आफ्ना पाहुनालाई प्रधानमन्त्रीले धम्क्याउँदा राष्ट्रपति मौन 

आफ्ना पाहुनालाई प्रधानमन्त्रीले धम्क्याउँदा राष्ट्रपति मौन 

काठमाडौँ : राष्ट्रपति विद्या भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई आफ्नो कार्यालयमा निम्त्याउनुको लक्ष्य दलहरूबिच बढ्दो मतभेद दुरी घटाउने प्रयासको रूपमा हेरिएको थियो। तर सर्वदलीय छलफलमा सहभागी विभिन्न दलका नेताहरूले छलफल सकिएपछि दिएको प्रतिक्रिया हेर्दा छलफलले दुरी घटाउनुको साटो थप तिक्तता बढाउने काम गर्यो। 

तिक्तता बढाउने कारक बन्यो प्रधानमन्त्रीको हठ। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उनले छलफलमा दलहरूबिच सहकार्यको आव्हान गरेकी थिइन्।

भेलामा सहभागी नेताहरूका अनुसार राष्ट्रपतिले डाँकेको सर्वदलीय छलफलका पाहुना रहेका प्रधानमन्त्रीले धम्क्याउने थलो बनाउँदा माहौलै बिग्रियो।

सर्वोच्च अदालतले नेकपाको नामको कानुनी टुङ्गो लगाउँदै नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि सत्ताधारी दल नेकपा एमालेमै सबैभन्दा ठुलो विवाद छ। एमालेमा रहेको विवादको बाछिटा मङ्गलवार आयोजित सर्वदलीय छलफलमा पनि देखियो।

एमाले नेपाल समूहका माधव नेपाल र झलनाथ खनाललाई पूर्व प्रधानमन्त्रीको हैसियतमा छलफलमा डाँकिएको थियो। तर दुवै पूर्व प्रधानमन्त्री छलफलमा सहभागी नै भएनन्।

नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबिच सहकार्य गरेर सरकार बनाउने गृहकार्य अगाडि बढिरहेको बेला प्रधानमन्त्री ओलीले राष्ट्रपतिको निम्तोमा आएका विभिन्न दलका नेतालाई‘फेरि संसद् भङ्ग गर्छु’ भनेर धम्क्याउन प्रयोग गरे। प्रधानमन्त्रीले यसरी आफ्ना पाहुनालाई धम्क्याउँदा आडैमा रहेकी राष्ट्रपति मौन बसिन्। 

छलफलमा सहभागी नेताहरूका अनुसार प्रधानमन्त्री आफूले भङ्ग गरेको संसद् सर्वोच्च अदालतबाट ब्युँतिएकोमा रुष्ट देखिएका थिए। त्यसैले उनले पुन संसद् भङ्ग गरेर चुनावमा जान दलका नेताहरूलाई भनिरहे। 

उनले निर्वाचनमा जानु भनेको लोकतान्त्रिक विधि हो भन्दै संसद् पुनर्स्थापना भए पनि संसद् चल्न नसकेको भन्दै ताजा जनादेशमा जान जोडबल गरिरहे। तर प्रधानमन्त्रीको प्रस्ताव र जोडबलमा सहभागी दलका नेताहरू सकारात्मक देखिएनन्। उनीहरूले ताजा जनादेशले अहिलेको समस्या समाधान नहुने भन्दै कानुन र संविधान भत्काएर मध्यावधिमा जानुभन्दा सांसदबाटै समाधान खोज्न जोड दिएका थिए।

छलफलमा सहभागी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ताजा जनादेशमा जाने विधि मात्रै लोकतान्त्रिक नभएको प्रतिक्रिया दिँदै संसद् चल्न नसक्नुको कारण सरकार आफै रहेको बताए। 

‘अहिले ताजा जनादेशले समस्या समाधान हुँदैन। भोलि फेरी अहिलेकै जस्तो अवस्था आयो भने के गर्ने ?,’ पौडेलले उकेरासँग भने‘संविधान, कानुन भत्काएर मध्यावधि चुनाव किन गर्ने? प्रधानमन्त्रीले संसद्बाटै समस्याको समाधान खोज्नुपर्छ। संसद् चलाउन प्रधानमन्त्रीले पहल गर्नुपर्छ।’

उनले हिजोका दिनमा संसद् विघटनको प्रस्ताव आउँदा दलहरूसँग छलफल नगरेको राष्ट्रपतिले बङ्गलादेशको भ्रमण अगाडि छलफलमा बोलाएकोमा आलोचना गरे।  ‘राष्ट्रपतिले बङ्गलादेश भ्रमणको बारेमा मात्रै होइन, संसद् विघटनको प्रस्ताव आउँदा दलहरूसँग छलफल गर्नुपर्थ्यो,’ उनले भने।

सर्वदलीय छलफलमा सहभागी माओवादी केन्द्रका नेता देव गुरुङले राष्ट्रपतिले स्वास्थ्य, शिक्षा, वातावरणको विषयमा चासो राखेको बताए। राष्ट्रपतिले बङ्गलादेश भ्रमणमा जाँदै छु भनेको गुरुगंले जानकारी दिए।

‘प्रधानमन्त्रीले राजनीतिक विषय राखेपछि तत्कालै असहमति जनायौ। संसद् चल्न सकेन। भङ्ग गरेर चुनावमा जाऊँ भन्ने प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गरेर सर्वोच्च अदालतको फैसला अनुसार अगाडि बढ्नु पर्छ भन्यौ,’ गुरुगंले भने ‘प्रधानमन्त्रीको प्रस्ताव संवैधानिक हुन सक्दैन। सर्वोच्चको फैसलालाई मानेर सदनमै समाधान खोज्नुपर्छ।’

एमालेका नेता सुभाषचन्द्र नेम्वाङले भने राष्ट्रपतिले बङ्गलादेश जाँदै छु भनेपछि शुभकामना मात्र दिएको दाबी गरे।‘तपाईँहरूसँग भेट नभएको धेरै भएको थियो भन्नुभयो। सबै दलहरूलाई मिलेर अगाडि बढ्न उत्प्रेरित गर्नुभयो। आपसमा छलफल गरेर अगाडि बढ्न सक्नुहुनेछ भन्नुभयो,’ उनले दाबी गरे‘ औपचारिक ठाउँमा अरू कुरा भएन। चुनावको कुरा हुने ठाउँ होइन नि।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीका अनुसार प्रधानमन्त्रीले हिजो अस्तिकै जस्तै कुरा दोहोर्याएका थिए। राष्ट्रपति ‘मिलेर जानुहोस्’ भनेको जानकारी दिँदै उनले भने‘ प्रधानमन्त्रीसँग वादविवाद जस्तो भयो। भेट भएपछि हुने कुरा नै हो। काँग्रेस सभापति शेरबहादुर देउवा बोल्नु भएन। विमलेन्द्र निधीले संसद्लाई बिजनेस दिनु पर्यो  भन्नुभयो। हामीले राष्ट्रपतिलाई बङ्गलादेश भ्रमणको शुभकामना दियौ। फर्कियौ।’

३ चैत, २०७७, २०:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।