श्रीमतीले छोडिन्, साथी हराए अनि प्रेमकृष्ण बने ‘तेल माइला’

श्रीमतीले छोडिन्, साथी हराए अनि प्रेमकृष्ण बने ‘तेल माइला’
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौं: भक्तपुरका प्रेमकृष्ण राजबाहक १३ वर्षको कलिलो उमेरमै रोजगारीका लागि कास्की, चिप्लेढुंगा पुगे। चिउरा भुटेर ४ छोरा, १ छोरी सहित ७ जनाको परिवार पाल्नुपर्ने बाबु-आमाको दुःख बुझेर उनले घर छोड्ने निधो गरेका थिए।

नाताले ठूलोबुबा पर्ने गाउँका एक व्यक्तिले उनलाई महिनाको १६० रुपैयाँको जागिर मिलाई दिए, होटलमा भाँडा माँझ्ने।

कामकै सिलसिलामा भेट भयो, आफ्नै उमेरका दौंतरी रमेश।

प्रेमकृष्ण र रमेशले पोखरा, चिप्लेढुंगामा धेरै वर्ष सँगै बिताए। ३० विगत वर्षयता भने प्रेमकृष्ण–रमेशको देखभेट भएको छैन।

अरु धेरै रात जस्तै अन्तिम रात पोखरामा सँगै सुतेर भोलिपल्ट उनीहरु म्याग्दीको बेनी पुगे। बेनीबाटै प्रेमकृष्ण र रमेश अलग भए। प्रेमकृष्णले रमेशलाई रोक्न सक्थे तर चाहेनन्।

‘धेरै वर्ष हात कुहाएर होटलमा सँगै भाडा माझ्यौं। मैदा मुछ्यौं। जुठो उठायौं। भारी बोक्यौं। उन्मुक्त हाँसो हाँस्यौं। एउटै ओछ्यानमा सुत्यौं। परिवारलाई नै भुल्यौं। सँगै हुँदा ऊ एक पटक पनि घर गएन। म पनि एक पटक मात्र आएँ भक्तपुर। मलाई रमेशले माइला भनेर बोलाउँथ्यो,’ प्रेमकृष्णले अतित सम्झिए।

अहिले प्रेमकृष्ण ५३ वर्ष पुगे तर उनका आँखाले रमेशलाई टाढैबाट चिन्न सक्छन्। भन्छन्, ‘म घरको माइलो छोरो। त्यही भएर उसले मलाई माइला भन्थ्यो। एकै ठाउँमा काम गर्ने भनेर बेनी गयौं। तर साहु फरक भो, ठाँउ फरक भो। काम गर्न ऊ अन्तै जानुपर्ने भएपछि साथी छुट्यो।’

पोखरामा छँदा बाबुचा (प्रेमकृष्ण) र रमेश बुढा–बुढी जस्ता मिल्ने साथी भन्थे मान्छेले। समयको कुरो न हो, उसको पनि आफ्नो जिन्दगी हो। साथी सधैं सँगै कहाँ हुन्छ र? त्यसपछि उनीहरुको कहिल्यै भेट भएन।

प्रेमकृष्ण बेनीमा ३ बर्ष बसे। त्यसपछि भक्तपुर फर्किए। दाइहरुसँग घर बनाउने काम गर्न थाले।

घर बनाउने काम उनलाई त्यति जमेन। दाइको ससुरालीको व्यापार थियो तोरीको तेल बेच्ने। उनलाई तेल बेच्ने काम ठिक होला भन्ने लाग्यो।

‘भाउजुको दाइसँग तेल लिएर साइकलमा घरघर बेच्दै हिँड्न थालें,’ उनी भन्छन् ‘रमेश छुट्टिनु एउटा मोड थियो। तेल बेच्नु जिन्दगीको अर्को मोड भो।’

तेल बेचेर निस्किएको फुर्सदको समय विगत सम्झिनमा खर्चिंदा रहेछन् प्रेमकृष्ण।

प्रेमकृष्णको जीवनमा विगतमा भएका यी तीन कुराको गहिरो प्रभाव छ रे, रमेश, पहिलो विवाह र पढाइ।

