बलिउडमा जमेकी नेपाली मोडल

बलिउडमा जमेकी नेपाली मोडल

काठमाडौँ  : मुम्बइमा व्यस्त नेपाली मोडल हुन्, मुना गौचन। दुई वर्षदेखि उतैको एजेन्सीमार्फत विभिन्न ब्रान्डका विज्ञापन, फोटोसुट एवं म्युजिक भिडियोमा सक्रिय मुना कोभिड–१९ का कारण काम ठप्प भएपछि भने लामै समय नेपाल बसिन्।

नेपाल बसाइमा पनि उनलाई फुर्सद भने भएन। नाच्न रुचाउने मुनाले नेपाल बसाइमा विभिन्न नृत्य गरेर आफ्नो ब्लग, फेसबुक तथा इन्स्टाग्राममा राखिरहिन्। अहिले अवस्था सामान्य बन्दै गएपछि पुनः बलिउड पुगेर मोडलिङ करिअरलाई अगाडि बढाइरहेकी छिन्।

सानो छँदा मुनालाई डाक्टर बन्ने चाहना थियो। सेतो कोट लगाएर बिरामीको सेवा गरेको कल्पना गर्थिन्। आफ्नी छोरीलाई बाठीटाठी बनाउन परिवारका सदस्यले विभिन्न कार्यक्रममा भाग लिन लगाउँथे। उनी मख्ख पर्दै कार्यक्रमहरूमा सहभागी हुन्थिन्।

त्यही क्रममा मुनाले कक्षा ६ मा पढ्दा लिटिल मिस काठमाडौँ र एसएलसीपछि एसएलसी प्रिन्सेसमा भाग लिइन्। त्यसपछि भने उनलाई मोडलिङमा रुचि बढ्न थाल्यो। र्याम्प, फोटोसुट गरेपछि त्यसको मोहले छोड्दै छोडेन। उनी ‘हाउस अफ फेसन’मा आबद्ध भइन्। त्यसपछि मुनाको मोडलिङमा करिअर सुरु भयो।

बिस्तारै र्याम्प, फोटोसुट र विज्ञापनमा काम पाउन थालिन्। उनको पहिलो प्रोजेक्ट नै एमएनसको कभर गर्ल थियो। त्यसपछिका दिनमा उनले फर्केर पनि हेर्नु परेको छैन। उनी नेपाली र्याम्प मोडलिङमा राम्रो मोडलका रूपमा स्थापित हुन थालिन्।

‘फेस अफ क्लासिक डायमन्ड २०१७’ भएपछि उनलाई भारतमा गएर फोटोसुट गर्ने मौका जुर्यो।  भारतमा फोटोसुट गरेर फर्केपछि उनको मनमा भारतमा काम गर्ने रहर जाग्न थाल्यो। जसरी भए पनि भारत गएर मोडलिङ गर्ने उनको लक्ष्य बन्यो। मुना ‘मिस इको इन्टरनेसनल २०१९’ भएर इजिप्टमा भाग लिन पनि गइन्। त्यहाँ उपाधि नजिते पनि अन्तर्राष्ट्रिय मोडलिङको भेउ भने पाइन्।

त्यसअघि नै उनले नेपाली चलचित्र ‘जालो’मा अभिनय गरेकी थिइन्। तर चलचित्रले त्यति चर्चा कमाएन र खासै त्यसमा उनको रुचि पनि भएन। उनको लक्ष्य अन्तर्राष्ट्रिय क्षेत्रमा पनि जम्ने थियो। जसका कारण मुनाको यात्रा मुम्बईतिर मोडियो। मुम्बईमा यहाँको जस्तो निर्माता, निर्देशकसँग सिधै सम्पर्क सम्भव हुँदैन। जे गर्छन् एजेन्सीमार्फत गर्छन्। त्यसैले सुरुमा उनले इनेगा एजेन्सीमा आबद्ध भएर काम गरिन्। अहिले उनी टोबाह ट्यालेन्ट एजेन्सीमा छिन्। जुन भारतको दोस्रो ठुलो एजेन्सी हो। 

‘करिअरको सुरुवाती दिनहरूमा मलाई आफ्नो फरक लुक्ससँग डर लाग्थ्यो। मोडलिङमा आर्यन लुक्सलाई राम्रो मानिने कारण मोडलिङ क्षेत्रमा जम्न नसकिने उनलाई डर थियो,’ उनले भनिन्, ‘मेरो जस्तो मंगोलियन फेसले के काम पाउँछु र?, केही समय रहर गरेर छोड्नु पर्छ’ भन्ने लाग्थ्यो। तर त्यही फरक लुक्स नै मेरा लागि बरदान साबित भयो।’

एजेन्सीमा रहेका सबै मोडलभन्दा मुनाको लुक्स फरक हुँदा छोटो समयमै धेरै प्रोडक्टमा काम पाइन्। उनले मुम्बईमा पहिलो विज्ञापन क्लोज अपको गरेकी थिइन्। मुनाले ल्याक्मी ब्रान्डको मात्रै एक दर्जनभन्दा बढी फोटोसुट गरिसकेकी छिन्। उनका थुप्रै कमर्सियल विज्ञापन टिभीमा देख्न सकिन्छ। साथै उनले हिन्दी म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन्।

नेपाली मोडलका रूपमा संसारमै छुट्टै पहिचान बनाउने सपना बुन्दै छिन् मुना। ग्लामर क्षेत्रको लत नशाको भन्दा कम नहुने उनको अनुभव छ। उनले हाँस्दै भनिन्, ‘जति गहिरियो उति गहिराइमा डुब्न मन लाग्ने। जीवनमा उतारचढाव त आइरहन्छ तर त्यसबाट भाग्नु हुन्न।’

केही गरेर छाड्छु भन्ने सोच राखियो भने मुम्बई त के संसारका हरेक कुनामा जम्न सकिन्छ भन्ने उनको मान्यता छ। ‘क्षमता हुनुपर्छ, निरन्तर प्रयास गर्नुपर्छ, धैर्य हुनुपर्छ, असम्भव भन्ने केही हुन्न,’ उनी भन्छिन्।

३ चैत, २०७७, ०७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।