'बालुवाटारमा चैनका साथ बस्नुस्, बारुदको गन्ध नफैलाउनुस्’

'बालुवाटारमा चैनका साथ बस्नुस्, बारुदको गन्ध नफैलाउनुस्’

काठमाडौँ : सर्वोच्चको फागुन ११ र फागुन २३  गतेको फैसलाले राष्ट्रिय राजनीतिले नयाँ मोड लिएको छ। पहिलो फैसलाले संविधानलाई दुर्घटना हुनबाट जोगाएको छ। दोस्रो फैसलाले २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रको बिचको पार्टी एकीकरणलाई अमान्य घोषित गरेर पूर्ववत् अवस्थामा फर्काएको। 

तीन वर्षपछि अहिले हामी नेकपा एमालेको रूपमा हामी भेला भएका छौँ। पहिलो टेस्ट, नयाँ स्वादको रूपमा तपाईँहरूले अनुभव गर्नुभएको छ।

अहिले राजनीति निक्कै सङ्गिन मोडमा अगाडि बढेको छ। संयम ,विवेकसम्मत ढङ्गले निर्णय गरेर अगाडि बढ्नुपर्ने अवस्था आएको छ। आवेग र उत्तेजनाले दुर्घटनातिर मात्र लैजान्छ। निकै जटिल मोड भएकाले म प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूलाई आवेश र उत्तेजनामा नआउन अनुरोध गर्न चाहन्छु।

मलाई थाहा छ तपाईँहरू बालुवाटारमा गएर आउनुभयो। हामीले पनि सञ्चारमाध्यमबाट प्रधानमन्त्रीको अभिव्यक्ति थाहा पायौँ। 

यो बुद्धको देश हो। यहाँ शान्तिको भाषा आउँछ, शक्तिको भाषा आउँदैन। प्रधानमन्त्री ओली बुद्धको अनुयायी पनि हुनुहुन्छ। तर आज बालुवाटारको भाषा शक्तिको भाषा हो।

त्यो भाषा नबोल्नुस् सान्तीको भाषा बोल्नुस्। उहाँले चैत ४ र पाँच गते आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेलातिर नजर लगाउन आफ्ना अनुयायीलाई भनेको सुनेको छु। को–को नजर लगाउन आउने हो परिचय सहित आए हुन्छ। स्वागत छ। 

राष्ट्रिय भेला तपाईकनै हो। प्रमुख अतिथि भएर भेलाको उद्घाटन गर्नुभए हुन्छ। आफैले हेरे हुन्छ। देशभरिबाट आएका तपाइकै कार्यकर्ता हुन्। तपाइकै सदस्य हुन्। 

कारबाहीको शब्द पनि सुनेका छौँ। कारबाहीले राजनीति अगाडि बढ्दैन। कारबाही अहङ्कारपूर्ण अभिव्यक्ति हौँ। कारबाही नै गर्ने हो भने हामी एकपछि अर्को कारबाहीका लागि लामबद्ध छौँ। त्यसमा हामीलाई कुनै पछुतो हुने छैन। तर तपाईँलाई निवेदन गर्छु।

जब इतिहासको कठघरामा उभिनुहुनेछ धेरै प्रश्नको उत्तर दिनुपर्ने छ। जव उत्तर दिन सक्नुहुन्न। त्यो बेला इतिहासले कठोर कारबाही गर्नेछ। त्यो बेलामा तपाईँका लागि दुई थोपा आँसु चुहाउने कोही हुने छैन। त्यसैले धम्कीको भाषा प्रयोग नगर्नुहोला।

अब २ वर्ष तपाईँको कार्यकाल बाँकी छ। बालुवाटारमा चैनका साथ बस्नुस्। तर बारुदको गन्ध नफैलाउनुस्।

तपाईँको हातबाट यो पार्टी क्षतविक्षत हुने छैन भन्ने हामी आस गर्छौँ ।

(नेकपा एमाले माधव नेपाल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले गरेको सम्बोधनको सम्पादित अंश)

३ चैत, २०७७, १५:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।