कहाँ हराउँदै छन् जलपंक्षी?

कहाँ हराउँदै छन् जलपंक्षी?

लुम्बिनी : नेपालका सिमसार क्षेत्रमा जलपंक्षीको संख्या घट्दो क्रममा रहेको एक अध्ययनले देखाएको छ। विगत ३४ वर्षदेखि जलपंक्षीको गणना, रेखदेख र अध्ययन गर्दै आएको एसियन जलपंक्षी गणना नेपालको तथ्यांङले नेपालको सिमासार क्षेत्रमा जलपंक्षीको संख्या घट्दै गएको देखाएको हो।

नेपालमा रहेका सिमसार क्षेत्रमध्ये केही सिमसार क्षेत्रमा जलपंक्षीको संख्या बढे पनि अधिकांश स्थानमा भने घट्दो क्रममा रहेको एसिएन वाटर बर्ड सेन्सस नेपालका संयोजक डा हेमसागर बरालले जानकारी दिए।

बरालका अनुसार सिमसार क्षेत्रमा देखिएका बाधा व्यवधान, बासस्थानको बिनास, चोरी–सिकारी लगायतका कारण सिमसारमा आधारित तथा जलपंक्षी घट्दै गएको हो। चरा संरक्षणका लागि तीनै तहका सरकार, सरोकारवाला निकाय, स्थानीय समुदायले अग्रसरता र अपनत्व लिए चराको संख्यामा वृद्धि गर्न सकिने उनको बुझाइ छ।

अर्कोतर्फ, विदेशका विभिन्न देशमा पनि जलपंक्षीको संख्यामा गिरावट आएका कारण त्यसको असर नेपालमा पनि परेको छ। चराविद् बरालले भने, ‘विदेशमै चरा घटेका कारण नेपाल आउने चरामा कमी आएकाले नेपालमा संख्यामा कमी आएको देखिएको छ।’

रुपन्देहीको गैडहवा ताल, गजेडी ताल, कपिलवस्तुको जगदीशपुर ताल, सुनसरीको बर्जु तालमा पछिल्ला वर्षहरुमा जलपंक्षीको संख्यामा निकै कमी आएको छ।

सन् २०२० मा १८ हजार चरारहेको जगदीशपुर तालमा अहिले घटेर १२ हजारमा झरेको छ। त्यस्तै, सुनसरीको बर्जु ताल तथा कोशी टप्पुमा पनि चराको संख्या घट्दो क्रममा रहेको छ। चितवनमा यथावत् रुपमा रहेको छ भने पोखरामा घटबढ भइरहेको छ।

लुम्बिनी क्षेत्रमा भने विगतमा भन्दा चरा केही बढ्दो क्रममा रहेको बरालले बताए।

लुम्बिनीमा सिमसार क्षेत्रको संरक्षण तथा बुद्ध जन्मस्थल क्षेत्र भएकाले चोरी–सिकारी तथा अमानवीय कार्य कम भएकाले लुम्बिनीमा चराहरु बढ्दै गएको उनको भनाइ छ। लुम्बिनीमा रहेको पोखरीलाई लुम्बिनी विकास कोषले संरक्षण गरेका कारण त्यस क्षेत्रमा भने बढ्दो क्रममा रहेको हो।

लुम्बिनीमा रहेको पुष्करणी पोखरी, सारस संरक्षण क्षेत्र, विश्व शान्ति स्तुपाको आसपासको क्षेत्र, पवित्र उद्यान क्षेत्रको गोलाइ पोखरी लगायतका पोखरीमा जलपंक्षीहरु बस्ने गर्दछन्।

नेपालमा भइरहेको अव्यवस्थित विकासले पनि चराहरुको बासस्थानमा समस्या पारेको छ। अवैज्ञानिक नदी दोहन, बढ्दो क्रममा भइरहेको तालतलैया सुकाउने कार्य, विषादी प्रयोग गरेर माछा मार्ने कार्य लगायतले जलपंक्षी/चराहरुको बासस्थान विनास हुँदै गएको छ।

नेपालमा सिमसार क्षेत्र पनि खुम्चिँदै गएका कारण समस्या थप जटिल बन्दै गएको हो। नेपालमा सिमसारमा आश्रित २ सय प्रजातिका चरा रहेका छन् भने जलपंक्षी १ सय ५० बढी रहेका छन्।

देशभरमा ६०÷७० हजारको हाराहारीमा जलपंक्षी रहेका छन्। नेपालका सिमसार क्षेत्रको खस्कँदो अवस्था र संरक्षणका लागि थुप्रै काम गर्नुपर्ने हिमाली प्रकृतिका कार्यक्रम निर्देशक डा तुल्सी सुवेदीले बताए।

नेपालका कोशी टप्पु, हेटौंडा, चितवन, जनकपुर, काठमाडौं, नवलपरासी, पोखरा, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली र कञ्चनपुर लगायतका ठाउँमा जलपंक्षी रहेका छन्।

पानी, सिमसार र घाँसेमैदानमा समेत बस्ने ३ सय बढी चरा लुम्बिनी आसपास देख्न पाइने हुँदा मुलुकको चरा पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन सकिने कार्यक्रम निर्देशक डा सुवेदीले बताए। लुम्बिनी तथा आसपासका क्षेत्रलाई चराहरुको स्वर्गको रुपमा टिकाइराख्नका लागि सिमसार क्षेत्रको व्यवस्थापना सरकारका साथै स्थानीय समुदायको अग्रसरता र अपनत्व हुन जरुरी रहेको सुवेदीले बताए।

उनले जलपंक्षीको संरक्षणका लागि बासस्थान संरक्षण, खेतबारीमा प्रयोग गरिने विषादीको नियन्त्रण, माछा मार्नका लागि तलाउ तथा पोखरी सुकाउने कार्य रोक्न सकिए जलपंक्षीको संरक्षण हुने बताए।

६ चैत, २०७७, ११:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।