१. रमेश

रमेश साथमा हुँदा प्रेमकृष्णले घरमात्र होइन, तलब पनि बिर्संन्थे रे।

‘खान–बस्न साहुले दिन्थे। मैले तलब भनेर कहिल्यै थापिनँ। मेरो तलब मलाई पोखरा लगिदिने ठूला बाले नै घर पठाइदिनु हुन्थ्यो। रमेशकै पैसाले हामी रक्सी खान्थ्यौं। कहिलेकाहीँ घुम्न जान्थ्यौं।’

१२ वर्ष पोखराका विभिन्न होटलमा बिताउँदा प्रेमकृष्ण जताजता गए, रमेश छुटेनन्। उनीहरुले जीवनको एउटा अर्थ एकअर्कामा भेटे।

‘ऊ बाहुन क्षेत्री, म नेवार। फेरि म नेपाली बोल्न नजान्ने, ऊ नेवारी नबुझ्ने,’ प्रेमकृष्ण सुनाउँछन्, ‘तर, खै केले मिलायो मिलायो। भाषा नबुझे पनि कुरा बुझिन्थ्यो। सम्झिँदा अचम्म लाग्छ।’

रमेशले सधैं मलाई दाइ–भाइ जसरी सहयोग गर्थ्यो। त्यसैले सम्झना आइरहन्छ प्रेमकृष्णलाई रमेशको।

‘दमौली हो, उसको घर। एक पटक भेट्न मन छ। साथी भन्ने वित्तिकै उसैको सम्झना आउँछ। पछाडिबाट देखें भने पनि चिन्छु त्यसलाई,’ प्रेमकृष्ण उत्साही देखिए।

प्रेमकृष्णसँग रमेशलाई सुनाउन धेरै कथा छन्। प्रेमकृष्णलाई रमेशसँग पोखराको लेकसाइडमा मात्तिएर मनको बह पोख्ने मन छ। फेवासँगै फेरि बहकिन मन छ।

रमेश छुटेपछि धेरै परिर्वतन आइसक्यो प्रेमकृष्णको जीवनमा। ती कथाहरु त्यसैगरी सुनाउन मन छ। अलिकति जीवनको मोल र साथीको महत्व भन्न मन छ। तर उनी कता पो छन्?

‘कहाँ छस् साथी? कस्तो भइस् देख्न मन छ। तेरो जीवनको कथा सुन्न मन छ। साहुले चुट्दा पनि एक अर्कालाई हेरेर हाँसेजस्तै फेरि हाँस्न मन छ,’ उनी भावुक हुन्छन्।

एक पटक मूल्यभन्दा कममा सामान बेचेका कारण होटल मालिकले चुटेको स्मरण गरे प्रेमकृष्णले।

‘जुन चुटाइका कारण हामीले पोखरा छाड्यौं, बेनीमा पोखरामा जस्तै सँगै काम गर्ने भन्यौं। तर भन्या जस्तो भएन।’ साहुको चुटाइकै कारण रमेश आफूसँग छुटेको जस्तो लाग्छ प्रेमकृष्णलाई।

‘ऊ भनिरहन्थ्यो, यसरी साहु पोसेर हुँदैन माइला। हामीले पनि कमाउनुपर्छ,’ प्रेमकृष्ण भन्छन्, ‘तैँले भनेजस्तो आफैं केही गर्न खोज्दा मैले तलाईं गुमाएँ साथी।’

उनी अझै आशावादी छन्, ‘पृथ्वी गोलो छ। हेरौं, कति चाँडो घुम्छ। बाँचिरहिएछ भने एकदिन त हाम्रो भेट कसो नहोला!,’

