कोरिया रोजगारी : नेपाल कोरोनाको ‘हाई रिस्क’ मै, न नयाँ जान पाए, न बिदाका फर्कन सके

कोरिया रोजगारी : नेपाल कोरोनाको ‘हाई रिस्क’ मै, न नयाँ जान पाए, न बिदाका फर्कन सके

काठमाडौं : नेपालीका लागि आकर्षक श्रम गन्तव्य बनेको दक्षिण कोरियाले नेपाललाई अझै कोरोना भाइरसको उच्च जोखिमयुक्त मुलुकमै राखेको छ। नेपाललाई कोरोनाको जोखिमयुक्त मुलुकमा राख्दा रोजगार सम्झौता पत्र आइसकेका र बिदामा घर फर्किएकाहरु कोरिया फर्कन पाएका छैनन्।

कोरियाले नेपालसहित फ्रान्स, बेलायत, फिलिपिन्स लगायत मुलुकलाई उच्च जोखिमयुक्त मुलुकको सूचीमा राखेको छ। यी मुलुकहरुबाट श्रमिक आपूर्ति ठप्प छ।

सरकारकाले गरेको परीक्षणमा संक्रमितको दर र कोरोना विरुद्धको खोप सुरु भइसके पनि कोरियाको रोग नियन्त्रण महाशाखाले नेपाललाई ‘हाई रिस्क’कै सूचीमा राखेको छ। जसका कारण कारण बिदामा नेपाल आएकाहरु र नयाँ रोजगार सम्झौता पत्र आइसकेकाहरुको पनि कोरिया जाने विषय टुंगो नलागेको रोजगार अनुमति प्रणाली इपिएस शाखाका निर्देशक इन्द्र गौतमले उकेरालाई बताए।

‘त्यहाँको रोग नियन्त्रण महाशाखाले नेपाललाई हाई रिस्कमै राखेको छ। जसका कारण कोरिया रोजगारीमा नेपालीहरु कहिलेदेखि जान पाउने भन्ने विषयको टुंगो लाग्न सकेको छैन,’ निर्देशक गौतमले भने।

रोजगारी सूरु गर्न श्रम मन्त्री र राजदूतबीच छलफल
कोरियाली रोजगारी छिटोभन्दा छिटो सुरु गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकसँग समेत छलफल गरे।

छलफलका क्रममा कोरिया सकारात्मक देखिए पनि श्रमका लागि कोरिया जान क्ुरेर बसेका नेपाली नागरिकले कहिलेदेखि जान पाउने भन्ने टुंगो भने लागेको छैन।

‘पछिल्लो समय कोरोनाका केसहरु पनि खासै छैनन्। भ्याक्सिन पनि आइसकेको छ। अब रोकिराख्नुपर्दैन कि भनेर राजदूतसँग कुरा राखेका थियौँ। उहाँले महाशाखाले यो निर्णय गरेकाले यसको जानकारी आफूलाई नहुने बताउनुभयो,’ राजदूत योङ सिकलाई उद्धृत गदै शाखाका निर्देशक गौतमले भने।

रोस्टरको म्याद ६ महिना थप्न जोड
रोजगारी कहिलेदेखि खुल्ने टुंगो नलाग्दा भाषा परीक्षामा उत्तीर्ण भएकाहरुको म्याद सकिने जोखिम बढेको छ। त्यसको विकल्पमा म्याद थप्ने कि के गर्ने भन्ने समेत टुंगिएको छैन।

कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा नाम चढेकाहरुको हकमा ६ महिना म्याद थप गर्ने तयारी भएको शाखाले जनाएको छ। शाखाका निर्देशक इन्द्र गौतमले रोस्टरको म्याद थप गर्न छलफल गरिरहेको बताए।

रोस्टरमा रहेकाहरुको धेरैको भाषा परीक्षा उत्तीर्णको अवधि सकिने अवस्थामा छ। कोरोनाका कारण प्रक्रिया रोकिएकाले म्याद थप गर्न सरकारले जोड दिएको छ। तर टुंगिएको छैन। कोरियाली सरकारले पनि यसमा खासै चासो दिएको देखिएन।

