काठमाडौँ : ज्युँदै महिलालाई डोजरले पुरेर भागेर भारत पुगेका डोजर चालक भारतीय प्रहरीको सहयोगमा पक्राउ परेका छन्। धादिङको त्रिपुरा सुन्दरी–१, सल्यानटारमा महिलालाई जिउँदै खाल्टोमा पुरेर भागेका भीमबहादुर बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेर नेपाल ल्याएको छ।
उकेरा अपडेट
भारतीय प्रहरीको समन्वयमा पक्राउ परे महिलालाई ज्युँदै पुर्ने डोजर चालक

उनीमाथि खोल्सी जिपजिपेमा फागुन १७ मा घाँस बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षिया सरस्वती कुमाल खाल्डोमा खसेपछि उद्धार गर्नु साटो वरिपरिको माटो ल्याएर उनलाई खाल्डोमा पुरिदिएको आरोप छ। स्थानीयले घटनाबारे थाहा पाएपछि बुढाथोकी भागेर भारत पुगेका थिए।
ब्युरोका प्रमुख डिआइजी सहकुल थापाका अनुसार बुढाथोकी नेपालगञ्जहुँदै भागेर भारत पुगेका थिए। उनी प्रारम्भमा भारतको हरियाणा गएर आफन्तको डेरामा बसेका थिए। ती आफन्तले उनी ज्युँदै महिलालाई पुरेर भागेर आएको खुलेपछि उनले आत्मसमर्पण गर्न भनेपछि उनी हरिद्वार गएका थिए।
उनी हरिद्वारमा रहेको सुराकीको आधारमा ब्युरोले पक्राउका लागि भारतीय प्रहरीसँग सहकार्य गरेको थियो। उनले नेपालमा रहेका आफन्तलाई गरेको फोनको आधारमा प्रहरीले उनी बसेको स्थान पहिल्याएको थियो।
नेपालको टोलीले उनको सम्पर्क नम्बरसहित जानकारी दिएपछि भारतीय प्रहरीले बुढाथोकीलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई जिम्मा लगाएपछि ब्युरोले आज पत्रकार सम्मेलन गरेर बुढाथोकी पक्राउबारे सार्वजनिक गरेको थियो।
बुढाथोकी विरुद्ध जिल्ला प्रहरी कार्यालय धादिगंमा हत्या सम्बन्धी जाहेरी दर्ता भएको छ। उनलाई ब्युरोले धादिङ पठाउँदै छ।
२०७७ चैत ०६ गते १५:०८ मा प्रकाशित