प्रेमकृष्ण यति भनिरहँदा बाहुलाले आँखा पुछ्दै थिए। तर उनका आँखामा आँशु थिएन। विनाआँशु पनि रुन सकिँदो रहेछ। उनको बोलीले त्यसै भन्दै थिए। सायद उनी आँशुमा साथीलाई बगाएर आफ्नो मानसपटलबाट हटाउन चाहँदैनन्।

त्यति नजिकको मित्रका बारेमा प्रेमकृष्णलाई धेरै जानकारी छ। तर रमेशको थर के हो आजसम्म थाहा छैन। साथी त साथी हो। मन मिलेपछि जात, रङको के अर्थ? उनलाई यस्तै लाग्छ।

२. पहिलो विवाह

सानैमा घर छाडेका प्रेमकृष्णले पोखरामा नै पहिलो विवाह गरे।  त्यति बेला उनी २० वर्षका थिए।

दुई वर्ष चल्यो प्रेमकृष्णको वैवाहिक जीवन। रमेश प्रेमकृष्णको विवाहका एक्ला जन्ती।

‘भन्न त रमेशले पनि भन्थ्यो, केटी ठिक छैन, विवाह नगर भनेर,’ प्रेमकृष्ण पहिलो विवाहको प्रसंग सम्झिन्छन्, ‘केटीकी दिदीले फकाएको फकाइ गर्थी बहिनीसँग विवाह गर्न। राम्री पनि थिई। मलाई पनि मन पर्यो, सुटुक्क विवाह गरें।’

उनी भन्छन्, ‘सोझो मान्छेलाई कसरी फसाउँछन् भन्ने म आफैंलाई हेर्छु बेलाबेला। विवाह गरेपछि मलाई ससुराली लगे। गाडीबाट झरेर एक घन्टा हिँड्नु प¥यो। काठमाडौंका ज्वाईं आए भनेर दिनदिनै कुखुरा ख्याउँथे ससुरालीमा। म पनि मख्ख। भाँडा माँझेर बसेको मान्छे, मान पाइयो, राम्री स्वास्नी पाइयो, के चाहियो।’

सबै ठिकठाकै चल्दै थियो। विस्तारै प्रेमकृष्णले श्रीमतीका बारेमा अनेक कुरा सुन्न थाले।

‘मान्छेले अनेक कुरा सुनाउँथे। सुरुमा त वास्ता गरिनँ,’ उनी थप्छन् ‘उसको व्यवहार बदलिँदै गयो। विस्तारै बुढीले गति छाड्दै गई, मलाई मुख देखाउन लाज हुन थाल्यो।’

त्यसपछि प्रेमकृष्णले श्रीमती छाड्ने निणर्य गरे।

‘मसँग आउनुभन्दा पहिला कस्ती थिई, मलाई थाहा थिएन, वास्ता पनि गरिएन। मसँग आएपछि अर्कासँग सल्किन थाली, दिनभरि अरुसँगै हिँड्ने। दिदी पनि त्यस्तै रहिछे। आफू परियो सोझो, इज्जतमा बसेको। मलाई गाह्रो भयो।’

प्रेमकृष्णले दुई वर्ष पुग्नै लाग्दा वैवाहिक सम्बन्धलाई टुङ्ग्याए।

विवाहले उत्साहभन्दा निराशा दिएपछि प्रेमकृष्णले रमेशसँग भने, ‘अब म विवाह गर्दिनँ।’

पोखरा छाडेपछि बेनीमा भरियाको काम गरेर तीन वर्ष बसे प्रेमकृष्ण।  माओवादीको आतंकले बेनीमा टिक्न दिएन छ। रमेश पनि छुटे। त्यसपछि उनी फर्किए भक्तपुर।

घर फर्किएपछि पनि प्रेमकृष्णले लामो समय विवाह गरेनन्। उनलाई केटी मान्छेप्रतिको भरोसा नै उडेको थियो रे।

‘विवाह गर भनेर सबै आफन्त कराउँथे। मलाई भने मन नै थिएन। मन नभएपछि विवाह गरेर झन् समस्या हुन्छ नि,’ उनी भन्छन्।

