बालुवाटार चियापानको झलक: शब्द वीर रस, अनुहारको भाव करुण रस

बालुवाटार चियापानको झलक: शब्द वीर रस, अनुहारको भाव करुण रस

काठमाडौँ : एमाले माधव नेपाल समूहले आव्हान गरेको राष्ट्रिय कार्यकर्ता भेलाको एक दिन अगाडि आफ्नो शक्ति परीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा पुरानो रौनक थिएन।

नेकपामा तीव्र मतभेद हुँदा भेला हुने उनी समूहका नेता कार्यकर्ता केही जोसिला देखिन्थे। तर मङ्गलवारको चियापानमा त्यो रौनक देखिएन। एमालेकै माधव नेपाल, झलनाथ खनाल समूहका परिचित कुनै अनुहार देखिएन चियापानमा।

भिडमा ओली समूहका परिचित अनुहारहरू थिए। तर उनीहरूको हाँसो हराएको थियो। भेटमा हुने हाँसो ठट्टा कतै सुनिएन।

नेता–कार्यकर्ता एक–अर्कासँग भेट्दा फिस्स हाँस्थे मात्र। ३÷४ जनाको समूहमा बाँडिएकाहरू मसिनो स्वरमा छलफल गरिरहेका थिए। छलफलको विषय कतै एमाले पनि फुट्ने पो हो कि भन्ने नै सुनियो।

ओली समूहले आयोजना गरेको चियापान कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री राम बहादुर थापा ‘बादल’, नेकपा एमालेका संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल लगायतका नेता सहभागी थिए।

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, सञ्चार मन्त्री पार्वत गुरुङलगायतका मन्त्रीको उपस्थित थियो। प्रदेश १ का मुख्य मन्त्री शेरधन राई र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल पनि थिए।

तर चियापानमा सहभागीहरूले भिडमा माधव समूहका नेताहरू मिस गरिरहेका देखिए। नेता–कार्यकर्ताको माझमा उभिएर अट्टहास हाँसो हाँस्ने योगेश भट्टराई मिस भएका थिए। समूह–समूहमा सैद्धान्तिक मन्थन गरिहाल्ने घनश्याम भुसाल मिस भइरहेको थियो बालुवाटारको चियापानमा।

नेता–कार्यकर्ताको अनुहार हेर्दा चियामा मिसिएको गुलियोले उनीहरूको मन गुलियो बनाउन नसकेको देखाइरहेको थियो। रामबहादुर थापा अनि कोमल ओलीहरूले अन्य नेताको न्यास्रो मेट्न सकेनन्।

त्यसो त प्रधानमन्त्री ओली पनि त्यत्ति उत्साहित मुद्रामा देखिएनन् चियापानमा। आफ्ना अगाडि मास देख्दा फुत्कने तुक्का बालुवाटारको चियापानमा फुत्किएन। मुसुक्क मुस्कुराउने ओलीको मुहार गजधम्म थियो। 

चियापान कार्यक्रमलाई सम्बोधन गर्दा भने उनले नेपाल–खनाल पक्षलाई छेड छाड गर्न छाडेनन्। अर्कै दलका अध्यक्ष भइसके पनि पुष्पकमल दाहाललाई पनि छाडेनन् उनले शब्द बाण हान्न।

‘पार्टी अध्यक्षको, प्रधानमन्त्रीको निमन्त्रणामा नजाने, कसको निम्ता पाए जानुहुन्छ त?’ प्रधानमन्त्री ओलीले नेपाल–खनाल पक्ष चियापानमा नआएकोप्रति व्यङ्ग्य गर्दै भने,‘एक थरी अनुहारहरू देखिएन। राम्रो लक्षण हैन।’

उनले सकेसम्म नलड्ने तर, बेठिक गर्नेसँग नझुक्ने भन्दै अडान त राखे। तर शब्दको अडानको भाव मुहारमा आइरहेको थिएन। 

उनले भने,‘आजकाल एउटा शब्द छ नि सेटिङ भन्ने।’ सेटिङबाट संविधान कार्यान्वयन हुन नदिइएको अनि सांसदलाई निष्प्रभावी बनाउन खोजिए भन्दै गुनासो गर्न थाले उनी।

उता बालुवाटारको चियापान समापन भइरहँदा यता मङ्गलवार दिउँसो २ बजे नेपाल–खनाल समूहले चैत ४ र ५ गते गर्ने राष्ट्रिय कार्यकर्ता भेलाको आयोजनाको जानकारी दिन पत्रकार सम्मेलन राखेको थियो।

यता पनि माहौल उस्तै त हो। नेताहरूको बोलीमा अडान, चेतावनी दृढता जस्ता शब्द आइरहेका थिए। तर त्यो शब्दसँग नेताहरूको अनुहारको रङ्ग मिलिरहेको थिएन। वीर रसको शब्द निस्कँदा करुण रसको भाव देखियो।

विष्णु रिजालले सञ्चालन गरेको कार्यक्रममा योगेश भट्टराई र सुरेन्द्र पाण्डेले सम्बोधन गरे। चेतावनी दिए, आलोचना गरे। कारबाही गर्ने नै भए लामबद्ध हुन तयार छौँ भने। तर चेतावनी दिँदा भट्टराइको स्वरमा जुन ओज सुनिन्थ्यो मंंगलबार त्यस्तो सुनिएन। स्वर कतै भासिएको थियो।

समस्याको कारक ओली नै हुन् भन्दै प्रधानमन्त्री ओलीलाई बुधवार र बिहीबार आयोजना हुन गइरहेको राष्ट्रिय कार्यकर्ता भेलाको प्रमुख अतिथि भए पनि हुन्छ भने।

बेलुका ओली पक्षबाट राष्ट्रिय कार्यकर्ता भेला अनधिकृत भएको भन्दै सहभागी भए कारबाहीको चेतावनीसहितको विज्ञप्ति आयो। अब लामबद्ध होलान् त माधव समूहका नेता ?

३ चैत, २०७७, २२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।