उकेरा टप फाइभ : मिडियाको डिजाइनका कुरादेखि कोरिया श्रमबारे बढेको अन्योलसम्म

उकेरा टप फाइभ : मिडियाको डिजाइनका कुरादेखि कोरिया श्रमबारे बढेको अन्योलसम्म

मङ्गलवारको राजनीति नेकपा एमालेका बढ्दो किचलोकै वरिपरि घुम्यो। प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा चियापानको आयोजना गर्यो। तर एमालेकै माधव नेपाल समूहका कुनै नेता चियापानमा देखिएनन्। उनीहरूले अर्याल होटेलमा बुधवार र बिहीबार आयोजना हुन लागेको आफ्नो समूहको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्यो।

बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय छलफलको कार्यक्रम राखेकी थिइन्। राष्ट्रपतिले राखेको छलफल पनि राजनीतिक विवादबाट अछुतो रहन सकेन। प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई आमन्त्रित गरिएको छलफलमा प्रधानमन्त्री पनि पाहुना नै थिए।

तर उनले आफू पाहुना भएको बिर्सिएर सर्वदलीय छलफलमा राजनीतिक विवादबारे टिप्पणी गर्दा छलफल विवादमा आयो। उनले छलफलमा एक्कासि संसद् विघटन र मध्यावधि निर्वाचनको विषय प्रवेश गराउँदा छलफलमा सहभागी नेपाली काँग्रेसका नेता र माओवादी केन्द्रका नेताले आपत्ति जनाउनुपर्ने अवस्था आयो।

विडम्बना राष्ट्रपति भण्डारी भने रमिते बनिन्।

औपचारिक समाचारको पछि नदौडिने नीति भए पनि राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने घटनाक्रम उकेराको प्राथमिकतामा पर्ने गरेको छ नै। त्यसैले मंगलबार हामीले यी विषयलाई प्राथमिकताकासाथ कभरेज गर्यौ।

प्रधानमन्त्रीको चियापान, एमाले माधव समूहको पत्रकार सम्मेलन अनि राष्ट्रपतिको सर्वदलीय छलफलमा हाम्रो नजर रह्यो नै।

यी बाहेक पनि हामीले आफ्नो प्राथमिकता अनुसार अन्य समाचार समेत प्रकाशित गर्यौ।

उकेराका टप पाँच

बलिउडमा जमेकी नेपाली मोडल

मङ्गलवार बिहानको प्रारम्भ हामीले मनोरञ्जन क्षेत्रको समाचारबाट गर्यौ। भारतीय मनोरञ्जन नगरी बलिउडमा आफ्नो पहिचान बनाएकी मोडल मुना गौचनबारे फिचर प्रकाशित गर्यौ।

दुई वर्षदेखि उतैको एजेन्सीमार्फत विभिन्न ब्रान्डका विज्ञापन, फोटो सुट एवं म्युजिक भिडियोमा सक्रिय मुना कोभिड–१९ का कारण काम ठप्प भएपछि भने लामै समय नेपाल बसिन्।

नेपाल बसाइमा पनि उनलाई फुर्सद भने भएन। नाच्न रुचाउने मुनाले नेपाल बसाइमा विभिन्न नृत्य गरेर आफ्नो ब्लग, फेसबुक तथा इन्स्टाग्राममा राखिरहिन्। अहिले अवस्था सामान्य बन्दै गएपछि पुनः बलिउड पुगेर मोडलिङ करिअरलाई अगाडि बढाइरहेकी छिन्।

नेपाली मिडियामा डिजाइन बुझ्ने सम्पादक नै छैनन्

दोस्रो फिचर थियो उकेराको मङ्गलवारको स्तम्भ चौथो अङ्गको। यो पाली उकेराले मिडिया क्षेत्रमा वास्ता नगरिएको त महत्त्वपूर्ण विधा डिजाइनिङबारे रामकृष्ण रानासँगको कुराकानीलाई प्रस्तुत गर्यौ। उनको निष्कर्ष थियो

कलाको ब्याक ग्राउन्ड फरक हुन्छ, त्यस्तै न्युज डिजाइनको पनि। न्युज डिजाइन भनेको अक्षरसँग खेल्ने हो। पत्रकारितालाई बजारीकरण गर्ने डिजाइनले हो। तर नेपालमा डिजाइन भनेको पत्रकारिताको अंश हो भनेर बुझ्ने न सम्पादक छन् न त प्रकाशक नै। त्यसैले मैले भन्ने गरेको छु, न्युज डिजाइनर पिछडा वर्ग हुन्।

६२ वर्षीया रुकमायाको बयान( पहिले आफू बेचिएँ अनि कोठी चलाएँ 

६२ वर्षीया रुक माया तामाङ अहिले प्रहरी हिरासतमा छिन्। उनी माथिको अभियोग हो मानव तस्करी। नुवाकोटकै एक किशोरीलाई भारतको यौन कोठीमा जर्वजस्ती देहव्यापारमा लगाएकी उनी आफैँ पनि पहिला बेचिएकी थिइन्। यौनकर्मीको रूपमा काम गर्दागर्दै उनी आफैँ कोठी सञ्चालिका भएकी थिइन्। र किशोरी उम्केर नेपाल आएपछि दिएको जाहेरीको आधारमा उनी पक्राउ परेकी थिइन्।

आफ्ना पाहुनालाई प्रधानमन्त्रीले धम्क्याउँदा राष्ट्रपति मौन 

आफ्ना पाहुनालाई प्रधानमन्त्री ओलीले धम्क्याउँदा राष्ट्रपति विद्या भण्डारी मौन बसेको घटनालाई हामीले प्राथमिकता साथ प्रकाशित गर्यौ। योसँगै प्रधानमन्त्रीले सर्वदलीय छलफलमा राखेको संसद् विघटन र मध्यावधि निर्वाचनको प्रस्तावलाई समेत हामीले प्रकाशित गरेका थियौँ।

यो शृङ्खलाको मङ्गलवार विट मार्दै प्रधानमन्त्रीको चियापान र माधव समूहको पत्रकार सम्मेलनमा देखिएको दृश्यलाईमेत शब्द र तस्बिर मार्फत उतार्ने प्रयास गर्यौ।

 

कोरिया रोजगारी : नेपाल कोरोनाको ‘हाई रिस्क’ मै, न नयाँ जान पाए, न बिदाका फर्कन सके

मङ्गलवार प्रकाशित उकेरा टप फाइभको अर्को सामाग्री थियो कोरोना सङ्क्रमणले वैदेशिक रोजगारीमध्ये आर्कशक गन्तव्य बनेको दक्षिण कोरियाबारे। सरकारले नेपालमा कोरोना सङ्क्रमण नियन्त्रणमा आएको दाबी गरे पनि दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको ‘हाई रिस्क’ सूचीमै राख्दा श्रम सम्झौता भइसकेका र बिदामा नेपाल आएका नेपाली नागरिक फर्कन नपाएकोबारे विस्तृत समाचार प्रकाशित गर्यौ।

३ चैत, २०७७, ००:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।