समय क्रमसँगै उनी साइकलमा तेल बेच्न थाले। सुरुमा १४ माना तेल बेच्न रुनु पथ्र्यो। उनी अनुभव सुनाउँछन्, ‘अहिले दिनकै ६० माना तेल बेच्छु। मानामा १० रुपैयाँ फाइदा हुन्छ। घर मजाले चलेको छ। परिवार पाल्न कसैसँग हात थाप्नु परेको छैन।’

बाबुआमा बितिसिकेकाले प्रेमकृष्ण एक्लै थिए। उमेर ३९ वर्ष पुगिसकेको थियो। कहिलेकाहीँ त साह्रै दिक्क लाग्थ्यो,’ उनी दोस्रो विवाहको प्रसंग कोट्याउँछन्।

‘भाउजुको घरसँगै जोडिएको अर्कोे घरमा विवाह नगरी बसेकी केटी रहिछन्। भाउजुको आमाले विवाहको कुरा उठाउनुभयो।  उनी भन्छन्, ‘छरछिमेक, गाउँले सबैले बुढेसकालमा दुख पाउँछस् माइला। तातोपानी ताएर दिने मान्छे हुँदैन भन्थे। यसो सोचें, कुरा त ठिकै हो। बुढेसकाल लाग्न थालिसक्यो। अनि विवाह गर्ने निधो गरें।’

'रमेशले सधैं भन्ने गर्थे, विवाह गलत होइन माइला, गल्ती गर्ने मान्छेले हो। रमेशको कुरा सम्झँदै केटी हेर्न गएँ, कुरा मिल्यो र मेरो दोस्रो विवाह भयो,’ उनले भने।

३. पढाइ

प्रेमकृष्ण उत्तरी भक्तपुर तेल बेच्न गइरहन्छन्। त्यही बाटोमा थियो उनले कखरा सिकेको नगदीश प्रावि। त्यो स्कुलको बाटो हिँड्दा उनलाई पछुतो लाग्छ र, कल्पिँदै हिँड्छन्, यदि मैले पढाइ नछाडेको भए?

‘स्कुल त छैन अहिले तर, बाटो स्कुल भएकै तिरबाट छ,’ उनी भन्छन्, ‘अरु विषयमा राम्रै थियो पढाइ। अंग्रजी भने राम्रो थिएन। अंग्रजी नआएकै कारण मास्टरले चुट्नु चुट्थे। माटरको डरले स्कुल छाडे।’

मास्टरको पिटाइका कारण उनी स्कुल छाडेर भाग्थे। साथीहरुसँग साइकल चलाउन जान्थे। घरमा बाआमाले खाइनखाई पढ्न पठाएकै थिए। तर मास्टरले पिटेकै कारण उनको जिन्दगीले नयाँ मोड लियो र, पुगे पोखराको चिप्लेढुंगा भाँडा मस्काउन।

‘मास्टरले नपिटी पढाएको भए, म पढाइ छोड्ने थिइनँ। अहिले म कुनै सरकारी जागिरे हुन सक्थे। राम्रो जीवन बिताउन सक्थे। गरिब मान्छे, खेतीपाती जोड्न सक्थें,’ उनी भन्छन्। उनले ३ कक्षा मात्र पढेका छन्।

अहिले प्रेमकृष्णको परिचय फेरिएको छ। माइलाबाट ‘तेल माइला’ बनेका छन्। ‘त्यतिबेला अंग्रेजी मास्टरको डरले भागेर साइकल सिकेको थिएँ। त्यही सइकलले आज तेल माइलो भएको छु,’ उनी भन्छन्‘ सानैबाट चलाइयो। साइकलसँग प्रेम छ। अब साइकल नै मेरो जिन्दगी। यही साइकल तेल बोक्छ। अनि चलाउँछ मेरो घर।’

प्रेमकृष्ण गीति लयमा भन्छन्, ‘साइकलमै बिताइदिन्छु एक बारको जिन्दगी।’

२ चैत, २०७७, १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।