६२ वर्षीया रुकमायाको बयान- पहिले आफू बेचिएँ अनि कोठी चलाएँ 

६२ वर्षीया रुकमायाको बयान- पहिले आफू बेचिएँ अनि कोठी चलाएँ 
साङ्केतिक तस्बिर : चाइना साउथ मर्निङ पोस्ट

काठमाडौं- २०७२ साल भदौ महिना। नुवाकोटकी १५ वर्षे किशोरी दिल्लीमा बेचिइन्। उनलाई पानीमा लठ्याउने औषधि राखेर दिल्ली पुर्याइएको थियो। 

उनलाई बेचेका थिए आफ्नै घर नजिकै बस्ने छिमेकीले। चितवनमा चिनेकै मान्छेको घरमा काम लगाइदिन्छु भनेर ती किशोरीलाई भारत लगिएको थियो।

उनलाई भारतस्थित दिल्लीको जिबी रोड नम्बर ५६ गल्लीमा रहेको कोठीमा लगियो। किशोरी सानै भएकाले एउटै कोठीमा राखिएन। कोठी सार्ने काम भइरह्यो। 

कोठी सञ्चालकहरुले उनलाई सारिरहेका थिए। अन्तिम समयमा भने ती किशोरी रुकमाया तामाङ नाम गरेकी नेपालीले नै सञ्चालन गरेको कोठीमा पुगिन्। त्यो पनि नुवाकोटकै। किशोरीले आफ्नो उद्धार हुन्छ कि भन्ने आशा राखेकी थिइन् तर भएन। त्यहाँ उनलाई जबरजस्ती यौन व्यवसायमा नै लगाइयो। 

कोठीबाट निस्कने प्रयास गरिरहेकी किशोरीले ग्राहकमार्फत ‘रेस्क्यु फाउन्डेसनलाई’ पत्र लेखिन्। भारतकै स्थानीय यो संस्थाले उनलाई उद्धार गरेपिछ २०७४ साल चैतमा ती किशोरी नेपाल आइन्। उनै किशोरीले २०७७ माघ महिनामा मानव बेचविखन तथा अनुसन्धान ब्युरोमा जाहेरी दिएपछि जाहेरीका आधारमा प्रहरीले ६२ वर्षीया रुकमाया तामाङलाई नुवाकोटबाट पक्राउ गर्यो। 

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएर गएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको सहयोगमा उनलाई पक्राउ गरेको थियो। उनी अहिले ब्युरोको हिरासतमा छिन्।

रुकमायाले प्रहरीसँगको बयानमा आफूले जिबी रोड ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गरेको स्वीकार गरेकी छिन्।

'म पनि बेचिएँ अनि कोठी सञ्चालन गरेर बसेँ'
हिरासतमा रहेकी रुकमायाले धेरै कुरा नखुलाएको प्रहरीले बताएको छ। ब्युरोका प्रवक्ता अनुराग द्विवेदीका अनुसार १७ वर्षकी हुँदा रुकमाया तामाङ बेचिएको र अहिले आफैंले कोठी सञ्चालन गरेको बयान दिएकी छिन्। 

‘रुकमाया १७ वर्ष हुँदा आफैं बेचिएको र त्यसपछि कोठी सञ्चालन गरेको देखिन्छ,’ द्विवेदीले भने, ‘अन्य कुरा उहाँले खुलाउन चाहनुभएको छैन। म्याद थप गरेर अनुसन्धान गर्छौं।’

कसरी पक्राउ गर्यो प्रहरीले?
दिल्लीमा कोठी सञ्चालन गरेर बस्ने रुकमाया बेलाबेला नेपाल आउने गर्थिन्। प्रहरीमा उजुरी नपरेका कारण यसभन्दा अघि उनी केही महिना यता बस्ने केही महिना दिल्ली बस्ने गरेकी थिइन्। जब माघ महिनामा जाहेरी पर्यो, त्यसपछि भने रुकमाया प्रहरीको निगरानीमा परिन्। 

नेपाल प्रहरीले उनलाई नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका वडा नम्बर २ बाट पक्राउ गर्यो। प्रहरी हिरासतमा रहेकी रुकमायासँग प्रहरीले बयान लिइसकेको छ। बयानमा उनले आफू पहिले दिल्लीमा झुक्याएर पुर्याइएको र वेश्यावृत्तिमा जबरजस्ती लगाइएपछि अहिले आफूले पनि त्यही व्यवसाय सञ्चालन गरेको बाहेक अन्य कुरा भनेकी छैनन्। प्रहरीले रुकमायाको सहयोगीलाई पनि खोजी गरिरहेको जानकारी दिएको छ।

३ चैत, २०७७, १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।