू बताउँछन्। तर, विभागका निर्देशक पौडेल इम्बोस्ड नम्बरको शुल्क महँगो नभएको दाबी गर्छन्।

इम्बोस्ड नम्बर प्लेटको मूल्य महँगो भएका कारण आकर्षण कम देखिएको नभएर कतिपयलाई जानकारी नहुँदा पनि यो नम्बर जडान गर्न आई नपुगेको निर्देशक पौडेलको भनाइ छ। ‘हामीले सवारी धनीलाई मारमा पर्ने गरी मूल्य कायम गरेका छैनौँ। लाखौँको सवारी चढ्नेलाई दुई–तीन हजार रुपैयाँ  महँगो भन्ने हुँदैन। त्यसमाथि यो नम्बर प्लेट जडान गरेपछि सवारीको सुरक्षा पनि हुन्छ,’ उनले भने। 

विभागले इम्बोस्ड नम्बर प्लेट बनाउन सम्झौता गरेकै कम्पनीसँग नम्बर प्लेट रिड गर्ने आरएफआइडी गेट बनाउनसमेत सम्झौता गरेको जनाएको छ। यस्ता गेट उपत्यका प्रवेश गर्ने नाकाहरूमा जोडिने छ।

सुरुमा बाराको पथलैया, कैलालीको अत्तरिया, रुपन्देहीको बुटवल, सुनसरीको इटहरी तथा बाँकेको कोहलपुरमा गेट जडान गरिने विभागको योजना छ। बाँकी स्थानमा पनि बिस्तारै त्यस्ता गेट विस्तार गरिने छ। त्यसका लागि छलफल अगाडि बढिरहेको विभागले जनाएको छ। 

के हो इम्बोस्ड नम्बर प्लेट? 

सवारीको अगाडि र पछाडि जडान हुने उच्च सुरक्षा विशेषतायुक्त नम्बर प्लेट इम्बोस्ड नम्बर प्लेट हो। इम्बोस्ड नम्बर प्लेट जडान गरिएका दुई पाङ्ग्रे सवारीको पछाडिको नम्बर प्लेटमा ट्याग हुन्छ। चार पाङ्ग्रे सवारीको अगाडिको सिसामा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआइडी) स्टिकर जडान गरिएको हुन्छ।

उक्त ट्याग तथा स्टिकरमा भएको नम्बरलाई विभिन्न स्थानमा बन्ने आरएफआइडी गेटले रिड गर्छ। गेटको कनेक्सन प्रविधिमार्फत यातायात व्यवस्था विभागको सर्भरसँग जोडिएको हुन्छ। विभिन्न स्थानमा बन्ने आरएफआइडी गेट पार गरेको विवरण सवारीको नम्बरबाट उक्त प्रणालीसम्म आइपुग्छ।

यसो हुँदा गेटले रिड गरेको विवरण कार्यालयमा बसेर हेर्न सकिन्छ। सवारीको विवरण ट्राफिक महाशाखाको कार्यालयमै बसेर हेर्न सकिने विभागले जनाएको छ। विवरण तत्कालै सिस्टममार्फत प्राप्त हुने हुँदा सवारी साधन चोरी हुने डरसमेत नहुने विभागका निर्देशक पौडेल बताउँछन्। 

यो प्लेट सामान्य नम्बर प्लेटको तुलनामा टिकाउ, भरपर्दो तथा सुरक्षित हुने विभागको भनाइ छ। सवारी चोरी, राजस्व छली तथा अन्य आपराधिक क्रियाकलापलाई प्रविधिमार्फत नियन्त्रण गर्न तथा सवारीको वैज्ञानिक व्यवस्थापन गर्नसमेत इम्बोस्ड नम्बर प्लेटले निकै महत्त्वपूर्ण भूमिका पुर्याउने सरकारको विश्वास छ। सार्वजनिक सवारीमा पहेँलो रङको प्लेटमा कालो रङले नम्बर लेखिएको हुने छ। निजीमा सेतो रङको प्लेटमा कालो रङले नम्बर लेखिएको हुनेछ भने सरकारी सवारीमा सेतो रङको प्लेटमा रातो रङले नम्बर लेखिने विभागले जनाएको छ।

कसरी जडान गर्ने इम्बोस्ड नम्बर प्लेट ? 

इम्बोस्ड नम्बर प्लेट जडान गर्न सुरुमा सवारीको सबै कर चुक्ता भएको हुनुपर्छ। कर चुक्तासहितको अद्यावधिक कागजात पेस गरेपछि यातायात व्यवस्थापन विभागमार्फत इम्बोस्ड नम्बर प्लेट लिन सकिन्छ। हाल यातायात व्यवस्था विभाग परिसरबाट उपलब्ध गराइने इम्बोस्ड नम्बर प्लेट अन्य कार्यालयहरूबाट समेत लिन सकिने विभागले उल्लेख गरेको छ।

विभागका अनुसार दुईपांग्रे सवारीमा गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमार्फत इम्बोस्ड नम्बर जडान गर्न सकिने विभागले जनाएको छ। तीनपांग्रे सवारी साधनमा टेकुस्थित भेहिकल फिटनेस सेन्टरमार्फत जडान गर्न सकिनेछ। त्यस्तै, ठुला सवारीका लागि एकान्तकुनास्थित यातायात कार्यालयमार्फत जडान हुनेछ। सरकारी सवारीमा यातायात व्यवस्थापन विभागमार्फत नै नम्बर प्लेट जडान हुनेछ। 

७ चैत, २०७७, ०७:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।