तराईका सडकमा ‘हिमाली डाक्टर’

तराईका सडकमा ‘हिमाली डाक्टर’

इटहरी : गहुँगारो वर्णकी महिला फिस्स हाँस्दै सोध्छिन्, ‘के चाइया हो?’ भर्खरै लगाएको सुनको दाँत टलक्क टल्किन्छ। ग्राहकको मनसाय बुझेपछि उनी पुरानै शैलीमा धुप बटार्न थाल्छिन्।

सडकको धुलोले इटहरी चोक ढकप्कै ढाकिएको छ। त्यही धुलोको बीचमा यताउति हेर्दै धुप बटारिरहेकी छिन् फुपु भोटे।

हिमाली जडीबुटी बिक्री गर्ने फुप सडकको धुलो उठ्न थालेसंँगै व्यापार बसाउँछिन्। इटहरी चोकमा ६ लेन सडक विस्तारको काम धमाधम भइरहेको छ। केही छिनमै उनको सामानमा धुलो भरिन्छ। धुलो बढार्ने र धुप बटार्ने काम सँगसँगै गर्छिन् उनी। उनको यो दैनिकी विगत २५ वर्षदेखि जारी छ।  

आफू १५ वर्षको हुँदादेखि पसल सुरु गरेको बताउँछिन् फुपु। छोरीको विवाह गर्ने बेला हुँदासम्म पनि त्यही काम गरिरहेको सुनाउँछिन्। २ छोरा र १ छोरीकी आमा उनी अझै केही वर्ष यसैगरी बिताउने सोचमा छिन्। हेर्दा सानो देखिने उनको पसलमा दैनिक ७ देखि १० हजारको कारोबार हुन्छ। त्यस बापत न्यूनतम २ हजार नाफा हुने उनको भनाइ छ।

पछिल्लो समय पेट तथा घाँटी सम्बन्धी समस्या भएका मानिसहरु बढी आउने गरेको उनले बताइन्। ‘धुलो लागेको भए पनि औषधि औषधि नै हो,’ हाँस्दै भन्छिन्, ‘डाक्टरको औषधि खाएर निको नभएका धेरै मान्छे मकहाँ आउँछन्।’  

मातृभाषासँगै नेपाली भाषा पनि परिपक्क बोल्छिन् उनी। रोगको समस्या लिएर आउनेलाई काउन्सिलिङ गर्न समेत खम्पिस छिन् फुपु। खुला आकाशको व्यापार भएकोले घामपानीसँग नजिकको सम्बन्ध छ उनको।

धुलो र धुवाँसँग राम्रो परिचय भइसकेको छ। कहिलेकाहीँ इटहरी उपमहानगरपालिकाले सामान जफत समेत गर्छ। तर पनि निरन्तर त्यही ठाउँमा पसल चलाइरहेकी छिन्। जस्तोसुकै कठिनाइमा पनि व्यापारको ठाउँ छाड्नु हुँदैन भन्ने उदारहण हुन् फुपु।

हिमाली भोटेकै भेषमा देखिने भुटिक भोटेको पनि दैनिक त्यस्तै छ। आधुनिक सहरमै बसेका भए पनि आफ्नो पहिरनमा इमान्दार छिन् उनी। जडीबुटी व्यापारको लागि उनको पहिरनले थप आकर्षण बढाएको छ। इटहरीको हटिया लाइनमा विगत १५ वर्षदेखि व्यापार गरिरहेकी छिन्। कोरोनापछि मानिसको स्वास्थ्य बिग्रेकोले झनै कारोबार बढेको उनको भनाइ छ।  

भुटिकको छेवैमा छिन् दबुटिक भोटे। २० वर्षदेखिकी व्यापारी उनी आफूहरु ‘हिमाली डाक्टर’ भएको बताउँछिन्। सामान्य रुघाखोकीदेखि हड्डी भाँचिएकोसम्म औषधि बेच्ने गरेको उनको भनाइ छ। ‘ढाड–कम्मर दुखेकोदेखि निमोनिय निको पार्नेसम्मको औषधि छ,’ रमाइलो मान्दै उनी भन्छिन्, ‘कतै निको नभएका मान्छेहरु यसैबाट निको भएका छन्।’

‘ठूलोओखती घोटेर सड्केको र मर्केको बेला लगाउँदा निको हुन्छ। टिम्बुर भुँडी फुलेको र ग्यास्ट्रिक भएको बेला खाने हो। कालो निउरोको जराले रगत–मासी र पायल्सलाई काम गर्छ।,’ फिजाएको औषधि देखाउँदै दिचिक भोटेले भनिन्। ‘हाडगोडाले हड्डी भाँचिएको बेला लगाउनुपर्छ। पदमचाल घोटेर मर्केको ठाउँमा लगाउँदा निको हुन्छ,’ उनले थपिन्।

हर्रो, बर्रो र अमला खोकी लाग्दा र घाँटी बसेको बेला खाँदा निको हुन्छ। चानमोरा सुगर प्रेसरमा, जेठिमधु टन्सिल, निमोनिया लाग्दा खानुपर्ने उनले सुझाइन्।

उनीहरु जस्तै इटहरीमा १५ जनाभन्दा बढीले यस्तै व्यापार गरिरहेका छन्। संखुवासभाको किमाथाङ्कादेखि ल्याएको सामान इटहरीमा बिक्री गर्छन् उनीहरु। धरानको डिलरबाट पूर्वका सम्पूर्ण व्यापारिक सहरमा खुद्रा सामान खपत हुन्छ।

जडिबुटीको मुख्य केन्द्र धरानमा भने ४५ जनाभन्दा बढीले जडिबुटीको व्यापार गरीरहेका छन्। हटियाको संस्कार अझै कायमै रहेकोले धेरैजसोले त्यहीँ व्यापार गर्छन्। कमाइ पनि हुने र सटर भाडा पनि तिर्नु नपर्ने भएपछि उनीहरु घामपानी सहन तयार छन्।

सटरमा व्यापार गर्दा ग्राहक नआउने बुझेका उनीहरु अहिलेसम्म खुला ठाउँको व्यापारमा रमाइरहेका छन्।

५ चैत, २०७७, १०:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।