प्रधानमन्त्री ओली सन्चै त छन् नि ?

प्रधानमन्त्री ओली सन्चै त छन् नि ?

काठमाडौँ : सर्वोच्च अदालतको परमादेशपछि पूर्ववत् अवस्थामा फर्किएको नेकपा एमालेको धुम्बाराहीमा रहेको कार्यालयमा पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको शारीरिक अवस्था त्यत्ति सहज देखिएन।

एमाले ब्युँतिएसँगै उनले सरकारी निवास बालुवाटारमा आफू निकटहरूलाई बैठक राखेर महत्त्वपूर्ण निर्णयहरू गरे पनि एमालेकै माधव नेपाल समूह उनीसँग बिच्किएका छन्।

अध्यक्ष र महासचिव बाहेक पार्टी पदाधिकारी नरहने निर्णयसँगै उनले प्रदेश इन्चार्ज फेरबदल र केन्द्रीय सदस्य थप गरेपछि रिसाएका नेपाल समूहले नेपालभर समानान्तर गतिविधि गर्ने र परिआए पार्टी विभाजनसम्मका लागि तयारी गरेपछि नेपाल समूहसँग वार्ताका लागि प्रधानमन्त्री ओली धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा पुगेका थिए।

प्रधानमन्त्री नै आउने भएपछि एमाले पार्टी कार्यालयमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएको थियो। सम्भावित प्रदर्शनको खतरा देखेर होला भिड नियन्त्रण गर्ने गियरहरू लगाएका प्रहरी समेत थिए धुम्बाराहीमा।

माधव नेपाल समूहका नेपालसँगै घनश्याम भुसाल, रघुजी पन्त, भीम रावल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे सहभागी भए।

ओली समूहबाट प्रधानमन्त्री ओलीसहित, महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली सहभागी थिए।

छलफलका लागि बोलाइएका दुवै समूहका सबै नेताहरू आइसक्दा पनि प्रधानमन्त्री ओली भने धुम्बाराही आइसकेका थिएनन्। साढे ११ बजेतिर ओली धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा पुगे। कार्यालयको गेट नजिकै गाडी रोकिए लगत्तै अगाडिको सिटमा रहेका नेपाली सेनाका सहयोगी हत्तपत्त बाहिर निस्किएर प्रधानमन्त्री ओली बसेको पछाडिको सिटको ढोका खोलिदिए। 

यो सामान्य शिष्टाचार नै हो। सुरक्षा सहयोगीले गाडीको गेट खोलेपछि मात्रै भिआइपी बाहिर निस्कन्छन्।

त्यसपछि देखिएको दृश्यमा प्रधानमन्त्रीको शारीरिक अवस्था त्यत्ति सहज देखिएन।

सैनिक अधिकारीले उनलाई हातको सहारा दिएर बढो कठिनसाथ गाडिबाट ओर्लन सघाएका थिए।

प्रधानमन्त्री ओलीको एउटा हात च्याप्पै समातेर ओर्लन सघाएका थिए उनले।

प्रधानमन्त्री गाडिबाट तल झरेर हिँड्दा समेत सहयोगीले उनलाई हिँड्न बल दिइरहेका थिए।

जब सञ्चारकर्मीहरू बाक्लो उपस्थिति भएको ठाउँमा प्रधानमन्त्री आइपुगे ती सुरक्षाकर्मीले हात छाडे। प्रधानमन्त्रीले नमस्कार फर्काउँदै हात हल्लाएर बैठक स्थलमा प्रवेश गरे।

मिर्गौलाका कारण लामो समय अस्वस्थ भएका प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि भने निकै स्वस्थ देखिएका छन्। यस अगाडी उनी सहभागी कार्यक्रममा उनी सहजै गाडी चढ्ने र ओर्लन गर्दै आएका थिए। तर सोमबारको दृश्य अलि भिन्नै थियो।

के प्रधानमन्त्रीलाई सन्चो छैन र ?

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने‘ गाडी ओर्लिदा र चढ्दा ध्यान दिनु परिहाल्छ। त्यस्तो केही समस्या छैन।’

२ चैत, २०७७, १३:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।