‘हामी म्याद थप गर्न पर्यो भनिरहेका छौँ। मन्त्रीज्यूले पनि त्यो कुरा राख्नुभएको छ। अब हामी यी विषयहरु कोरियाको श्रम मन्त्रालयमा राख्छौँ भनेर राजदूतले आश्वस्त पार्नुभएको छ,’ शाखाका निर्देशक गौतमले भने।

इपिएस प्रणाली अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरको २ वर्षसम्म रोस्टरमा नाम रहन्छ। रोस्टरमा रहेको २ वर्षसम्म रोजगारदाताको छनोटमा पर्न नसकेको खण्डमा कोरिया रोजगारीमा प्रवेश पाइँदैन। कोरिया प्रवेशका लागि पुनः भाषा तथा सिप परीक्षा उत्तीर्ण गरी रोजगारदाताको छनोटमा पर्न सकियो भने मात्रै कोरिया रोजगारीमा प्रवेश गर्न पाइन्छ।

कोरोना संक्रमण फैलिएपछि गत वर्षदेखि कोरियाली रोजगारी रोकिएको छ। यो अवधिमा रोस्टरमा रहेका कतिपयको म्याद गुज्रिएकाले ठूलो संख्यामा नेपाली युवा कोरिया प्रवेश गर्न नपाउने जोखिम बढेको छ। रोस्टरको म्याद गुज्रिँदा कोरिया प्रवेश गर्न नपाउनेको संख्या करिब ५ हजार छ।

कोभिडका कारण गुम्यो ७ हजार बढीको अवसर
इपिएस प्रणाली अन्तर्गत हरेक वर्ष हुँदै आएको कोरिया भाषा परीक्षा गत वर्ष (सन् २०२०) मा भएन। परीक्षा नभएसँगै कोरिया प्रवेश पाउने करिब ७ हजार नेपाली युवाहरुको रोजगारीको अवसर गुम्यो। यो प्रणाली अन्तर्गत हरेक वर्ष हुँदै आएको परीक्षामा ८० हजारभन्दा बढी सामेल हुने गरेका थिए।

सहभागीमध्ये १० हजारभन्दा बढीले भाषा परीक्षा उत्तीर्ण गर्दै आएका थिए। उत्तीर्णमध्ये ७ हजार बढीले पछिल्लो समय कोरिया रोजगारीमा प्रवेश अनुमति पाउँथे। भाषा परीक्षा नै नहुँदा ७ हजार बढी युवाले रोजगारीको अवसरै पाएनन्।

श्रम सम्झौता भएका ५ हजार रोकिए
सन् २०१९ को भाषा परीक्षामा सहभागी ८४ हजार २ सय १५ जनामध्ये १२ हजार ९ जनाले परीक्षा उत्तीर्ण गरेका थिए। उत्तीर्ण गरेकामध्येबाट १० हजार ५० ले दक्षिण कोरिया प्रवेश पाउने बताइएको थियो।

तीमध्ये ५ हजारभन्दा बढीको श्रम सम्झौता आइसके पनि कोरोना संक्रमणका कारण कोरिया जान नपाएको इपिएस शाखाले जनाएको छ।

सन् २०१८ मा रोस्टरमा पर्नेहरुको त कोरोना संक्रमणकै कारण म्याद गुज्रिसकेको छ। उनीहरुलाई कोरिया प्रवेशको वातावरण मिलाउन परराष्ट्र मन्त्रालयमार्फत पटक–पटक पत्राचार गरिए पनि कोरियाले तत्काल नेपाली श्रमिक लैजान चाहेको छैन। यसले कोरियामा रोजगारीमा जाने तयारीमा रहेका १० हजारभन्दा बढी नेपालीको रोजगारी अन्यौल परेको छ।

२०२१ को भाषा परीक्षा लिन कोरिया इच्छुक
कोरिया अवस्था सामान्य बन्दै गएकाले सन् २०२१ को भाषा तथा सीप परीक्षा लिन कोरिया सरकार इच्छुक रहेको इपिएश शाखाले जनाएको छ।
‘भाषा परीक्षा लिने पक्षमा कोरिया छ तर कहिले हुने भनेर तोकिएको छैन,’ शाखाका निर्देशक गौतम भन्छन्। यो वर्षदेखि भने कोरिया सरकारले अनलाईन प्रणालीमा आधारित पेपरलेस परीक्षाको तयारी गरेको शाखाले जनाएको छ।

३ चैत, २०७७, १८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।