बौद्धमा फेला परेको धुलोमा युरेनियम रहेको पुष्टि

बौद्धमा फेला परेको धुलोमा युरेनियम रहेको पुष्टि

काठमाडौँ : प्रहरीले बौद्धमा फेला पारेको साढे २ किलोको धुलोमा युरेनियम भएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले पुष्टि गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतले उकेरालाई दिएको जानकारी अनुसार प्रतिष्ठानको ल्याबमा भएको परीक्षणको रिर्पोटमा ‘धुलोमा युरेनियम रहेको तर कति मात्रामा रहेको हो भन्ने पहिल्याउन थप परीक्षण गर्नुपर्ने उल्लेख छ।

‘हामीले प्रतिवेदन पायौँ। प्रतिवेदनमा धुलोमा युरेनियम मिसिएको देखिए पनि कति मात्रामा मिसिएको हो सो भने खुलेको छैन,’ बस्नेतले भने‘ त्यसैले यस विषयमा थप पुष्टि गर्न खानी र भूगर्भ विभागमा परीक्षणका लागि नमुना पठाएका छौँ।’

महानगरीय प्रहरी कार्यालयले फागुन २८ गते युरेनियमको बिक्री गर्न हिँडेको भन्दै चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। प्रहरीको दाबी अनुसार सो युरेनियम २० वर्ष अगाडि भारतबाट भित्रिएको थियो। 

प्रहरीले युरेनियम विक्री गर्न खोजेको आरोपमा रामेछाप लिखु तामाकोसी–५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, काठमाडौँ बौद्ध बस्ने रामेछाप लिखु तामाकोसी–५ घर भएकी ४० वर्षीय जानुका तामाङ, रामेछाप मन्थली नगरपालिका–४ बस्ने २० वर्षीय प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोसी–४ बस्ने २० वर्षीय मनोज न्यौपानेलाई सार्वजनिक गरेको थियो।

 पक्राउ परेकाहरू महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। उनीहरूमाथि विस्फोटक पदार्थको कारोबारको आरोपमा म्याद थप गरेर अनुसन्धान भइरहेको एसपी बस्नेतले जानकारी दिए।

३ चैत, २०७७, १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।